१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कांग्रेस महाधिवेशन : आफ्नै कार्यकर्तालाई माओवादी बनाएर सदस्यता !

तत्कालीन माओवादी केन्द्रबाट पार्टी प्रवेश गर्नेको सूचीमा आफूहरुलाई राखिएको भन्दै सभापति देउवाको गृहजिल्लामा नेता–कार्यकर्ताको आपत्ति
‘विधि, प्रक्रिया र पद्धतिबाहिरबाट सदस्यता वितरण गरेर पार्टी कब्जा गर्ने नेतृत्वको मनसाय देखिन्छ । यसले संघर्षशील कार्यकर्ताहरुको तेजोबध भएको छ ।’
कुलचन्द्र न्यौपाने

काठमाडौँ — डडेलधुरा पर्शुराम नगरपालिका—१२ निवासी जनक थापा ‘जन्मजात’ कांग्रेस हुन् । उनका दिवंगत बुबा प्रेमसिंहलाई स्थानीयले प्रजातन्त्रका सेनानी मान्छन् । उनी तत्कालीन पर्शुराम गाविसका अध्यक्षसमेत भएका थिए । पार्टी संगठन र सामाजिक काममा सक्रिय उनले सशस्त्र द्वन्द्वका बेला धेरै कष्ट भोगेका थिए ।

कांग्रेस महाधिवेशन : आफ्नै कार्यकर्तालाई माओवादी बनाएर सदस्यता !

उनै प्रेमसिंहका छोरा जनक पनि कांग्रेसमा क्रियाशील छन् । तर उनलाई अहिले तत्कालीन माओवादी केन्द्रबाट पार्टी प्रवेश गर्नेको सूचीमा कांग्रेसले राखेको छ । ‘म बाई ब्लड कांग्रेस हुँ । मलाई माओवादी केन्द्रबाट कांग्रेस प्रवेश गर्नेको सूचीमा राख्दा छाँगाबाट खसेजस्तो भएँ । मेरो मानमर्दन गरियो । इतिहास मेट्ने प्रयास भयो,’ उनले कान्तिपुरसँग भने । केन्द्रीय सभापति शेरबहादुर देउवा धेरैपटक उनको घरमै बसेका छन् । ‘देउवा दाइले मेरो बुबालाई राम्रोसँग चिन्नुहुन्छ, बुबापछि मैले नै राजनीति गर्ने भनेर लागेको थिएँ । तर मलाई लाजमर्दो बनाइदिए,’ उनले भने ।

कृष्ण धामी नेविसंघ त्रिवेणी बुहमुखी क्याम्पस जोगबूढाका सभापति हुन् । उनलाई पनि माओवादी केन्द्रबाट प्रवेश गर्नेको सूचीमा राखिएको छ । ‘हाम्रो परिवार जन्मजात कांग्रेस हो । माओवादी केन्द्रबाट प्रवेश गरेको भनेर चरित्र हत्या गरियो,’ उनले भने, ‘आमन्त्रित केन्द्रीय सदस्य जनकलाल कलौनीलाई किन यस्तो गरेको भनेर प्रश्न पनि गरेँ । उनले जवाफ दिएनन् ।’ त्यस्तै समस्यामा पर्शुराम नगरपालिकाका नेविसंघ संयोजक वीरेन्द्र थापा पनि परेका छन् । आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै उनले क्षेत्रीय कार्यसमितिमा उजुरी दिएको बताए । ‘केन्द्रमा नेतृत्वमा को आउने भनेर नेताहरूको लुछाचुँडी छ । त्यसको सिकार हामी बन्नु त भएन नि,’ उनले भने ।

जिल्लामा तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता जनकलाल कलौनी ०७४ को चुनावताका कांग्रेस प्रवेश गरेका थिए । पार्टी सभापति देउवाले पछि कलौनीलाई पार्टीको केन्द्रीय आमन्त्रित सदस्य बनाए । महाधिवेशनको मुखमा गृहजिल्लाकै सभापति आफ्नो बिरोधमा देखिएपछि देउवाका लागि टाउको दुखाइ बनिरहेको थियो । जिल्ला सभापतिले क्रियाशील सदस्यता आफूअनुकूल वितरण नगर्ने भय देउवामा देखियो । त्यसैले उनले कलौनीलाई रोजे । कांग्रेसका स्थानीय नेता र कार्यकर्ताका लागि पार्टीको सदस्यता दिन रोकेर उनै कलौनीलाई ११ सय ७ जनाका लागि सदस्यता फाराम थमाइयो । फाराम माओवादी केन्द्रबाट कांग्रेस आउनेहरूका लागि मात्रै थियो । तर सूचीमा कांग्रेसमै सक्रिय रहेका तर पार्टीको सदस्यता लिई नसकेकाहरूकै नाम बढी छ ।

