२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बाढीको पीडा : धान बेच्ने किसान आफैं किन्दै

बाढीले बाली मात्र बिगारेको छैन, आफ्नै अन्नबालीले खान पुग्ने धेरै परिवार किन्नुपर्ने स्थितिमा पुगेका छन्
मोहन बुढाऐर

धनगढी — यतिबेला उनको आँगनमा घरको धुरीभन्दा अग्लो धानको चाङ लागेको हुन्थ्यो । पैसाको मुठो बोकेर गल्ला व्यापारीहरू धानको मोलमोलाइ गर्न आउँथे । उचित मूल्य पाएपछि मात्रै उनी वर्षभरिलाई खान पुग्ने राखेर बाँकी बेच्थे । यो वर्ष कैलालीको भजनी नगरपालिका–८ का सीताराम चौधरीको आँगनमा धानको कुन्युँ लागेको छैन । उनी आफैं वर्षभरि खानलाई धान खोज्दै छन् ।

बाढीको पीडा : धान बेच्ने किसान आफैं किन्दै

‘पछि व्यापारीले मूल्य बढाउने भएकाले अहिले चिनेजानेका अन्य गाउँका किसनवा (जिमदार) लाई २०/२५ क्विन्टल धान राखिदिन अनुरोध गरिरहेको छु,’ चौधरीले भने । उनको १३ जनाको परिवारको घरखर्च सबै धानको बिक्रीबाटै चल्थ्यो । सात बिघामा अढाइ सय क्विन्टल धान फल्थ्यो । यतिबेला पहेलै र लहलह देखिने धान खेतलाई बाढीले सखाप पारेको छ । खेतमा उम्रिएको झार मार्न गत साता उनी हाते ट्र्याक्टरले जोत्दै थिए । धान भित्र्याउने चटारो नभएपछि बेचैन मनलाई शान्त पार्न खेत जोतिरहेको उनले बताए ।

बाढीले उनको घरभित्रको १० क्विन्टल गहुँ र ५ क्विन्टल पुरानो धान पनि काम नलाग्ने गरी भिजायो । ‘किसानले किसानीबाटै आस गर्ने हो,’ चौधरीले भने, ‘गहुँबालीका लागि सरकारले बाढीपीडितलाई बीउबिजन र मलमा राहत दिए हुन्थ्योजस्तो लाग्छ ।’ गत साउन १४ को बाढीले सीतारामको बाली बिगारेको मात्र छैन, आफ्नै अन्नबालीले खान पुग्ने धेरै परिवारलाई किन्नुपर्ने स्थितिमा पुर्‍याएको छ ।

भजनी–८ सुनफाँटाका जयप्रकाश धमाला पाँच लाखको धान बेच्थे । यो बेला मजदुर र आधुनिक धान काट्ने मेसिन लगाउँथे । ‘बाढीले दीनदुःखी जस्तो बेसाहा गरेर खाने बनाइदियो,’ जयप्रकाशकी श्रीमती सुनरी धमालाले भनिन्, ‘गरिब परिवारले जस्तै बाढीले ढालेको बाली टिप्नुपरेको छ ।’ उनी बाढी लागेको खेतमा ढलेको बाली काट्दै थिइन् । उनलाई बाढीले यसरी धानबाली पूरै नाश गरेको सम्झना पनि छैन । भजनी–८ खैराकी सुखरीदेवी चौधरी बाढीले खेतबाट पुरेको धानको बाला टिपेर आँगनमा माडिरहेकी थिइन् । बोक्रा खोक्रो भएकाले भुसैभुस देखाउँदै भनिन्, ‘ढलेको धानमा बिया कानो निस्केको छ ।’ उनको अगाडि धानभन्दा ठूलो चाङ भुसको थियो । उनले पनि ६ बिघामा लगाएको धानबाली पूरै बाढीले सखाप पारेपछि खानका लागि अरूबाट किन्नुपरेको बताइन् ।

