कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेको पहिचान भइसकेको छ, पक्राउ गरी कारबाही गर्छौं : काठमाडौं प्रहरी प्रमुख 

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यायका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि चार दिनअघि विश्वविद्यालय परिसरमै आक्रमण गर्नेहरुको पहिचान भएको काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले बताएका छन् ।

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेको पहिचान भइसकेको छ, पक्राउ गरी कारबाही गर्छौं : काठमाडौं प्रहरी प्रमुख 

आक्रमणमा गम्भीर घाईते भएका चलाउने मेडिसिटी अस्पतालमा उपचाररत छन् । प्रहरीले घटनामा संलग्नलाई पहिचान गरी प्रक्राउ गर्न नसकेको भन्दै प्राज्ञिक क्षेत्रमा आलोचना भइरहेको छ । एसएसपी ज्ञवालीले भने पहिचान भएका व्यक्तिलाई प्रक्राउ गरेर कारबाही गरिने दावी गरे । ‘अहिले पनि आरोपितहरुको खोजी भइरहेको छ, नाम सार्वजनिक नगरौं, पीडितलाई जानकारी दिएका छौं, पक्राउ गरेर कारबाही हुन्छ,’ उनले कान्तिपुरसँग भने ।

आक्रमणकारीले प्रयोग गरेको मनिष कोइरालाको नाममा रहेको बुलेट मोटरसाइकल प्रहरीले बरामद गरिसकेको जनाएको छ । चलाउने समाजशास्त्र विभागका उपप्राध्यापक हुन् । मंगलबार विभागतर्फ जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो । बाँस र रडले उनलाई प्रहार गरिएको थियो । उनको दाहिने खुट्टा भाँचिएको छ भने टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उक्त मोटरसाइकल यसअघि पनि त्रिविमा हुने यस्तै घटनामा प्रयोग हुने गरेको प्राध्यापकहरु बताउँछन् ।

समाजशास्त्र विभागमा विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर ५२ दिनसम्म तालाबन्दी भएको थियो । विभाग लगायत विश्वविद्यालयमा तालाबन्दी नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले ताला फुटायो । नेविसंघका विद्यार्थीले तालाबन्दी गरेका थिए । राजनीतिक भागवण्डाको आधारमा युवराज लुईटेललाई विभागीय प्रमुख नियुक्त गरिएको उनीहरुको आरोप थियो । चलाउने लगायतका प्राध्यापक तालबन्दीको विपक्षमा थिए । विपक्षमा रहेकै कारण नेविसंघका त्रिवि इकाई अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावलले उनीहरुलाई धम्की र चेतावनी दिएका थिए । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले भने चलाउनेमाथिको आक्रमणमा नेविसंघको संलग्नता रहेको दावी गरेका छन् ।

समाजशास्त्र विभागले चलाउनेमाथि गरिएको आक्रमणको विज्ञप्ति प्रकाशित गरेर भर्त्सना गरेको छ । नेविसंघका विद्यार्थीले तालाबन्दी गरेको र सांघातिक आक्रमण गर्ने धम्की दिएको पृष्ठभूमिमा घटना घटेको प्रमुख लुईटेलले बताए । विभागले प्रशासनसँग आक्रमणकारीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ । विश्वविद्यालयजस्तो शैक्षिक केन्द्रमा यस्ता घटना हुनु दुखद रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले पनि घटनाको विरोध गरेका छन् । यी संगठनले अबिलम्ब दोषीलाई प्रक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् । दोषीलाई कुनै पनि बहानामा कारवाही नगरे कडा आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका हुन् ।

प्रकाशित : आश्विन २३, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?