कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

भारतबाट आउनेलाई क्वारेन्टाइन, काठमाडौंबाट आएका सोझै घर

संक्रमण उच्च रहेका जिल्लाबाट आएका कसैको गरिन्न परीक्षण
काठमाडौंबाट दसैं–तिहार मनाउन फर्किएकाहरु घर पुगेकै दिनदेखि गाउँघर घुम्ने र समुदायमा घुलमिल हुने गरेका छन्
वसन्तप्रताप सिंह

बझाङ — बझाङको जयपृथ्वी नगरपालिका–३ का खड्का थरका एक जनाको शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । काठमाडौंबाट आएका उनको परीक्षण नगरपालिका र स्वास्थ्य संस्थाको सक्रियतामा नभई परिवारको जोडबलमा भएको थियो ।

भारतबाट आउनेलाई क्वारेन्टाइन, काठमाडौंबाट आएका सोझै घर

‘होम क्वारेन्टाइनमा बसेका रहेछन् । परिवारका सदस्यले नै शंका लागेर परीक्षण गर्न अनुरोध गरेका थिए,’ नगरका जनस्वास्थ्य निरीक्षक रामचन्द्र जोशीले भने, ‘काठमाडौंलगायत बाहिरी जिल्लाबाट आएका अरू कसैको पनि परीक्षण गरिएको छैन ।’ उनले सरकारको निर्देशिका नै त्यस्तै भएकाले अरूलाई परीक्षण नगरिएको बताए । पछिल्लो समय संक्रमणको केन्द्र बन्दै गएको काठमाडौंबाट दसैं–तिहार मनाउन घर फर्किनेहरूको भीड लागेको छ । तर आफैं सचेत भएर परीक्षण गराउनेहरू भने कोही छैनन् । बरु घर पुगेकै दिन गाउँघरमा घुम्ने र समुदायमा घुलमिल हुनेहरू नै बढी छन् । भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षणपछि मात्रै घर पठाइरहेका यहाँका पालिकाहरू पनि बाहिरी जिल्लाबाट भित्रिनेबाट हुने जोखिमलाई बेवास्ता गरिरहेका छन् ।

‘पहिलादेखि नै इन्डियाबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने र परीक्षणपछि मात्रै घर पठाउने गरिरहेका छौं । काठमाडौं र अन्य जिल्लाबाट आउनेलाई घरमै सुरक्षित तरिकाले बस्नुहोला भनेर पठाउने गरेका थियौं,’ जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले भनिन्, ‘अहिले काठमाडौंबाट आउने पनि बढेका छन् । जोखिम पनि त्यतै बढेको छ । खोइ के गर्ने ? कसरी व्यवस्थापन गर्ने ? अब सोच्नुपर्ला ।’ उनले बाहिरी जिल्लाबाट आएकाले आफैं होम क्वारेन्टाइनमा बसिदिए सहज हुने सुझाव दिइन् ।

जयपृथ्वी नगरपालिका जस्तै जिल्लाका सबै पालिकाहरूले भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्दै आएका छन् । शनिबारसम्म जिल्लाका विभिन्न क्वारेन्टाइनमा १ सय ५७ जना व्यक्ति छन् । उनीहरू सबै भारतबाट आएका हुन् । भारतबाट आएकाहरूको मात्रै तथ्यांक राख्ने गरेको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले बाहिरी जिल्लाबाट कति मानिस आए भन्ने लेखाजोखा राखेको छैन । सुदूरपश्चिम यातायातका काउन्टर इन्चार्ज जीवन खड्काका अनुसार दैनिक १० भन्दा बढी बसमा ३ सयको हाराहारीमा मानिसहरू अन्य जिल्लाबाट बझाङ भित्रिने गरेका छन् । ‘दसैं–तिहारको सिजन भएकाले नियमित नम्बरभन्दा बस रिजर्भ गरेर पनि मान्छे आइरहेका छन्,’ उनले भने ।

बाहिरी जिल्लाबाट आएर घर जान जीप चढ्दै गरेको खप्तड छान्ना गाउँपालिकाका स्थानीय । तस्बिर : वसन्तप्रताप सिंह

संक्रमण फैलिएका जिल्लाहरूबाट आएकालाई सोझै घर पठाएर भारतबाट आएकालाई मात्रै क्वारेन्टाइनमा राख्ने पालिकाहरूको नीति हाँसो उठ्दो भएको स्थानीयहरू बताउँछन् । ‘भारतबाट आउने कोरोना मात्रै जोखिमपूर्ण हुने, नेपालभित्रैको नहुने भन्ने त होइन होला,’ जयपृथ्वीका स्थानीय प्रवीन्द्र धामीले भने, ‘काठमाडौंबाट आएकाहरू सोझै समुदायमा घुलमिल भइरहेका छन् ।’ बाहिरी जिल्लाबाट आउनेलाई परीक्षणबिनै घर छोड्दा एकातिर समुदायमा संक्रमण फैलिने जोखिम हुने र अर्कोतिर क्वारेन्टाइनमा पालिकाहरूले गरेको खर्चको औचित्य नहुने उनको भनाइ छ ।

संक्रमण उच्च रहेका जिल्लाबाट आएकाहरूलाई सोझै घर पठाउँदा बझाङमा पनि जोखिम निकै बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘कोरोनाको इपिसेन्टर जस्तै बनेको काठमाडौंबाट आउने कसैको पनि परीक्षण नगरी घर पठाइएको छ । यसले जोखिम बढ्ने निश्चित छ,’ स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशीले भने, ‘दसै–तिहारका बेला बाहिरबाट मानिसहरू आउने क्रम बढेकाले ट्राभल हिस्ट्री भएका सबैको परीक्षण गर्नु जरुरी छ ।’ उनले मनसुन सकिएसँगै जाडो बढ्दै गएकाले संक्रमितहरूमा कडा खालका लक्षण देखिने क्रम पनि बढेको बताए । हाल जिल्ला अस्पताललगायत जिल्लाका विभिन्न आइसोलेसनमा ३८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

पीसीआर प्रयोशाला कामविहीन

विभिन्न जिल्लाबाट मानिसहरू भित्रिने क्रम बढे पनि पीसीआर परीक्षण गर्नेको संख्या भने दिन प्रतिदिन घट्दै गएको जिल्ला अस्पताल बझाङले जनाएको छ । जिल्ला समन्वय समिति र १२ वटै पालिकाको सवा करोडभन्दा बढी लगानीमा स्थापना गरिएको पीसीआर परिक्षण प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । ‘हामी दैनिक ५ सय नमुना सजिलै परीक्षण गर्न सक्छौं, आवश्यक पर्‍यो भने एक हजारसम्म पनि गर्न सकिन्छ तर अहिले दैनिक सरदर ३० वटा नमुना मात्रै परीक्षण भइरहेका छन्,’ जिल्ला अस्पतालका कोराना फोकल पर्सन डा. मिलन खड्काले भने ।

प्रकाशित : आश्विन २५, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?