२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

डा केसीको पक्षमा बाँकेमा रिले अनशन, नुवाकोटमा प्रदर्शन

रुपा गहतराज, कृष्ण थापा

नेपालगन्ज, नुवाकोट — डा. गोविन्द केसीको जीवन रक्षा तथा उनले उठाएका ६ बुँदे माग पूरा गर्न दबाबका लागि भन्दै नेपालगन्जमा शनिबार रिले अनशन सुरु गरिएको छ । 

डा केसीको पक्षमा बाँकेमा रिले अनशन, नुवाकोटमा प्रदर्शन

नागरिक समाज बाँकेको संयोजनमा जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि अनशन सुरु गरिएको हो । डा. केसीको जीवन रक्षा र उनले उठाएका ६ बुदे जायज माग पूरा गर्नुपर्ने दबाबस्वरुप अनशन सुरु गरिएको अधिवक्ता बलबहादुर चन्दले बताए । ‘केसीले स्वास्थ्य क्षेत्रमा भएका विकृति, विसंगतिविरुद्ध पटक–पटक अनशन बस्दै आए पनि सरकार उनको माग पूरा गर्न गम्भीर देखीएन’, चन्दले भने,‘ त्यसकारण बाध्य भएर अनसर सुरु गरेका हौं ।’

अनशनमा सामाजिक अभियन्ता एवम् अधिवक्ताहरु बिश्वजित तिवारी, बलबहादुर चन्द र जगदम्बा पाठक, व्यवसायी ललितकुमार रौनियार र कृष्णादेवी पाण्डे तथा पत्रकार जयसिंह केसी छन् । केसीको माग पूरा नहुँदासम्म हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म रिले अनशन जारी राख्ने नागरिक समाज बाँकेले जनाएको छ ।

यसैबीच अनशरनरत डा. केसीको समर्थनमा नुवाकोटका युवाहरुले प्रदर्शन गरेका छन् । शनिबार दिउँसो सदरमुकाम विदुरस्थित लोकतान्त्रिकचोकमा भेला भई उनीहरुले आधा घण्टा प्रदर्शन गरे । 'हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी सबै डा. केसीको साथमा', 'जनता माग्छ अस्पताल सरकार दिन्छ भ्युटावर', 'डा केसी व्यक्ति होइनन् राष्ट्रको आवाज हो' जस्ता नारा लगाएका थिए ।

डा केसी अनशन बसेको २७ औं दिन पुगिसकेको छ । युवाहरुले केसीले उठाएको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए ।

प्रकाशित : आश्विन २४, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?