कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मन्त्रालय भन्छ– ‘आईसीयू बेड छ’, अस्पताल भन्छ– ‘छैन’

बुनु थारु

काठमाडौँ — केही दिनयता देशका धेरैजसो स्थानमा कोरोना भइरसको संक्रमणका कारण गम्भर बिरामी परेकाहरुका लागि आईसीयू खोज्न आफन्तहरुलाई हम्मेहम्मे परिरहेको छ । आईसीयू बेडको अभावका कारण एकातर्फ कोरोना संक्रमितको ज्यान जाने अवस्था आएको छ भने अर्कोतर्फ अस्पतालको नियमित आईसीयू सेवालाई पनि यसले असर पुर्‍याउन थालेको छ । 

मन्त्रालय भन्छ– ‘आईसीयू बेड छ’, अस्पताल भन्छ– ‘छैन’

पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दोक्रममा छ । आइतबार मात्रै २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । जटिल लक्षण देखिन सुरु भएसँगै मर्नेको संख्यामा पनि वृद्धि आएको छ । सकृय संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरको अभाव हुँदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको तथ्यांक अनुसार देशभर २ सय ७९ जना कोभिड संक्रमित आईसीयू र ६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरको तथ्यांकअनुसार उपत्यकाका सरकारी अस्पतालमा ८८ जना संक्रमितको आईसीयू र २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यसैगरी निजीमा भने ६६ जनाको आईसीयूमा र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यो गरी १ सय ५४ जना आईसीयूमा र ५० जना भेन्टिलेटरमा उपचाररत छन् । अरु भने बेड खाली रहेका छन् । उपत्यकाकामा सरकारी र निजी गरी १ सय ९५ आईसीयू र ८८ भेन्टिलेटरको व्यवस्था छ ।

तर, बेड दिनहुँ खाली नरहेको अस्पतालहरुले बताउने गरेको बिरामीहरुको गुनासो रहेको छ । तथ्यांक हेर्दा भने केही बेडहरु खाली नै देखिने गरेका छन् । सरकारीमात्र होइन निजी अस्पतालले पनि कोभिड बिरामी भरिएकाले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएका छन् ।

आइताबार साँझ धादिङ अस्पतालले थप उपचारका लागि काठमाडौं रिफर गरेपछि एम्बुलेन्समा वैकल्पिक अक्सिजनको साहयतामा एक ७० वर्षिय वृद्ध उपत्यका प्रवेश गरे पनि उनलाई अस्पतालको बेडसम्म पुर्‍याउन आफन्तहरुले धेरै दुःख गर्नुपर्‍यो । ती वृद्धलाई धादिङबाट हिँडाएदेखि नै अस्पतालमा बेड र आईसीयूको खोजी गरेका उनीहरुले अन्तिममा पाटन अस्पतालको इमरजेन्सीमा पुर्‍याएर उपचार सुरु गरे । अस्पतालले रातभर इमरजेन्सीमै राखेर उपचार गरे पनि बिहान आईसीयूको आवश्यकता पर्न सक्ने जानकारी दिएको थियो ।

‘बिहान इमरजेन्सीमा डाक्टरहरुले हेरेर आईसीयू चाहिनसक्छ भन्नुभयो र पाटनमा आईसीयू खाली नभएकोले अन्त बुझ्न पनि भन्नुभयो,’ परिवारका एक सदस्यले भने, ‘हामीले कताबाट के खोज्नु ? पछि कोभिड वार्डमा सारियो ।’ उनका अनुसार ती वृद्ध संक्रमितको अवस्था अहिले पनि गम्भीर नै छ । चिकित्सकहरुका अनुसार उनलाई जतिबेला पनि आईसीयूमा सारेर उपचार सुरु गर्नुपर्ने अवस्था आउन सक्छ ।

‘हामीलाई फेरि डाक्टरले आईसीयूमा सार्नुपर्ने भए भन्छौं । यहाँ त खाली छैन भनेर जानकारी दिनुभएको छ,’ उनले भने, ‘आईसीयूमा राख्नुपर्ने भए कहाँ खोज्ने भनेर तनाव भइरहेको छ ।’