पार्टीको विधानअनुसार क्रियाशील सदस्यताको फाराम जिल्ला सभापतिबाहेकको संयन्त्रबाट दिन मिल्दैन । बुझाउँदा पनि जिल्ला सभापतिमार्फत हुनुपर्छ । तर डडेलधुराको हकमा विधान लागु भएन । कलौनीले सदस्यताको फाराम लिइसकेको केही केही समयपछि मात्रै जिल्ला सभापति थापालले पार्टी सदस्यता नवीकरण र वितरण गर्न फाराम दिइयो । जिल्ला सभापति थापाका अनुसार मुस्किलले ३/४ सय कार्यकर्ता मात्रै कांग्रेस प्रवेश गरेका थिए । तर कलौनीले केन्द्रमा ११ सय ७ जनाको नाम पेस गरे । ‘पार्टी कब्जा गर्न सकिन्छ कि भनेर यस्तो काम गरिएको होला,’ उनले भने ।

सदस्यता वितरण र नवीकरण वडा र गाउँ तहबाटै हुने भए पनि जिल्ला सभापति मुख्य हर्ताकर्ता हुन्छन् । ‘केन्द्रीय सभापतिले योग्य कार्यकर्ता छुटे सिधै सदस्यता दिन सक्ने वैधानिक व्यवस्था छ । माओवादीबाट प्रवेश गरेको सूचीमा कांग्रेसकै साथीहरूको नाम राखेर तेजोबध नगरेको भए हुन्थ्यो,’ एक पदाधिकारीले भने, ‘गृहजिल्लामा आफ्नो रोजाइको सभापति बनाउने चाहना केन्द्रका नेता सबैको हुन्छ । तर यतिसम्म नगरेको भए हुन्थ्यो ।’

डडेलधुरामा जस्तै तत्कालीन नयाँ शक्ति पार्टीका कार्यकर्ता समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता दिइएको आरोप इतरपक्षको छ । नयाँ शक्ति पार्टीबाट आएका कार्यकर्ताका लागि भन्दै रसुवामा १ हजार २ सय सदस्यता दिइएको छ । अखण्ड नेपाल र अखण्ड नेपाल समानान्तरका लागि १५–१५ सय सदस्यता दिइएको छ । १४ औं महाधिवेशनबाट पनि सभापतिमा देउवाले निरन्तरता चाहेका छन् । त्यसका लागि तलैबाट आफ्नो पकड मजुबुत बनाउन उनले दुई खालको रणनीतिबाट काम गरिरहेको बुझाइ इतरपक्षका नेताहरूको छ । पहिलो, पार्टीका तल्ला तहमा प्रभाव जमाएका स्थानीय नेताहरूलाई पद र जिम्मेवारी दिएर खुसी बनाउने । त्यसैका लागि उनले केन्द्रीय विभागको गठन गरेर करिब ९ सयलाई मनोनयन गरिसकेका छन् । विधानअनुसार ६ महिनाभित्र विभाग गठन गर्नुपर्छ । तर देउवाले नियमित कार्यकाल सकिएर महाधिवेशन घोषणा भइसकेपछि विधानअनुसार २८ वटा विभाग हुनुपर्नेमा ४७ वटा बनाएर धमाधम मनोनयन गरे ।

