कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कारागारभित्रै गुन्डागर्दी !

ज्यान मुद्दामा जन्मकैद पाएको कारागारभित्र कम्प्युटरसहितको अफिस कोठा छ, क्यान्टिन र किराना पसल उनैले चलाएका छन्
दीपक परियार

पोखरा — कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएर कास्की कारागारमा थुनामा रहेका लक्षुकुमार गुरुङले तीनपल्ट चौकिदारको जिम्मा पाइसके । उनी यतिखेर तेस्रोपल्ट कारागारको ‘ख’ ब्लकको चौकीदार छन् । उनले जेल प्रशासनलाई प्रभावमा पारेर कारागारभित्रै गुन्डागर्दी र असुलीमा लागेको कैदीबन्दीको आरोप छ ।

कारागारभित्रै गुन्डागर्दी !

कारागार ऐन, नियमावली र कारागार व्यवस्थापन कार्यविधिको आन्तरिक प्रशासनसम्बन्धी कार्यविधिअनुसार जघन्य अपराधका कैदीलाई आन्तरिक प्रशासन सुम्पन पाइँदैन । नेगेटिभ लिस्टमा परेकाबाहेकले सजायको ५० प्रतिशत कैद भुक्तान गरिसकेपछि एकपल्ट मात्रै चौकीदार बन्न पाउने प्रावधान छ । ०६९ मा कारागार आएको ५ वर्षमै गुरुङ आर्थिक वर्ष ०७३/७४ मा पहिलोपल्ट चौकीदार भए । त्यसपछि एक आर्थिक वर्ष बिराउँदै ०७५/७६ र ०७७/७८ मा चौकीदारको जिम्मा पाएका हुन् ।

उनले चौकीदार बनेवापत अस्वाभाविक सुविधा लिएका छन् । कारागार प्रमुख (जेलर) को कार्यकक्ष छेउमा उनको कम्प्युटरसहित छुट्टै कक्ष छ । ‘ख’ ब्लकभित्र ७ वटा फोन, क्यान्टिन र किराना उनैको कब्जामा छ । एक कैदीका अनुसार उनले फोनमा एक दिनमा एक सय ५ रुपैयाँ ‘भ्वाइस प्याक’ लिन लगानी गर्छन् । कैदीलाई भने मिनेटको ५ रुपैयाँ लिन्छन् । फोनबाट मात्रै उनले दैनिक १५ हजार रुपैयाँ आम्दानी गर्छन् ।

किराना पसलमा पाइने सामानको मूल्य पनि बाहिरभन्दा चर्को छ । १५ रुपैयाँ गोटामा पाइने काँचो अण्डा गुरुङले २० रुपैयाँमा बिक्री गर्छन् । बाहिर २ सय ८० रुपैयाँ प्रति किलो पर्ने ब्रोइलर कुखुराको मासुलाई ४ सय ६० रुपैयाँ, ६० रुपैयाँ पर्ने आधा लिटर दूधलाई ७५ रुपैयाँ लिन्छन् । कैदी बन्दीले दैनिक ६० रुपैयाँ र ६ सय ग्राम चामल पाउँछन् । ती कैदीका अनुसार गुरुङले क्यान्टिनमा कम गुणस्तरको खाना खुवाउँछन् । फोन, किराना र क्यान्टिनबाट मात्रै गुरुङले मासिक १० लाख रुपैयाँ आम्दानी गर्ने ती कैदीले बताए ।

साविकको ल्वाङघलेल गाविसमा उनी कांग्रेसको उपसभापति थिए । उनले ०६९ भदौ २८ मा पोखराको बगरमा एक महिलाको हत्या गरे । आफ्नो लसपस भएकी ती महिलालाई अर्कै पुरुषसँग देखेपछि हत्या गरेको उनले बयानमा बताएका थिए । त्यतिखेर ४८ वर्षका थिए उनी । अहिले ५६ पुगे । अझै पनि उनको चरित्र नफेरिएको एक महिला कैदी बताउँछिन् । ती कैदीका अनुसार उनी आफ्ना फरक–फरक प्रेमिकालाई जेलमा भेट्न बोलाउँछन् । श्रीमती भेट्न आउँदा भने हप्काएर पठाउँछन् । चौकीदार भएपछि झन् सुरक्षाकर्मीको व्यवस्था गरेर उनलाई होटलमा प्रेमिका भेट्न पठाइन्छ । मोबाइल चलाउन, बाहिर आउजाउ गर्न उनलाई जतिखेर पनि छुट छ । गत वर्षको पुसमा उनले आफ्नै साथीको प्रेमिकालाई ललाइफकाई आफ्नो बनाए । गुरुङको मिल्ने साथीकी प्रेमिका जेलमा भेट्न आएकी थिइन् । गुरुङले चिनजान गरे । ती युवतीलाई भेट्न उनी जेल बाहिर गए । साथीले उक्त कुरा सुइँको पाएपछि दुई जनाबीच कारागारभित्रै हानाहान भयो । गुरुङले जेल प्रशासनलाई प्रभावमा पार्दै ती साथीलाई ‘क’ ब्लकमा सारिदिए । ‘ख ब्लकमा भए पनि तीनवटै ब्लकलाई असर गर्ने काम गर्छन्,’ ती कैदीले भनिन्, ‘जेल नै किनेर राखेको छु, कसले के गर्न सक्छ भन्ने अहं भावना छ । कसैलाई टेर्दैन । हाकिमजस्तो भएर बस्छ ।’

