३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नेपालमा किर्ते र ठगी, अमेरिकामा ज्यान मार्ने कसुर

अरुको जग्गा हत्याउन नागरिकता र वडा कार्यालयको सिफारिस पनि किर्ते
मातृका दाहाल

काठमाडौँ — ललितपुर महानगरपालिका (कुसुन्ती) स्थित १३ नम्बर वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला मालपोत कार्यालय पर्साबाट सबै प्रक्रिया पूरा गरी ‘मुकेश राजभण्डारी’ नाम गरेका व्यक्ति असार अन्तिम साता घरजग्गा धितो राखेर ऋण लिन एनआईसी एसिया बैंकको वीरगन्ज शाखा पुगे ।

नेपालमा किर्ते र ठगी, अमेरिकामा ज्यान मार्ने कसुर

उनी कमलादेवी राजभण्डारी हुँदै आफ्ना नाममा ल्याइएको वीरगन्ज ५ स्थित ५ कट्ठा १५ धुर जग्गा र घर धितो राखेर कर्जा लिने तयारीमा थिए ।

उनले कर्जाका लागि पेस गरेका कागजपत्र बैंकमा पनि तलबाट सबै प्रक्रिया पूरा गरेर आएको भेटिएपछि फाइल म्यानेजरको कक्षमा पुग्यो । त्यसअघि कर्जा स्वीकृति गर्न बैंकले जग्गाको नापनक्सा लिन फिल्डमै कर्मचारी खटाएको थियो । त्यसबारे कसैले पनि सुइँको पाएनन् । बैंकको कर्जा शाखाले मूल्यांकन कागज बनाएर म्यानेजरसमक्ष पठायो । म्यानेजरले कागज पल्टाउँदै गए । कर्जा लिन मुकेशले पेस गरेको कागजात उनले चिनेजानेकै मानिसको जग्गाको थियो ।

त्यसपछि कागजमा नाम भेटिएकामध्येका चिनजानका एक जनालाई फोन गरे र भने, ‘तपाईंहरूले त जग्गा बेच्नु भएछ, मुकेश राजभण्डारीका नाममा जग्गा नामसारी भइसकेछ । यही जग्गा धितो राखेर एक जना मानिस कर्जा लिन आउनुभएको छ ।’ म्यानेजरले फोन गरेपछि ती व्यक्ति झस्किए । उनलाई घरवरिपरि अपरिचित मानिस आउजाउ गरेको खबर भने पहिले पनि आएको रहेछ । अत्तालिँदै उनले म्यानेजरलाई सबै कुरा सुनाए । जग्गा बिक्री नगरेको उनले बताए । त्यसपछि म्यानेजरलाई पनि शंका लाग्यो । कर्जा स्वीकृतिका लागि अन्तिम चरणमा पुगेको फाइल स्थगित भयो । कर्जाको फाइल रोकिएको सुइँको पाएपछि मुकेश एकाएक हराए ।

त्यसपछि खुल्यो अपराधको धन्दा

कमलादेवी राजभण्डारी र गोपाल राजभण्डारी मर्कन्टायल कम्पनीका सञ्चालक राजीव, राकेश र रूपेश राजभण्डारीका आमा–बाबु हुन् । ललितपुरका स्थानीय कमलादेवी र गोपाल दुवैको निधन भइसकेको छ । तर वीरगन्ज ५ स्थित कित्ता नम्बर ३, ७१, १४३, १८६ को ५ कट्ठा १५ धुरमा बनेको घरजग्गा कमलादेवीकै नाममा थियो । छोराहरूका नाममा नामसारी हुन पाएको थिएन । निधन भइसकेकी आमा कमलादेवीका नाममा भएको करिब ५० करोड रुपैयाँ (हालको अनुमानित मूल्य) को जग्गा वडा कार्यालय, मालपोतको सेटिङ र जिल्ला प्रशासनका नक्कली कागजातका आधारमा ललितपुर कुसुन्तीका केबलप्रताप राणाले आफूलाई जग्गाधनी कमलाका छोरा मुकेश राजभण्डारीको नाम राखेर सक्कली धनीलाई पत्तै नदिई सेटिङमा हत्याएको खुल्यो ।

