१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उपप्राध्यापक चलाउने भन्छन्– ‘अपराधीहरू नउम्किउन्’

घाइते उपप्राध्यापक चलाउने ५ दिनदेखि अस्पतालमा छन्, घटनामा संलग्न कोही पक्राउ परेका छैनन्
सुदीप कैनी

काठमाडौँ — भेष बदलेको समूहले त्रिभुवन विश्वविद्यालय परिसरमै दाहिने खुट्टा भाँचिदिएपछि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउने ५ दिनदेखि मेडिसिटी अस्पतालमा छन् । उनलाई हिँडडुल गर्न ६ महिना लाग्ने चिकित्सकहरूले बताएका छन् । काठमाडौं प्रहरीले आक्रमण गर्नेको पहिचान भइसकेको दाबी गरेको छ तर कोही पक्राउ परेका छैनन् ।

उपप्राध्यापक चलाउने भन्छन्– ‘अपराधीहरू नउम्किउन्’

चलाउने क्वार्टरबाट त्रिभुवन विश्वविद्यालय परिसरकै नेपाल बैंकको काउन्टरमा पैसा झिक्न जाँदै गर्दा नकाबधारीले आक्रमण गरेका थिए। घटनामा विश्वविद्यालयकै विद्यार्थीको संलग्नता रहेको उनको दाबी छ । ‘मैले कल्पना नगरेको घटना भयो, पुलिसको ड्रेस जस्तो देखिने कपडा लगाएका थिए, अनुहार छोपिएको थियो, बाँसको चिर्पट र रडले हानेर भागे,’ उनले कान्तिपुरसित टेलिफोनमा भने । उनको टाउकोसहित शरीरका विभिन्न भागमा पनि चोट छ ।

‘खुट्टा ठीक हुन ६ महिना लाग्छ रे । अहिले त दिसापिसाब गर्न पनि पाइप प्रयोग गर्नुपरेको छ,’ उनले भने । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले भने पहिचान भएका व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्ने दाबी गरे । ‘अहिले पनि आरोपितहरूको खोजी भइरहेको छ, नाम सार्वजनिक नगरौं, पीडितलाई जानकारी दिएका छौं, पक्राउ गरेर कारबाही हुन्छ,’ उनले भने ।

आक्रमणकारीले प्रयोग गरेको बुलेट मोटरसाइकल प्रहरीले बरामद गरिसकेको छ । जुन मनीष कोइरालाका नाममा छ । उक्त मोटरसाइकल यसअघि पनि त्रिविमा हुने यस्तै घटनामा प्रयोग हुने गरेको प्राध्यापकहरू बताउँछन् । समाजशास्त्र विभागमा प्रमुखको नियुक्तिलाई लिएर ५२ दिनसम्म तालाबन्दी भएको थियो । विभागलगायत विश्वविद्यालयमा तालाबन्दी नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले ताला फुटायो । नेविसंघका विद्यार्थीले तालाबन्दी गरेका थिए । राजनीतिक भागबन्डाका आधारमा युवराज लुइँटेललाई विभागीय प्रमुख नियुक्ति गरिएको उनीहरूको आरोप थियो । चलाउनेलगायत भने तालाबन्दीको विपक्षमा थिए । त्यही कारण नेविसंघका त्रिवि इकाई अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावलले उनीहरूलाई धम्की र चेतावनी दिँदै आएको स्रोतको भनाइ छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले भने यसमा आफ्नो संगठनको संलग्नता नरहेको दाबी गरे । समाजशास्त्र विभागले उपप्राध्यापक चलाउनेमाथि गरिएको आक्रमणको भर्त्सना गरेको छ । नेविसंघका विद्यार्थीले तालाबन्दी गरेको र सांघातिक आक्रमण गर्ने धम्की दिएको पृष्ठभूमिमा घटना भएको विभागीय प्रमुख लुइँटेलले बताए । विभागले प्रशासनसँग आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । विभागले जारी गरेको विज्ञप्तिमा विश्वविद्यालय जस्तो शैक्षिक केन्द्रमा यस्ता घटना हुनु दुःखद रहेको उल्लेख छ । त्रिविका प्राध्यापकहरूले उपकुलपति कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन पनि गरेका छन् ।

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, प्राध्यापकहरू पीताम्बर शर्मा, कृष्ण खनाल र चैतन्य मिश्रले ध्यानाकर्षणपत्र जारी गर्दै घटनामा संलग्नलाई पक्राउ गरी दण्ड दिन माग गरेका छन् । ‘घटनाका संलग्नप्रति घृणा व्यक्त गर्दछौं, साथै चलाउनेको औषधोपचारको व्यवस्था विश्वविद्यालयले गरोस्, चाँडो स्वास्थ्यलाभको काम गर्दछौं,’ ध्यानाकर्षणपत्रमा भनिएको छ । घटना राजनीतिक दलका भ्रातृ संगठन र तिनले जोरजम्मा गरेका आपराधिक व्यक्ति र समूहको आडमा भएको उनीहरूको ठहर छ । माथेमाले राजनीतिक आडमा नै विश्वविद्यालयमा वर्षौंदेखि यस्ता घटना हुने गरेको जनाए । ‘यसले त विश्वविद्यालयको साख नै गुम्छ, अन्तर्राष्ट्रिय क्षेत्रसम्म नकारात्मक प्रभाव पर्छ,’ उनले भने, ‘भोलि त्यहाँ पढ्न को जान्छ ? पढाउन को जान्छ ?’

घाइते चलाउनेले पनि दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । ‘आज म परें, दोषीले उन्मुक्ति पाए भने भोलि जो पनि पर्न सक्छ,’ उनले भने । यसअघिका घटनामा पनि दोषीलाई कारबाही नभएकाले आफूले पनि न्याय पाउनेमा आशंका व्यक्त गरे । ‘म सुदूरपश्चिमको मान्छे, बाआमाले दुःख गरेर पढाउनुभयो, मेरो दाइभाइ भारतमा मजदुरी गर्छन् । म काठमाडौं आएको १४ वर्ष भयो, एक जनासम्म पनि वादविवाद भएकै छैन, रिसइबी कोहीसँग थिएन,’ ४३ वर्षीय उनले भने, ‘वादविवाद परेर एक–दुई मुक्का हानेको भए सहन्थें । एक शब्द बोल्न नपाउँदै आक्रमण गरे, मलाई अंगभंग नबनाएको भए हुन्थ्यो ।’ राजनीतिक संरक्षणमा अपराधीहरू उम्कन नहुने उनले जनाए ।

प्रकाशित : आश्विन २५, २०७७ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?