कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजकुमार चेपाङ मृत्यु प्रकरण : पक्राउ परेका सैनिक थुनामा

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रभित्र प्रवेश गरेका राजकुमार चेपाङलाई नियन्त्रणमा लिएर कुटपिट गर्दा मृत्यु भएको आरोपमा पक्राउ परेका नेपाली सेनाका हुद्दालाई चितवन जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।

राजकुमार चेपाङ मृत्यु प्रकरण : पक्राउ परेका सैनिक थुनामा

कुटपिटबाट राप्ती नगरपालिका–२ पिप्ले मिलन चोकका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएपछि हुद्दा चिरणकुमार बुढा पक्राउ परेका थिए । चितवन जिल्ला अदालतका सूचना अधिकारी शिव अधिकारीका अनुसार उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे अनुसार हुने गरी जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको आदेशले प्रतिवादीलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्न भरतपुर कारागार चलान गरिएको छ,’ अधिकारीले भने । उनलाई जन्मकैद दाबी गर्दै मुद्दा दायर भएको थियो ।

बर्दिया गेरुवा–५ घरभएका बुढा असोज ४ गते पक्राउ परेका थिए । अनसन्धान पूरा भएपछि चितवन प्रहरीले जिल्ला न्यायाधीवक्ताको कार्यालय (सरकारी वकिल)लाई प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार बुढाविरुद्ध चितवन जिल्ला अदालतमा मुदा दायर गरेको थियो । उक्त मुद्दामा मंगलबार थुनछेक बहस भएपछि न्यायाधीश रेग्मीले प्रतिवादीलाई थुनामा राख्न आदेश गरेका हुन् ।

मुलुकी अपराध संहिताको परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरको दफा १७८ को उपदफा एक बमोजिम अपराध भएको हुँदा उपदफा दुई बमोजिमको सजाय माग गरेर मुद्दा दायर भएको थियो ।

राजकुमारसहित मिलनटोलका सात जना जंगलमा न्युरो, अमिलो र खोलाका घोगी टिप्न भन्दै साउन १ गते दिउँसो घरदेखि हिँडेका थिए । राप्ती खोला तरेर चितवन राष्ट्रिय निकुञ्जको सिमानाभित्र रहेको ज्युँडी खोलामा घोगी टिप्दै गर्दा निकुञ्जको सुरक्षाका लागि तैनाथ एक सैनिकले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।

कुटपिटपछि बिरामी भएका राजकुमारको साता दिनपछि उपचारका लागि भरतपुर अस्पताल लैजादा मृत्यु भएको थियो । राजकुमारका बाबु विष्णुलाल चेपाङले कुटपिटमा संलग्नलाई कारवाही माग गर्दै चितवन जिल्ला प्रहरीमा साउन ९ गते उजुरी दिएका थिए । विष्णुलालले भदौ २५ गते छोरालाई कुटपिट गर्ने व्यक्तिको नाम किटान गरेर चितवन जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

विष्णुलालले दिएको किटानी जाहेरीमा बटुक दल गणको अप्रेसनल अन्डर कमाण्ड सिद्धिबक्स गणको प्यारीधाप गुल्मको लिगलिग पोष्टमा कार्यरत हुद्दा वर्ष ४० का बुढाले छोरालाई कुटपिट गरेको उल्लेख छ । किटानी जोहेरी परेको १० दिनपछि प्रहरीले आरोपितलाई समातेको थियो ।

सम्बन्धित समाचारः

राजकुमार चेपाङ मृत्यु प्रकरण : आरोपित सैनिक पक्राउ

प्रकाशित : आश्विन २७, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?