भक्तपुर सामूहिक बलात्कार घटनाका आरोपी झापाबाट पक्राउ

पर्वत पोर्तेल

झापा — भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा गत शनिबार १७ वर्षीय युवतीमाथि बसभित्रै भएको सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त दिपेश राई झापाबाट पक्राउ परेका छन् ।

रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसभित्र भएको बलात्कार घटनामा संलग्न मुख्य अभियुक्तलाई बिहीबार झापाको भद्रपुर २ पृथ्वीनगरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरको विशेष प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका निमित्त एसपी केशवकुमार थेवेले जानकारी दिए । उनका अनुसार राई झापास्थित घर आइ लुकेर बसेका थिए । विशेष सूचनाका आधारमा उनलाई भक्तपुरबाटै आएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

झापाका एसपी कृष्ण कोइरालाले अभियुक्त पक्राउ गर्न भक्तपुरको टीमलाई सहयोग गरिएको जनाए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय भक्तपुरले अभियुक्त भागेर झापा पुगेको सूचना पाएको थियो । त्यही आधारमा अभियुक्तको फोन लोकेसनमार्फत पक्राउ गरिएको थियो । पक्राउ अभियुक्तलाई शुक्रबार बिहानको जहाजबाट भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित : आश्विन २३, २०७७ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?