२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बलात्कार आरोपित जोगाउन ‘झूटो मुद्दा’

पीडित बालिकाका अभिभावक नौ दिनदेखि बिनाप्रमाण थुनामा
वसन्तप्रताप सिंह

बझाङ — बालिका बलात्कार मुद्दाका आरोपीलाई जोगाउन छुवाछूतको झूटो मुद्दा लगाएर पीडितका बुबा र काकालाई प्रहरीले थुनामा राखेको पीडित परिवारले आरोप लगाएको छ । केही दलित अधिकारकर्मी र दलित नेताहरूको आडमा झूटो मुद्दा लगाएर नौ दिनदेखि बिनाप्रमाण प्रहरी हिरासतमा राखेको र बलात्कारको बयान बदल्न निरन्तर दबाब आइरहेको पीडितका परिवार र उनका छिमेकीहरूले बताएका हुन् ।

बलात्कार आरोपित जोगाउन ‘झूटो मुद्दा’

गत भदौ १६ गते थलारा गाउँपालिकाकी खत्री थरकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २६ वर्षीय पार्की थरका दलित समुदायका युवालाई प्रहरीले भदौ १८ गते पक्राउ गरेको थियो । पक्राउ परेका पार्कीले प्रहरी र अदालतसमक्ष अपराध स्वीकार गरिसकेका छन् । जिल्ला अदालत बझाङको आदेशमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान भइसके पनि बयान बदल्न दबाब दिने उद्देश्यले बालिकाका अभिभावकलाई हिरासतमा राखिएको पीडित परिवारले बताएका हुन् ।

यसरी भयो घटना

भदौ १६ गते थलारा गाउँपालिका ३ को देवलबाँझ गाउँमा एक स्थानीयको विवाह भइरहेको थियो । विवाह हेर्न खत्री थरकी बालिका (पीडित) पनि गएकी थिइन् । राति बिहे हेर्न गएकी छोरी बिहानसम्म पनि सम्पर्कविहीन भएपछि बालिकाका बुवाले कार्यपालिका सदस्य हीरा सुनारलाई सम्पर्क गरी छोरी हराएको सूचना गरेका थिए । सुनारकै सुझावको आधारमा उनले त्यसै दिन प्रहरीमा उजुरी गरे ।

पछि पार्की थरका अभियुक्त युवक पनि गाउँमा नभेटिएपछि प्रहरीले उनका आमाबुबालाई छोरालाई सम्पर्कमा ल्याउन दबाब दियो । ‘उसले केटीलाई लगेर गाउँभन्दा करिब ५ घण्टा टाढा पर्ने थलारा–१ बगाडामा रहेको फुपूको घरमा राखेको रहेछ,’ सुनार भन्छिन्, ‘प्रहरीले दबाब दिएपछि केटाका आमाबुबाले १८ भदौ सम्पर्कमा ल्याए ।’ पार्की प्रहरीको सम्पर्कमा आएपछि इलाका प्रहरी कार्यालयमा घटना मिलाउन दिनभर स्थानीयले छलफल गरेका थिए ।

छलफल निष्कर्षमा नपुगेपछि साँझ प्रहरीले पार्कीलाई नियन्त्रणमै राखेर बालिकालाई आमाबुबाको जिम्मा लगाएको थियो । भोलिपल्ट बालिकाले आफूलाई नियन्त्रणमा लिएर बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । बालिका र पार्कीबीच दुई वर्षदेखि प्रेमसम्बन्ध रहेको र गाउँमै मिल्ने घटना दलित भएकै कारण बलात्कारको अभियोगमा परिणत गरेको दलित अगुवाको दाबी छ । ‘दलित भएकै कारण रातारात छोरीलाई फकाएर बलात्कारको मुद्दा लगाएका हुन्,’ दलित अधिकारकर्मी तथा थलारा गाउँ कार्यपालिकाका सदस्य श्याम सुनारले भने ।

यता पीडित बालिकाले भने आफ्नो कुनै प्रेमसम्बन्ध नभएको र विवाह हेर्न गएका बेला आफूलाई मुख बाँधेर उठाएर लगिएको कान्तिपुरसँग बताएकी छन् । ‘मेरो ऊसँग कुनै सम्बन्ध थिएन । विवाह हेर्न गएका बेला मलाई एकछिन् काम छ भन्दै समूहबाट अलग गरायो । केही पर आएपछि मेरै चुन्नीले मुख बाँधेर बगाडा लगेर बलात्कार गरे ।’ प्रहरीले भने १८ वर्षभन्दा कम उमेर भएकी बालिकासँग सहमतिमै शारीरिक सम्पर्क गरे पनि बलात्कार ठहरिने भएकोले अनुसन्धानबाट बलात्कार भएको यथेष्ठ प्रमाण भेटिएको बताएको छ । ‘हामीले कानुन अनुसार सबै अनुसन्धान पूरा गरेर अभियुक्तलाई अदालत बुझाइसकेका छौं । अभियुक्तले कसुर स्वीकार गरिसकेको छ,’ डीएसपी रूपक खड्काले भने ।

