कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हराएको १० दिनपछि आमा-छोरीको शव फेला

कान्तिपुर संवाददाता

बाजुरा — बाजुराको हिमाली गाउँपालिका–५ स्थित कवाडीबाट १० दिनअघि बेपत्ता चार छोराछोरी र आमामध्ये दुई जनाको शव आइतबार कर्णाली किनारमा फेला परेको छ ।

आमा सत्ता नेपाली र छोरी सन्तोषी नेपालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मदनजित महराले बताए । उनका अनुसार आमाको थितीचौर र बालिकाको शव पिलुचौर नजिक फेला परेको हो । बेपत्ता अन्यको खोजी कार्य जारी रहेको उनले बताए ।

रुगिन गाउँमा घर भई कवाडीमा बस्दै आएका धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता र ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मती अघिल्लो शुक्रबार बेपत्ता भएका थिए । आमाले छोराछोरीसहित कवाडी नदीमा हाम फालेर आत्महत्या गरेको आशंकामा प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका थिए । घटना भएकै दिन एउटा बच्चाको चप्पल र लुगा कवाडी नदीको किनारमा भेटिएको थियो ।

प्रहरीका अनुसार बेपत्ता भएको बिहान सत्ता गाउँमा खलो माग्न गएकी थिइन् तर उनी खलो नपाएर रित्तै फर्किएको श्रीमान् धर्मले बताए । उनी गाउँबाट फर्किंदासम्म घरमा श्रीमान्ले खाना नपकाएकाले दुईबीच खटपटसमेत भएको थियो ।

त्यसपछि बुहारी बच्चाहरूलाई लिएर नदीतिर लागेको देखेको सासू कुसुमकलाले बताएको डीएसपी महराले सुनाए । दलित समुदायका विपन्न परिवारले खेती पाकेपछि घरघरबाट अन्न माग्ने चलनलाई खलो प्रथा भनिन्छ । बाजुराका सबै गाउँतिर खलो माग्ने परम्परा कायमै छ ।

प्रकाशित : आश्विन २६, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?