उनले जेलभित्रको व्यवसायमा सेयर हाल्न कसैसँग एक लाख, कसैसँग डेढ लाख रुपैयाँसम्म उठाउने गरेका छन् । हरहिसाब खोजे ‘जे पनि हुन सक्ने’ धम्की दिन्छन् । नाइके र भाइनाइके बनाउन पनि उनले रकम बुझ्छन् । त्यति मात्रै होइन, गएको संविधान दिवसमा राष्ट्रपतिबाट कैद मिनाहा गर्ने सूचीमा नाम राखिदिन उनले कैदीबाट रकम संकलन गरे । जन्मकैदकै सजाय खेपिरहेका सोचेन्द्र राईसँग उनले कैद मिनाहामा नाम पठाउने भन्दै ६० हजार रुपैयाँ लिए । राईले सिराहामा भएका आफ्ना काका प्रेमकिशोर राईमार्फत उक्त रकम गुरुङलाई आईएमई गरेर पठाएका थिए । सरकारले हालका लागि कैद मिनाहा स्थगित गरेर फागुन ७ मा पुर्‍यायो । राईले आफ्नो पैसा फिर्ता मागे । गुरुङले उल्टै अर्का कैदी जोन थापा र सुरेन्द्रकुमार विकलाई राईमाथि कुटपिट गर्न लगाए ।

साउन २६ मा नवलपरासी कारागारबाट कास्कीमा आएका राइलाई गुरुङकै निर्देशनमा कारागार प्रशासनले असोज ६ मा ‘क’ ब्लकमा सार्‍यो । गुरुङको गुन्डागर्दी, असुली र मनपरिविरुद्ध उनी त्यही दिनदेखि जेलभित्रै अनसन बसे । राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए । ‘म एउटाले दुःख भोगेर अरूलाई सुख हुन्छ भने भोग्न तयार छु भनेर अनशन बसेको थिएँ,’ जेलभित्रबाटै उनले कान्तिपुरसँग भने, ‘अरू जेलमा पुगे पनि बेथितिविरुद्ध लड्छु ।’ आफूलाई कास्की कारागार आउनेबित्तिकै गुरुङको समूहले अमानवीय व्यवहार गरेको उनको आरोप छ । गुरुङसँग अधिकांश कैदीबन्दी रुष्ट रहेको उनी बताउँछन् । ‘महिनामा १६ सय रुपैयाँ कैदीलाई सिदाबापत आउँछ,’ उनले भने, ‘उसले खुवाउने गुणस्तर ३–४ सय रुपैयाँभन्दा बढीको हुँदैन । फोन र किराना पसलको महँगी भनिसाध्यै छैन ।’ असोज ९ मा राष्ट्रिय मानवअधिकार आयोगको पोखरा कार्यालयका प्रतिनिधि पुगेर राईको अनशनबारे बुझेका थिए । आफ्नो स्वास्थ्य बिग्रिँदै गएपछि र जेलर केशव लामिछानेले आन्तरिक प्रशासनमा सुधार ल्याउने प्रतिबद्धता गरेपछि असोज ११ मा अनशन तोडेको उनले बताए । ‘त्यो प्रतिबद्धता मलाई देखाउनलाई मात्रै रहेछ,’ उनले भने, ‘अहिलेसम्म केही सुधार भएको छैन ।’

जेलर लामिछाने चौकीदार गुरुङलाई कानुनबमोजिम पाउने सेवा सुविधानबाहेक अन्य केही नदिएको दाबी गर्छन् । ‘भित्र र बाहिरको समन्वय गर्नुपर्ने भएकोले केही व्यावहारिक हिसाबले सुविधा पाउनुभयो होला,’ उनले भने, ‘कतिपय पहिलेदेखि प्रचलनको निरन्तरता छ ।’ जेलभित्रको पसलमा छिट्टै मूल्य सूची टाँस्न भनिसकेको उनी दाबी गर्छन् । भन्छन्, ‘कैदी बन्दीको केही गुनासो भए गुनासो पेटिकामा राख्न सकिन्छ ।’

कारागारमा हाल ९ सय २८ कैदी बन्दी छन् । पुरुषतर्फ ‘क’ ब्लकका ३ सय ५३ जना, ‘ख’ ब्लकमा ४ सय ९७ जना र महिला ब्लकमा ७३ जना छन् । हरेक ब्लकमा १–१ जना चौकीदार नियुक्त हुन्छन् । २५ कैदी बन्दी बराबर एक नाइके र १० बराबर एक सहनाइके चुनिने प्रावधान छ ।

प्रकाशित : आश्विन २५, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?