जो संक्रमितलाई निःशुल्क खुवाउँछन्

सुरूमा आफूसँग भएको १५ लाख रूपैयाँ खर्च गरे, अहिले साथ दिने बढिरहेका छन्
फातिमा बानु

काठमाडौँ — सामान्य अवस्था हुन्थ्यो भने विक्रम भँडेल यतिबेला औषधि बेच्नमै व्यस्त हुन्थे । डेढ महिनायता भने उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई निःशुल्क खाना बाँड्दै आएका छन् । ‘यो महामारी मेरो लागि समाज सेवा गर्ने अवसर बन्यो,’ उनले भने ।

जो संक्रमितलाई निःशुल्क खुवाउँछन्

२० वर्षीय उनी पेसाले स्वास्थ्यकर्मी (फर्मासिस्ट) हुन् । हाल दिनमा करिब तीन सय संक्रमितका लागि खाद्यसामग्री जुटाउने र निःशुल्क खाना वितरण गर्ने काममा जुटिरहेका छन् । त्रिवि शिक्षण अस्पतालमा ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको थाहा उनले पाए । ती स्वास्थ्यकर्मी नियमित १२ घण्टा ड्युटी गर्छन्, घर जान पाउँदैनन् र क्वारेन्टाइनमा बस्छन् भन्ने सुनेपछि उनको मन शान्त रहन सकेन ।

‘महामारीमा स्वास्थ्यकर्मी बचाउनु भनेको धेरै बिरामीलाई संक्रमणमुक्त गराउनु हो,’ उनले भने, ‘स्वास्थ्यकर्मी नै स्वस्थ भएनन् भने भोलि संक्रमण नियन्त्रणबाहिर जान्छ जस्तो लाग्यो ।’ घरमा सल्लाह गरेर उनले आफूसँग भएको १५ लाख रुपैयाँ कोरोना संक्रमित स्वास्थ्यकर्मी र बिरामीको खानामा खर्च गर्ने निर्णय गरे ।

अस्पताल प्रशासनसँग अनुमति मागेको १५ दिनपछि उनले खाना पकाउन सुरु गरे । अस्पतालनजिकैको भवनमा मासिक १ लाख तिर्ने सर्तमा एक तला भाडामा लिए । पकाउने भाडालगायत सामग्री जुटाएर काम गर्न थाले । ‘खाना पकाउने ५ जना सेफ र व्यवस्थापन मिलाउने कर्मचारीलाई गरी मासिक ३० हजार तलब दिने गरेको छु,’ उनले भने, ‘बिहान–बेलुकाको खाना र दिउँसोको खाजा खुवाउने जिम्मेवारी मेरो रहेको छ ।’

अस्पतालमा कोभिडका लागि छुट्याइएको ज्वरो क्लिनिक, आकस्मिक कक्ष, शल्यकक्ष, पीसीआर गर्ने ल्याब, आइसोलेसन कक्ष, आईसीयू, रिपोर्ट दिने काउन्टरका स्वास्थ्यकर्मी र भर्ना भएका सबै बिरामीका लागि उनी खाना जुटाउँछन् । अस्पतालकै पोषणविद् डा. रेणु यादवले संक्रमितका लागि तयार गरेको तालिकाअनुसार उनको भान्सामा खानेकुरा पाक्ने गरेको छ । ‘साताको चार दिन माछामासु पाक्छ, व्रत बस्नेलाई सादा खाना, खिर र पुरी पनि हुन्छ,’ भँडेलले भने, ‘खाजामा चटामरी, पास्ता, रोटी तरकारी पाक्छ ।’

४५ दिनको खाना, कर्मचारीको तलब र कोठाभाडामा ३१ लाख खर्च भइसकेको उनले सुनाए । एक्लै अभियान सुरु गरे पनि उनलाई सघाउने सहयोगीहरू बढिरहेका छन् । साथीभाइ र आफन्तले सहयोग गर्छन् ।

आर्मी श्रीमती संघबाट खाद्यान्न र नेपालमा रहेका शरणार्थीका लागि काम गर्दै आइरहेको यूएनएचसीआरबाट संक्रमितका लागि भेन्टिलेटर प्राप्त भएको उनले बताए । ‘मेरो उहाँहरूसँग चिनजान थिएन तर पनि २० बोरा चामल, दाल र अरू खानेकुरा दिनुभयो,’ उनले भने, ‘यति धेरै सहयोग आउला भनेर मैले सोचेको थिइनँ ।’

अभियान सुरु गरेको ४५ दिन बित्दा हालसम्म उनले ३२ हजार ९ सय प्लेट खाना बाँडिसकेका छन् । बिरामी र स्वास्थ्यकर्मीले दिएको ‘धन्यवाद’ शब्दमै उनी आनन्द पाउँछन् । ‘अस्पताल प्रशासनबाट पनि हौसला मिलेको छ, यो अभियान बन्द नगर्न भन्नुभएको छ,’ उनले भने, ‘आफ्नो क्षमताले भ्याएसम्म सेवा गर्न छाड्ने छैन ।’

प्रकाशित : आश्विन २४, २०७७ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?