२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाल–भारत उडान कात्तिक १ बाट

सुरज कुँवर

काठमाडौँ — सात महिनादेखि बन्द नेपाल र भारतबीच व्यावसायिक हवाई उडान खुलाउनेबारे पहल सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शुक्रबार सिंहदरबारमा यसबारे छलफल भएको हो । २०७६ चैत ९ गतेदेखि रोकिएको उडान कात्तिक १ देखि सञ्चालन गर्नेबारे छलफल भएको स्रोतको भनाइ छ ।

नेपाल–भारत उडान कात्तिक १ बाट

लकडाउन खुकुलो गरेसँगै नेपालले १ सय ६४ दिनपछि भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेको थियो । तर, भारतले अझै अन्तर्राष्ट्रियतर्फ नियमित उडान खोलिसकेको छैन । भारतले अझै चार्टर उडानलाई जारी राखेको छ ।

‘तीन साताअघि भारतले नेपालमा रहेका आफ्ना नागरिकलाई मात्रै सेवा दिने उद्देश्य राखेर नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरणलाई प्रस्ताव पठाएको थियो,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘एयर बबल नामकरण गरिएको उक्त प्रस्तावमा नेपाल र भारतले आ–आफ्ना नागरिकलाई मात्रै हवाई सेवा दिने प्रस्ताव पठाएको थियो ।’

उनका अनुसार भारतले नेपालसहित थुप्रै एसियाली मुलुकमा एयर बबल मोडलबाट नियमित उडान गर्ने तयारी गरिरहेको छ । उक्त प्रस्तावलाई प्राधिकरणले अनुमतिका लागि तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले भारतको उक्त प्रस्तावलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको थियो ।

‘भारतले प्रस्ताव गरेको एयर बबलबारे सीसीएमसीमा छलफल भइसक्यो,’ मन्त्रालयका अर्का अधिकारीले भने, ‘सीसीएमसीले नेपाल–भारत उडान सञ्चालन गर्न सकिने जनाइसकेको छ । अब दुई मुलुकबीच उडान सञ्चालन गर्न चाँडै मन्त्रिपरिषदमा प्रस्ताव पठाउँदै छौँ ।’

ती अधिकारीका अनुसार, मन्त्रीपरिषदले अनुमति दिएपछि नेपाल र भारतबिच व्यवसायिक उडान सुरु हुने छ । तर, अहिले भारत हुँदै पर्यटक वा तेस्रो मुलुकका नागरिक नेपाल आउन पाउने छैनन् । त्यस्तै नेपालबाट पनि भारतीय नागरिक र भारतमा औषधोपचार लगायतका सेवासँग जोडिएका नेपालीमात्रै जान पाउने प्राधिकरणका अधिकारीले बताए । दुवै मुलुकले स्वास्थ्य सम्बन्धी मापदण्ड पनि बनाउने छन् ।

नेपालमा १५ वटा मुलुकका ३० वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका छन् । तर, कोभिडका कारण भारतबाहेक बंगलादेश, भुटान र थाइल्यान्डसँग नियमित उडान भइसकेको छैन । त्यसैगरी चीनको ल्हासा, छेन्दु र कुनमिङबाट पनि उडान भएको छैन ।

प्रकाशित : आश्विन २५, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?