जग्गा आफ्नो नाममा आइसकेपछि उनले २०७६ फागुन ११ गते आफ्नो नाममा राजीनामा पास गराई सोही जग्गा वीरगन्जका गिरधारीलाल अग्रवाललाई बिक्री गर्न ५० लाख बैना पनि लिइसकेका थिए । बैना लिएपछि उनी कम्पनी रजिस्ट्रारको कार्यालयबाट गंगा ट्रेडर्स कम्पनी दर्ता गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट समेत घरजग्गा धितो राखेर कर्जा निकाल्ने योजनामा थिए ।

केबलप्रतापले आफूलाई मुकेशका रूपमा चिनाउने कागजात ललितपुर–१३, कुसुन्तीस्थित वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी भएको भनी नक्कली बनाएका रहेछन् । कमला र गोपालको मृत्यु भइसकेकाले उनले वडा कार्यालयबाटै जारी भएको उल्लेख गरेर नाता प्रमाणित र दुवै जनाको मृत्यु दर्ता कागजात पनि बनाएका थिए । त्यतिमात्र होइन, कमलाको नागरिकता पनि नक्कली बनाए ।

अस्ट्रेलियामा दुई जना दाजुभाइ भएको र उनीहरूले आमाका नामबाट नामसारी गर्न मञ्जुरीनामा दिइएको नक्कली पत्र पनि बनाएका रहेछन् । नागरिकता, मृत्यु दर्तादेखि वडाको सिफारिस सबै प्रक्रियागत रूपमा दुरुस्तै कागजात बनाएका केबलप्रताप कागजातमा भने मुकेशकै रूपमा देखिए । यसकै आधारमा कमलादेवीका नाममा भएको जग्गा मालपोत कार्यालय पर्साबाट उनका नाममा नामसारी भयो । अरूकै नाममा भएको जग्गा हत्याउन केबलप्रतापले मालपोत कार्यालय पर्साका कर्मचारीलाई पनि हात लिएको अनुसन्धानमा संलग्न प्रहरी स्रोत भन्छ । त्यसपछि बैंकलाई समेत भुलभुलैयामा राखेर कर्जा हत्याउने दाउ गत असारमा सुरु भयो । जग्गा आफ्ना नाममा आइसकेपछि ढुक्कले कर्जा लिने यो सबै कुरा जग्गाका सक्कली हकदारलाई पत्तै थिएन ।

एनआईसी एसियाको वीरगन्ज शाखा कार्यालयले कर्जा स्वीकृतिका लागि मुकेशका नाममा भएको घरजग्गा मूल्यांकन गर्न कागजात हेर्न थालेपछि नै केबलप्रतापको अपराध धन्दामा ब्रेक लाग्यो । सक्कली जग्गाधनीलाई पत्तै नदिई ५० करोडको घरजग्गा हडप्ने योजना पनि बैंकमै आएर रोकियो । फाइल रोकिएपछि काठमाडौंबाट सक्कली जग्गाधनी वीरगन्ज पुगे । जग्गाजमिन पत्तै नपाई हडपिएको पाएपछि सक्कली जग्गाधनी राजीव राजभण्डारीले साउन ७ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिए ।

ब्युरोका डीआईजी सहकुल थापाले विषय गम्भीर देखिएपछि जाहेरीलाई सूक्ष्म रूपमा अनुसन्धान गर्न विशेष टोली नै परिचालन गर्नुपरेको बताए । ‘हामीलाई यो केसको अनुसन्धान गर्न करिब अढाई महिना लाग्यो, सबै कागजात नक्कली बनाएर जग्गा हडपिएको रहेछ, प्रशासन र वडा कार्यालयबाट बनेका नक्कली कागजातका आधारमा सक्कली जग्गा धनीलाई पत्तै नदिई केबलप्रताप राणाले मुकेश राजभण्डारीका नाममा सम्पत्ति हत्याएका रहेछन्,’ डीआईजी थापाले कान्तिपुरसँग भने, ‘त्यही घरजग्गा धितो राखेर कर्जा फुत्काउने क्रममा सबै पोल खुल्यो ।’

