२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्न कठिन

जगदीश्वर पाण्डे

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमित व्यक्तिलाई हेलिकप्टरबाट उद्धार गर्दा उडानका दौरान ध्यान दिनु पर्ने आवश्यक स्वास्थ्य तयारीको अवस्थालाई आकंलन नगरिकनै निर्णय गरेपछि उद्धार गर्न समस्या भएको छ ।

कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्न कठिन

केही दिन अघि स्वास्थ्य मन्त्रालयले गरेको निर्णयका कारण कोरोना भाइरस संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्न कठिनाइ भइरहेको सेनाका एक उच्च पदाधिकारीले गुनासो गरे । मन्त्रालयले कोरोना संक्रमित व्यक्तिलाई पनि अन्य रोगका विरामीलाई यस्तै उद्धार गर्ने गरि निर्णय गर्दा हेलिकप्टरबाट उद्धार गर्न समस्या भएको ती पदाधिकारीको तर्क थियो ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित व्यक्तिलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गर्ने र त्यसमा सकेसम्म नेपाली सेनाको हेलिकप्टरलाई प्राथमिकता दिइने जनाएको छ । तर मुलुकमा विपद् व्यवस्थापन र अन्य काममा पनि सेनाको हेलिकप्टरको प्रयोग हुँदै आइरहेको छ । सेनासँग अहिले १५ ओटा हेलिकप्टर रहेकोमा ७ ओटा सञ्चालनमा छन् । सैनिक प्रवक्ता सन्तोषबल्लव पौडेलका अनुसार उद्धारको लागि सेनाको हेलिकप्टर २४ सै घण्टा उपलब्ध हुनेछ । सैनिक प्रवक्ता पौडेलले सेनालाई भइरहेको अफ्ठेरोको सम्बन्धमा बोल्न चाहेनन् ।

तर ती उच्च सैनिक पदाधिकारीका अनुसार कोभिड–१९ संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्दा हेलिकप्टरको चालक दलका सदस्य, अन्य व्यक्ति, हेलिकप्टरभित्रको अवस्था र स्वयं हेलिकप्टरको बारेमा पनि ध्यान दिनु पर्ने छ । ‘उदाहरणको लागि हेलिकप्टरबाट कुनै कोरोना भाइरसको संक्रमित व्यक्तिलाई उद्धार गर्दा पहिलो विरामीलाई एयर एम्बुलेन्समा जस्तै आवश्यक स्वास्थ्य सामग्रीहरु आवश्यक पर्छ ।

उनलाई उद्धार गर्ने सहयोगीहरुले पीपीई, मास्कलगायतका स्वास्थ्य सामग्री त आवश्यक भइहाल्यो,’ उनले भने,‘त्यसपछि चालकदलको सदस्यको पनि स्वास्थ्य बारेमा ध्यान दिनु पर्छ र बिरामीसँग सामाजिक दुरी कायम गर्नको हेलिकप्टरको भित्र सहज पनि हुन्न ।’

ती उच्च पदाधिकारीका अनुसार अन्य बस वा अन्य सवारी साधनमा जस्तो भित्रि ‘डेकोरेसन’ लाई परिवर्तन गर्न मिल्दैन । ‘किनकी हेलिकप्टर वा प्लेनको एउटा पेजमात्र तलमाथि गर्नु पर्‍यो भने सो हेलिकप्टर वा प्लेन निर्माता कम्पनीसँग सहकार्य गर्नु पर्छ । जुन अहिले सम्भव पनि देखिन्न,’उनले थपे ।

ती पदाधिकारीले स्वास्थ्य मन्त्रालयले हेलिकप्टरबाट उद्धार गर्ने सम्बन्धमा निर्णय गर्दा कुनै पनि परामर्श नगरिकन निर्णय गरेको र अहिले आएर उद्धारमा समस्या हुने बताए । ‘यदि हामीले केही कोरोना संक्रमितलाई उद्धार गर्यौं भने त हाम्रा सबै हेलिकप्टरलाई निश्चित दिनसम्म ग्राउन्डेड र चालक दलका सम्पूर्ण सदस्यलाई क्वारेन्टाइनमा राख्नु पर्ने हुन्छ । उनीहरुलाई कोरोना संक्रमित हुने सम्भावना पनि बढी हुन्छ । त्यसैले अन्य विपद् व्यवस्थापनको कार्यमा आवश्यक पर्दा हेलिकप्टर प्रयोग गर्न सकिने हुन्छ,’ उनले भने ।

उनले स्वास्थ्य मन्त्रालयले यस विषयमा जिम्मेवार भएर सम्बन्धित निकायहरुसँग छलफल गरेर निर्णय गर्नु पर्ने बताए ।

पर्यटनमन्त्री भट्टराई चढेको एमआई–१७ ग्राउन्डेड

पर्यटन मन्त्री योगेश भट्टराई चढेको सेनाको एक एमआई–१७ हेलिकप्टर तीन दिनको लागि ग्राउन्डेड भएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार उक्त हेलिकप्टर भदौ २१ मा पर्यटन मन्त्री भट्टराईलाई बोलेर ताप्लेजुङ गएको थियो ।

उनका अनुसार सो हेलिकप्टरका ५ चालक दलका सदस्यहरु पनि क्वारेन्टिनमा बसेका छन् । भट्टराईलाई कोरोना संक्रमण भएको समाचार बाहिर आएपछि सेनाले चालक दलका सदस्यलाई क्वारेन्टाइनमा राख्ने र हेलिकप्टरलाई डिसइन्फेक्ट गरेर मंगलबारसम्म ग्राउन्डेड गर्ने निर्णय गरिएको हो ।

सेनामा अहिले चार एमआई–१७ हेलिकप्टर रहेकोमा दुई ओटामात्र सञ्चालनमा छन् । बुधबारबाट भने थप एक एमआई–१७ ले फेरि उडान भर्ने छ ।

प्रकाशित : आश्विन २५, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?