‘मै बिरामी भएँ भने पनि आइसियू छैन’

सरकारी अस्पतालमा मात्र नभइ सक्रिय रुपमा कोरोना संक्रमितहरुको उपचार गरिरहेका केही निजी अस्पतालमा पनि बिरामीको चाप धान्नलाई अब हम्मेहम्मे पर्न थालेको छ । ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतीन्द्र शर्माले दिनहुँजसो आईसीयु र भेन्टिलेटर मिलाइदिन बिरामी तथा आफन्तको फोन आउने गरेको बताए । डा. शर्मा भन्छन्, ‘अहिले निकै प्रेसर छ । आश गरेर बेडका लागि फोन गर्छन् तर बेड सबै प्याक छन् कसरी मिलाउनु ? मै बिरामी भएर भर्ना हुनुपर्‍यो भने मेरो अस्पतालमा आईसीयू बेड खाली छैन ।’

आईसीयू र भेन्टिलेटरमात्र होइन अरु वार्डमा समेत बेड अभाव भइरहेको डा. शर्माले बताए । हाल ह्याम्समा १९ आईसीयू बेड र १५ वटा भेन्टिलेटर रहेका छन् जसमा सबैजसो कोभिडका बिरामी छन् ।

‘हामी जहिल्यै पनि सुरुमा आउनेलाई र जटिल लक्षण भएकालाई प्राथमिकतामा राखेर आईसियू र भेन्टिलेटरको व्यवस्था गर्छौं,’ डा. शार्मले भने, ‘खास गरी आईसीयूकाालागि सम्पर्क र समन्वय नै नगरी अस्पतालले बिरामी रिफर गरिदिने भएकाले बिरामीहरुले दुःख पाइरहेका छन् ।’

स्टार अस्पतालका कार्यकारी निर्देशक डा. शैल रुपाखेती बेड अभाव भएको देखेर आतंकित हुने अवस्था आएको बताउँछन् । ‘महामारी थेग्न गाह्रो भइरहेको छ,’ डा. रुपाखेती भन्छन् ‘हामीले कोभिडका लागि २० प्रतिशत बेड छुट्याएका छौं । सबैमा बिरामी प्याक छन् । जनशक्तिको पनि अभाव छ । जटिल खालका संक्रमित बढिरहेको हुनाले गाह्रो भइरहेको छ ।’

उनका अनुसार अस्पतालमा आइसोलेसन बेड र आईसीयूहरु थपिँदैछन् । उनले सबै ठूला ठूला अस्पतालले कोभिडका लागि सकेजति बेडहरु छुट्याउनुपर्ने र सरकारले कोभिड डेडिकेटेड अस्पताल बनाउने कुरामा ध्यान दिनुपर्ने बताए ।

‘यसरी गर्न सकिन्छ व्यवस्था’

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोेलाका अनुसार अहिले केही कुरामा ध्यान दिए आईसीयू र भेन्टिलेटर बेडको अभावको समस्या कम हुनसक्छ । उनको तर्कमा सबै अक्सिजन चाहिने संक्रमितलाई आईसीयू नै चाहिन्छ भन्ने हुन्न । कम अक्सिजन चाहिने मान्छेलाई अक्सिजन र मोनिटरसहितको बेड भएमात्र पनि धेरैले उपचार पाउनसक्छन् । किनकी दैनिक निगरानीमा ती बिरामीहरुको अक्सिजन हेर्न मिल्छ । ‘एकदम सिकिस्तहरुलाई मात्र आईसीयू रिफर गर्ने गर्‍यौं भने धेरै आईसीयूको अभाव हुँदैन,’ उनले भने, ‘त्यसैले अस्पतालमा भएका उपलब्ध स्रोतबाट यो समस्याको समाधान हुन सक्छ । हामीले यसरी नै अहिले उपचार गरिरहेका छौं ।’