सक्कली जग्गाधनीमध्येका एक राजीव राजभण्डारीले आफूले असार अन्तिम साता मात्रै जग्गा अर्कैले नामसारी गरेर लगेको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको बताए । ‘हामीलाई जग्गा अर्कैले लगिसकेको थाहै थिएन, बैंकका कर्मचारी, अन्य स्रोत र मालपोत कार्यालयमा गएर भेरिफाई गरेपछि मात्रै नक्कली कागजात बनाएर केबलप्रताप राणाले मुकेश राजभण्डारीका नामबाट जग्गा आफ्ना नाममा पारिसकेको रहेछ,’ राजीवले कान्तिपुरसँग भने, ‘त्यसपछि प्रहरीमा जाहेरी दिएर अनुसन्धान गर्दा जग्गा ठगी र किर्तेको सबै पोल खुल्यो ।’

केवलले गोपाल/कमला राजभण्डारीका तीन छोरामध्ये दुई जना अस्ट्रेलियामा रहेको र आमाका नाममा भएको जग्गा आफ्नो नाममा ल्याउन अस्ट्रेलियास्थित नेपाली दूतावासमार्फत प्रमाणित गराएको मञ्जुरीनामा पनि बनाएका थिए ।

अमेरिकाबाट १० वर्षका लागि निष्कासित ३३ वर्षीय राणा ललितपुर कुसुन्तीका बासिन्दा हुन् । आईटी विषयमा पोख्त उनी १० वर्ष अघिसम्म बाबुआमासँगै अमेरिकामा बस्थे । उनी अमेरिकाको ग्रिनकार्ड होल्डर पनि थिए ।

सन् २०१० (विसं २०६७) मा अमेरिकामा उनी व्यक्ति हत्या प्रयास आरोपमा पक्राउ परे । छुरा प्रहारको अभियोगमा समातिएका उनलाई त्यहाँको अध्यागमनले १० वर्षका लागि अमेरिका फर्कन नपाउने गरी नेपाल फिर्ता गर्‍यो । उच्च शिक्षाका लागि परिवारसँगै अमेरिका पुगेका उनी निष्कासनमा परेपछि नेपाल आएर अपराध धन्दामा सक्रिय हुन थाले । भारतीय गिरोहसमेतको साथ लिएर क्रेडिट कार्ड ठगी, बैंक खातामा अनधिकृत प्रवेश गरी रकम चोरीलगायतका अपराधमा संलग्न भए ।

ब्युरोका डीआईजी थापाका अनुसार २०७० कात्तिक ३ गते सीआईबीले राणासहितको गिरोहलाई क्रेडिट कार्ड ठगीमा पक्राउ गरी ललितपुर प्रहरीलाई बुझाएको थियो । त्यो कसुरमा अनुसन्धान गर्न राष्ट्र बैंकले कात्तिक २६ गते बैंक/वित्तीय संस्थालाई परिपत्र गरी केबलप्रताप राणाका नाममा बैंक खाता र कारोबार रोक्का राख्न निर्देशन दिएको थियो । उक्त अपराध सेलाउन नपाउँदै ३ वर्षपछि २०७३ चैत ७ गते बैंकिङ कसुरमै उनी काठमाडौंबाट पक्राउ परे ।

गत वर्ष २०७६ जेठ १७ गते पनि ठगी अभियोगमा राणालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले पक्राउ गरी मुद्दा चलाएको थियो । रातोपुलबाट पक्राउ परेका केबलप्रतापलाई ब्युरोले थप अनुसन्धान गरी मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय वीरगन्जको जिम्मा लगाएको छ ।

प्रकाशित : आश्विन २७, २०७७ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?