अभियुक्तले अपराध स्वीकार गरी पुर्पक्षका लागि कारागार चलान गरिसकेपछि पीडितलाई बयान बदल्न दबाब दिन जिल्लाका केही दलित नेता र दलित अधिकारकर्मीहरूले पार्कीकी आमाबाट छुवाछूतको झूटो मुद्दा दिन लगाएको आरोप छ । दलित र गैरदलित समुदायको मिश्रित बसोबास रहेको उक्त गाउँका दुवै समुदायका महिला पुरुष तथा वडाका जनप्रतिनिधिहरू पीडित बालिकाका काका र बुबालाई झूटो मुद्दामा फसाएको भन्दै सोमबार डेलिगेसन ल्याएर सदरमुकाम आएका छन् । ‘हामीसँग ठूला नेता छन् । कि तिम्री छोरीलाई बलात्कार भएको हैन भनेर बयान फेर्न लगाऊ । हैन भने ऊ (अभियुक्त पार्की) बलात्कारमा जेल जान्छ । छुवाछूतको आरोपमा बालिकाका बुबा र काकालाई पनि जेलमा सडाइदिन्छौं भनेर सुरुदेखि नै धम्काइरहेका थिए,’ पीडित बालिकाका काकाले भने, ‘मेरा दाइहरूलाई झूटो मुद्दा लाएर फसाएका छन् ।’

त्यसयता तीनपटक प्रहरीको टोली घटनास्थल गए पनि छुवाछूतसम्बन्धी कसुरको प्रमाण जुटाउन सकेको छैन । उनीहरूलाई असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । थलाराको कार्यपालिका सदस्य हीरा सुनारले बलात्कारको दोषी उम्काउनका लागि झूटो मुद्दा लगाएर दलितका नेताहरूले बार्गेनिङ गरिरहेको बताइन् । यो विषयमा वडाले पनि आन्तरिक छानबिन गरेको र पीडित बालिकाका बुबा र काकाले छुवाछूतसम्बन्धी कुनै कसुर नगरेको पाइएकाले आफूहरू डेलिगेसनमा आएको वडा नं ३ का अध्यक्ष गणेशराज जोशीले बताए । ‘हामीले वडाका जनप्रतिनिधिसमेत गाउँभरिका सबै मानिस बोलाएर छलफल गर्‍यौं, बुझ्यौं । पीडितका काकाले छुवाछूत गरेको हो भन्ने कोही भेटेनौं,’ उनले भने ।

थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले अहिलेसम्म गाउँपालिका र प्रहरीले गरेको अनुसन्धानमा त्यहाँ छुवाछूत भएको प्रमाण नभेटिएको बताए । उनले दुवै मुद्दाबारेमा आफूले थाहा पाएको र अपराध गर्ने जोसुकैले पनि उन्मुक्ति पाउन नहुने बताए । ‘एउटा मुद्दा अदालतमा गइसकेको छ । अर्को अनुसन्धानको क्रममा छ । गलत गर्नेलाई कानुनले सजाय दिन्छ । अहिले योभन्दा बढी नबोलौं,’ उनले भने । प्रहरीले भने बलात्कारको मुद्दा अनुसन्धान सकिएर अदालतमा पेस भइसकेकोले छुवाछूतको मुद्दासँग जोड्न नमिल्ने बताएको छ । ‘बलात्कारको अभियुक्तले अपराध स्वीकार गरेर अदालतमा पेस भइसकेको विषय हो । छुवाछूतको मुद्दामा त्यो मुद्दाको सरोकार छैन,’ डीएसपी रुपक खड्काले भने, ‘अनुसन्धानकै क्रममा भएकाले आरोपीलाई थुनामा राखेका हौं ।’

कानुन व्यवसायीहरूले पनि यो घटनामा पीडित पक्षलाई झूटो मुद्दा लगाएर होस्टाइल गर्ने मनसाय देखिएको बताएका छन् । ‘को दोषी हो भन्ने कुरा भोली अदालतले फैसला गर्ला,’ अधिवक्ता कलक खत्रीले भने, ‘कसुरको कुनै संकेत प्रमाण नभएका आरोपीलाई थुनेर अनुसन्धान गर्नु र दलितका नेताहरूले पीडित पक्षलाई बयान बदल्नका लागि निरन्तर दबाब दिनुले होस्टाइल गर्ने मनसाय राखेको भने प्रस्टै देखिन्छ ।’

प्रकाशित : आश्विन २७, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?