६ महिनाअघि चीनले १२ नम्बर पिलर निर्माण गर्‍यो, पुराना स्तम्भका टुक्राहरु नजिकै भेटिए : कांग्रेस नेता शाही

छपाल लामा

हुम्ला — चीनले हुम्लासँग जोडिएको नेपाली भूमि मिचेको नेपाली कांग्रेसले आरोप लगाएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले विवादित क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

६ महिनाअघि चीनले १२ नम्बर पिलर निर्माण गर्‍यो, पुराना स्तम्भका टुक्राहरु नजिकै भेटिए : कांग्रेस नेता शाही

नेपाल र चीन सीमाको स्थलगत अध्ययन गर्न शाही नेतृत्वको टोली नाम्खा गाउँपालिका–६ स्थित लिमी र लाप्चा पुगेको थियो । टोलीले लोलुगङजोग र लिमि–लाप्चाको सिमानामा चीन सरकारले ६ महिनाअघि नै १२ नम्बरको नयाँ पिलर निर्माण गरेको निष्कर्ष निकालेको छ ।

‘सरकारको बेवास्ताले नेपाली भूमि मिचियो,’ सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै शाहीले भने, ‘सीमास्तम्भमा कोरिएका देवनागरी लिपीका अक्षर फरकफरक छन्, स्तम्भ पुरानै आकारमा पनि भेटिएनन् ।’ पुराना स्तम्भका टुक्राहरु नयाँ स्तम्भ नजिकै भेटिएको उनको भनाइ छ ।

प्रतिपक्षी दलका नेता शाहीले नाम्खा गाउँपालिका–६ स्थित लिमी–लाप्चामा चीनले भवन निर्माण गरेको दाबी गरे । ‘चिनियाँहरु निर्वाध रुपमा नेपाली भूमिमा आइरहेका छन्,’ उनले भने, ‘तर, हुम्लाबासीलाई त्यता जान दिइएको छैन ।’ उनको यो प्रतिवेदन र भनाइमा सरकारको प्रतिक्रिया आउन बाँकी छ ।

प्रकाशित : आश्विन २६, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?