वीर अस्पतालको १० बेड आईसियू र १० बेड भेन्टिलेटरमा सबै प्याक रहेको निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । उनका अनुसार भीआईपी र भीभीआईपी आईसीयूहरु भने केही बेड खाली रहेका छन् । ‘अहिले निकै माग छ आईसीयूको तर, भनेअनुसार उपलब्ध गराउन सकेका छैनौं,’ उनले भने ।

सशस्त्र प्रहरी अस्पताल बलम्बुले कोभिड संक्रमितको लागि २ सय आइसोलेसन बेड छुट्याएको छ । यस अस्पतालमा २० आईसीयू र ८ भेन्टिलेटर उपलब्ध रहेका छन् । अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले बिरामी बढिरहेको र सकभर व्यवस्थापन गर्ने कोशिस गरिरहेको बताए । उनले भने, ‘अस्पतालमा आईसीयू भएर मात्र हुँदैन त्यही अनुसार दक्ष जनशक्ति पनि चाहिन्छ । सायद धेरै अस्पतालमा खाली पनि होलान् तर, चलाउने मान्छे छैनन् होला ।’

आईसीयू बेड लुकाएको उजुरी परे हामी कारबाही गर्छौं : स्वास्थ्य मन्त्रालय

उपत्यकामा आईसीयू र भेन्टिलेटरको आवश्यकता परेको खण्डमा मन्त्रालयले केही नम्बरहरु उपलब्ध गराएको छ । कसैलाई आकस्मिक आईसीयू र भेन्टिलेटरको आवश्यकता परेमा मन्त्रायलयले उपलब्ध गराएका नम्बरमा फोन गर्न सक्नेछन् । यो सेवा २४ सैं घण्टा उपलब्ध हुन्छ । सेवा प्रदायकमध्येका एक जनस्वास्थ्य निर्देशक मोहन रौनियरले एक सिफ्टमा सेवाग्राहीका डेढ देखि दुईसयजति फोन आउने बताए ।

‘हामीलाई फोन आएपछि बिरामीको हिस्ट्री लिन्छौं । त्यसअनुसार अस्पताललाई फोन गरेर बेड मिलाइदिने काम गर्छौं । कहिलेकाहीँ भने प्याक हुन्छन् । तर, सधैँ होइन,’ उनले भने ।

आईसीयू र भेन्टिलेटरको अभाव देखिएसँगै स्वास्थ्य तथा जनसंख्या आकस्मिक बाहेकका हाललाई शल्यक्रिया नगर्न उपत्यकाका सबै अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको अवस्था नियन्त्रण हुँदै गएपछि शल्यक्रिया सेवा सुरु गर्न अनुरोध गरे । डा. गौतम भन्छन्, ‘अस्पतालले कोभिड तथा ननकोभिड भनेर छुट्याएका होलान् तर, हामीले गंगालाल, प्रसूति र कान्तिबाहेक अरु अस्पतालले ननकोभिडको आकस्मिकबाहेकका बिरामीको अपरेशन नगर्ने निर्देशन दिएका छौं । किनकी अपरेशन गरिएका बिरामीलाई पनि आईसीयू र भेन्टिलेटर आवश्यकता पर्न सक्छन् ।’ डा. गौतमले यसरी बेड, आईसीयू र भेन्टिलेटरको उपलब्धता बढ्न सक्ने दाबी गरे ।

धेरै बिरामी तथा सेवाग्राहीले अस्पतालहरुले आईसीयू र भेन्टिलेटर भीआईपीहरुका लागि बुक गरेर राखिएको भन्ने पनि गुनासो पनि गर्न थालेका छन् । तर, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटाले भने त्यस्ता गुनासो आफू कहाँ नआएको बताए । ‘कसैले यस्तो कठिन समयमा भेन्टिलेटर तथा आईसीयू लुकाएको उजुरी पाए अनुगमन गरेर कडा कारबाही हुन्छ,’ उनले भने ।

प्रकाशित : आश्विन २७, २०७७ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?