भजनी–८ काँडाढिकका भीमबहादुरले अझै बाढीले भत्काएको घरसमेत मर्मत गर्न सकेका छैनन् । आफ्नो एक बिघा जग्गा पूरै बगर बनेको उनले बताए । नगरपालिकाले दिएको राहत रकम ९ हजार र एक महिनालाई पुग्ने रासनबाहेक अन्य सहयोग नपाएको उनको भनाइ छ । अरूको खेतको धान काटेर चामल ल्याएर उनी परिवार पाल्दै छन् । भजनी खैराकै मोतीराम चौधरीको खेत र आँगन अझै हिलाम्य छ । त्यसैले उनले बाढीले बचाएको धान काटेर सडकमा ल्याएर मेसिनबाट कुट्दै छन् । ‘४ बिघामा लगाएको धानबाली पूरै बाढीले पुर्‍यो,’ उनले भने, ‘बचेखुचेको २ कट्ठाको १० बोरा जति धान भएको छ ।’

उनीहरूको मात्रै होइन साउन १४ मा काँडा, पथरिया, कान्ध्रा र मोहना नदीमा आएको बाढीले भजनी नगरपालिकामा ४ हजार बिघा जग्गा कटान र पटानमा परेको थियो । भजनी ८ सबैभन्दा बढी प्रभावित भएको थियो । उक्त वडाका कुनै घर बाढीबाट बच्न सकेका थिएनन् । यहाँका १ हजार २ सय २५ परिवार प्रभावित भएका थिए । उनीहरू घरबाट विस्थापित भएर एक साताभन्दा बढी ज्यान जोगाउन हुलाकी सडकमा बास बस्नुपरेको थियो ।

वडा ८ मा मात्रै धान लगाएको १ हजार ९ सय ७५ मध्ये १ हजार ३ सय ३२ बिघाको धान बाढीले बगाएको नगरपालिको तथ्यांक छ । २७ बिघाको मकै, २५ बिघाको केरा, तरकारी ५ र बदाम २ कट्ठाको नोक्सानी गरेको छ । भजनी नगरपालिका मेयर शेरबहादुर चौधरीले नगरका किसानको ४ हजार बिघा साउनको बाढीले कटानीपटानी गरेर धानबाली नष्ट गरेको बताए । ‘नगरपालिकाले मर्कामा परेका किसानलाई बीउबिजन र मलमा सहुलियत सुविधा के दिन सकिन्छ दिनेछ,’ उनले भने, ‘अहिल्यै कार्यपालिकाबाट निर्णय हुन बाँकी छ ।’

जंगल छेउमा ४ सयभन्दा बढी परिवार

भजनीका विभिन्न वडाका ४ सयभन्दा बढी बाढीपीडित परिवार मोहन्याल सामुदायिक वनको ऐलानी जग्गामा त्रिपाल थापेर बसेका छन् । उनीहरूले सुरक्षित स्थानमा बास र राहतको व्यवस्था माग राखेका छन् । बाढीपीडित खेमराज काफ्लेले सुरक्षित बासका लागि दबाब दिन यहाँ बस्नुपरेको बताए । उनका अनुसार वडा ८ कृष्णनगर, काडाढिक, बरचौड, खल्लागाउँका १ सय ६५, वडा ३ दैलेख टोल, कुसमघाट, बर्दुवाका १ सय १५, वडा नम्बर ५ कौवाखेडा, कालापत्थरका २ सय ५०, वडा १ नमाबस्ती पदुवाफाँटाका २० र वडा ७ चर्राका ३५ परिवार सामुदायिक वनको ऐलानी जग्गामा छन् ।

‘हाम्रो पीडाव्यथालाई नबुझेर केहीले जंगल कब्जा गर्न बसेका हुन् भन्ने आरोप लगाउन थालेका छन्,’ काफ्लेले भने ‘त्यस्तो मनसाय होइन । सरकारले हाम्रो समस्या र पीडा बुझिदेओस् ।’ मेयर चौधरीले केही परिवार बाढीपीडित भए पनि धेरै परिवार जंगल अतिक्रमण गर्ने उद्देश्यले बसेको बताए ।

प्रकाशित : आश्विन २५, २०७७ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?