कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

उपत्यकामा कोरोना नियन्त्रण गर्नेबारे सांसदका प्रस्ताव : कडा लकडाउन र नाका सिल 

'काठमाडौंको कोरोना गाउँगाउँमा जाँदा स्थिति भयावह हुनसक्छ ।'
जयसिंह महरा

काठमाडौँ — नेपालमा कोरोनाको संक्रमण दिनदिनै बढ्दो छ । पछिल्लो समय दैनिक ४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिन थालेको छ । २० हजारभन्दा कम व्यक्तिमा पीसीआर परीक्षण गर्दासमेत यति ठूलो संख्यामा कोरोना देखिएकोमा सांसदहरूले चिन्ता व्यक्त गरेका छन् ।

उपत्यकामा कोरोना नियन्त्रण गर्नेबारे सांसदका प्रस्ताव : कडा लकडाउन र नाका सिल 

मुलुकभर देखिएको कोरोना संक्रमितको संख्याको लगभग ५० प्रतिशत काठमाडौं उपत्यकाका मात्रै रहेको छ । यसले पनि काठमाडौं उपत्यका कोरोना हटस्पट भएको भन्दै चिन्ता व्यक्त गरिँदै आएको छ । कोरोना संक्रमित बढ्दा त्यसमा पनि संक्रमणसहितका र गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दै जाँदा उनीहरूले उपचारका लागि अस्पताल नपाइरहेका घटना सार्वजनिक भइरहेका छन् ।

कोरोना संक्रमणले गम्भीर अवस्थामा पुगेकालाई आवश्यक पर्ने आइसीयू र भेन्टिलेटरको उपलब्धता नहुँदा पनि अवस्था भयावह हुने आकलन गर्न थालिएको छ ।

एकातर्फ काठमाडौं कोरोनाको हटस्पट बन्दै गइरहेको र अर्कोतर्फ कोरोनाबाट संक्रमित भएर स्वास्थ्य अवस्था गम्भीर भएकाले भेन्टिलेटर र आइसीयू नपाउने अवस्था रहेकोप्रति प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चासो व्यक्त गरेको छ ।

समितिमा रहेका सांसदहरूले तत्काल काठमाडौं उपत्यकाको संक्रमण फैलिनबाट रोकथाम नगर्ने हो भने अवस्था झन् भयावह हुने बताएका छन् । उपत्काबाहिर नियन्त्रणउन्मुख रहेको कोरोना काठमाडौंका कारण बल्झिने पनि सांसदहरूको भनाइ छ ।

त्यसैले, काठमाडौंको कोरोना नियन्त्रण र रोकथामका लागि कडा खालको लकडाउन र काठमाडौं उपत्यका प्रवेश गर्ने नाका पूर्णरूपमा सील गर्नुपर्ने सांसदहरूले सुझाएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिले मुलुकभर कोभिडको रोकथाम र उपचारमा कस्तो काम भइरहेको छ भनेर अनुगमन र निरीक्षण गर्ने उपसमितिका संयोजक जीवनराम श्रेष्ठले काठमाडौं उपत्यका प्रवेश गर्ने नाका पूर्णरूपमा बन्द गर्नुपर्ने सुझाव दिएका छन् । उपसमितिले स्वास्थ्य क्षेत्रका विज्ञसँग गरेको छलफल र अन्य निकायसँगको परामर्शबाट निकालेको निष्कर्षबारे उनले समितिको सोमबारको बैठकमा भने, 'उपत्यकाबाट मान्छेहरू बाहिर नजाउन् भन्ने कुरामा ध्यान दिनुपर्छ । उपत्यकाबाट बाहिर गएमा बाहिरको अवस्था झनै भयावह हुनेछ । २-३ हप्ता चाडपर्वको बीचमा उपत्यकाका नाकालाई सील गर्नुपर्छ । नाका पास गर्नुपर्ने अनिवार्य काम परेकालाई नाकामा क्याम्प राखेर परीक्षणपछि मात्रै आउजाउका लागि अनुमति दिनुपर्छ ।'

सुरुमा गरिएको जस्तो लकडाउनले भने अब कोरोना नियन्त्रणमा सहयोग नगर्ने श्रेष्ठको भनाइ थियो । काठमाडौंको कोरोना संक्रमित बाहिरी जिल्ला गएर त्यहाँ संक्रमण फैलाएमा मुलुकले थेग्न नसक्ने उनको आकलन थियो । बाहिरी जिल्लाहरूका अस्पतालमा औषधि र दक्ष स्वास्थ्यकर्मी नरहेको बताउँदै उनले भने, 'काठमाडौको स्थिति बाहिरी जिल्लामा आउने हो भने बाटोबाटोमा मान्छे मरेर यत्तिकै रहने अवस्था आउन सक्छ ।'

कांग्रेस सांसद उमेश श्रेष्ठले भने २० देखि २५ दिन जति कडा लकडाउन लगाउनुपर्ने सुझाव दिएका थिए । हालैमात्र कोरोना संक्रमणबाट मुक्त भएका उनले भीडभाड हुने ठाउँका सेवालाई तत्काल बन्द गर्नुपर्ने सुझाए । 'भीड हुने ठाउँबाट कोरोना संक्रमण फैलिइरहेको छ । २०-२५ दिन कडा लकडाउन गरेर कोरोना रोकथामका उपाय अपनाउनुपर्छ । त्यसो नगर्ने हो भने समस्या हुन्छ,' उनले थपे, 'दसैं-तिहारमा मान्छेको आउजाउ बढिरहेको छ । सरकारले निर्णय गरेर अगाडि बढ्नुपर्छ ।'

सांसद विद्या भट्टराईले राजनीतिक दलहरूले सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने धारणा राखिन् । कोरोना फैलिइरहेको अवस्थामा पनि राजनीतिक दलहरूले ठूल्ठूला कार्यक्रम गरिरहेकोमा उनको आपत्ति थियो । 'सरकारले ल्याएका मापदण्ड जनताका लागि मात्रै होइनन्, राजनीतिक दलका कार्यकर्तालाई पनि लाग्नुपर्छ,' उनले भनिन् ।

कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको अवस्थामा सरकारले रोकथामको क्षमता पनि बढाउनुपर्ने सांसद नमिता चौधरीले बताइन् ।

कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने सामग्री खरिदमा प्रदेश र स्थानीय सरकारले सार्वजनिक खरिद ऐन बाधक भएको गुनासो गरेको भन्दै समिति सभापति जयपुरी घर्तीले संघीय सरकारले उक्त ऐनमा रहेका बाधा फुकाउन अध्यादेश ल्याउनुपर्ने वा बाधा अड्काउ फुकाउको अधिकार प्रयोग गरेर सहज वातावरण बनाउनुपर्ने धारणा राखिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले भने सरकारले आफ्नो क्षमताले सकेको काम गरिरहेको बताए । लकडाउन र नाका बन्द गर्ने अधिकार राजनीतिक नेतृत्वमा रहेकाले आफूले त्यसबारे बोल्न आवश्यक नरहेको बताएका उनले थपे, 'काठमाडौंको अवस्था अझै १४ देखि २८ दिनसम्म अहिलेको अवस्था जान सक्छ भन्ने लागेको छ । यो अवस्थामा नै रोक्न सकियो भने न्यूनिकरणमा लैजान सकिन्छ भन्ने हाम्रो अनुमान छ ।'

काठमाडौंको संक्रमण बाहिरी जिल्लामा पनि फैलिन थाल्यो भने स्थिति भयावह हुने पोखरेलको भनाइ थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : आश्विन २६, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?