साझा प्रयासबाट मात्र विपद् जोखिम न्यूनीकरण गर्न सकिन्छ : प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट प्रकृतिक विपद् जोखिम न्यूनीकरण गर्नुपर्ने बताएका छन् । प्राकृतिक विपद जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट जोखिम न्यूनीकरण गर्न सकिने बताएका हुन् ।

साझा प्रयासबाट मात्र विपद् जोखिम न्यूनीकरण गर्न सकिन्छ : प्रधानमन्त्री ओली

जोखिम प्रकट हुनै नपाउने र भइहालेमा त्यसको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा सरकार तत्पर रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

उद्धार, राहत र पुननिर्माणका कामहरुलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सरकारले आफ्नो सहभागितालाई बढाउँदै लगेको प्रधानमन्त्री ओलीले जानकारी दिए । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा केन्द्रले तय गरेका राष्ट्रिय नीति, रणनीति र कार्ययोजनालाई प्रवाहित गर्ने र सबै तहमा जानकारी गराउने काम भइराखेको पनि उनले बताए ।

सन २०१५ देखि सुरु भएको दिगो विकास लक्ष्यले पनि विपद् जोखिमको सन्दर्भमा महत्वपूर्ण दृष्टिकोण अगाडि सारी काम गरिराखेको पनि प्रधानमन्त्री ओलीले बताए । नेपालमा विपद् जोखिम न्यूनीकरण र त्यसबाट उत्पन्न भएका असरहरुको समाधान गर्ने सन्दर्भमा राष्ट्रिय नीतिको तर्जुमाबाट तयार भएको रणनीतिक कार्ययोजनालाई दिगो विकास लक्ष्यसँगै जोडेर राष्ट्रिय रणनीति तय भइसकेको पनि उनले बताए । विपद न्यूनीकरणका लागि मानवीय भावना, परोपकारी भावना र सहकार्यको भावनाको आवश्यकतमा उनले जोड दिए ।

पछिल्लो समय कोरोना भाइरसले मानवीय र अर्थतन्त्रमाथि गम्भीर क्षति पुर्‍याएकोले पनि सबै मिलेर न्यूनीकरणमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । कोरोना संक्रमणको अहिलेको स्थितिले विश्व व्यवस्थाको सन्दर्भमा नयाँ नयाँ ढंगले सोच्नुपर्ने समेत उनको भनाइ थियो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विश्व कोरोना महामारीविरुद्ध जुधिरहेको अवस्थामा सम्पूर्ण व्यक्ति एक भई विपद्को समाना गर्न दिवसले सबैलाई प्रतिबद्ध बनाउने विश्वास व्यक्त गरे ।

प्राकृतिक विपद्‍‍विरुद्ध एक्लै लडन असम्भव हुने भएकाले सबै पक्ष एक भएर काम गर्नुपर्नेमा उनले जोड दिए । गृहमन्त्री थापाले नेपालमा यस वर्षको मनसुनमा ५ सय भन्दा बढीको संख्यामा मानवीय क्षति भएको र एक अर्बभन्दा बढीको आर्थिक क्षति भएको जानकारी दिए । प्राकृतिक विपद न्यूनीकरणका लागि सरकारले आवस्यक ऐन, नियमावली र कार्यविधिको पनि व्यवस्था गरेको उनले बताए ।

प्रकाशित : आश्विन २७, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?