देउवाको दोस्रो नजर अन्य राजनीतिक दलबाट आएका नेता तथा कार्यकर्तामा छ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारदेखि राप्रपाबाट हालै कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापासम्मका नेतालाई उनले आफूतिरै खिचेका छन् । गच्छदारलाई उपसभापति बनाएका छन् । गच्छदारको समूहबाट ११ जना केन्द्रीय सदस्य छन् । महासमिति, महाधिवेशन प्रतिनिधिदेखि २५ हजार क्रियाशील सदस्य उक्त समूहले पाएको छ । अखण्ड नेपाल र अखण्ड नेपाल समानान्तर कांग्रेसमा विलय भएका छन् । रसुवामा चुनाव जितेका तत्कालीन नयाँ शक्ति पार्टीका प्रदेश सांसद (सांसद पद जाने अप्ठ्यारोले औपचारिक घोषणा गरिएको छैन) सहित समूह कांग्रेसमा आएको छ । उनलाई स्वागत गर्न शीर्षस्थ सबै नेता हेलिकप्टर चढेर रसुवा पुगेका थिए ।

चुनावताका सर्लाहीका जंगीलाल राय र शम्भुलाल श्रेष्ठ, कैलालीका मोहनसिंह राठौर, कपिलवस्तुका अभिशेषकप्रताप शाह, डोल्पाका कर्णबहादुर बूढा कांग्रेस प्रवेश गरेका थिए । उनीहरू क्रमशः तत्कालीन राजपा, एमाले, समाजवादी र राप्रपाबाट कांग्रेस आएका थिए । उनीहरूले केन्द्रीय कार्यसमितिमा प्रवेश पाइसकेका छन । उनीहरूका कार्यकर्ता समायोजनका लागि भन्दै ४/ ५ सयका दरले छुट्टै क्रियाशील सदस्यता दिन थालिएको छ । पछिल्लोपटक कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापाको समूहलाई कति दिने भन्नेबारे यकिन भएको छैन ।

सभापति देउवाले अन्य दलका पार्टी तथा नेताको समायोजनको नाममा क्रियाशील सदस्यतामा व्यापक धाँधली गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए । ‘विधि, प्रक्रिया र पद्धतिबाहिरबाट सदस्यता वितरण गरेर पार्टी कब्जा गर्ने नेतृत्वको मनसाय देखिन्छ,’ उनले भने, ‘यस्तो कार्यले पार्टीका संघर्षशील कार्यकर्ताहरूको तेजोबध भएको छ ।’

पार्टीका मुख्यसचिव कृष्ण पौडेलले भने अन्य दलबाट आएका नेता तथा कार्यकर्ता समायोजनका लागि विधिअनुसार नै सदस्यता दिइएको दाबी गरे । समायोजन समितिकै निर्णयअनुसार सदस्यता दिइएको उनको तर्क छ । ‘सदस्यता दिँदा केन्द्रीय कार्यसमितिमा नामको विवरण नै प्रस्तुत भएको छ । पेस गरिएको विवरणबाहेक कमा, फुलस्टप पनि परिवर्तन हुँदैन । केन्द्रमा बुझाइएको सूचीभन्दा दायाँबायाँ भए संख्या घट्छ, अनियमिता हुँदैन,’ उनले भने ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत सोमबार केन्द्रीय कार्यालयमा दर्ता गराएको ज्ञापनपत्रमा मुख्य गरी यही क्रियाशील सदस्यतालाई उठाइएको छ । पार्टीको स्रोत, साधन र अधिकार दुरुपयोग गरेर सभापतिले क्रियाशील सदस्यता वितरणमा धाँधली सुरु गरेको आरोप पौडेल पक्षको छ ।

नेता गगन थापाले क्रियाशील सदस्यताको वितवरण र नवीकरण प्रक्रियाले महाधिवेशन निष्पक्ष हुने/नहुने निर्क्योल हुने बताए । उनले सभापति देउवाले पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिएको ज्ञापनपत्रलाई सम्बोधन गर्न पहल गर्नुलाई सकारात्मक रूपमा लिएका छन् । देउवाले पौडेल पक्षले उठाएका मागमा छलफल गर्न शनिबार दुवै पक्षका नेताको बैठक राखेका थिए । निष्कर्ष ननिस्किँदै केन्द्रीय सदस्य, चालक र सुरक्षागार्डमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित भएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गते सारिएको छ । ‘क्रियाशील सदस्यता वितरण कसरी हुन्छ भन्नेमा प्रश्न छ । विधान, प्रक्रिया र पद्धति समातेर निर्णय गरियो भने अविश्वास हट्छ, महाधिवेशन पनि निष्पक्ष हुन्छ,’ थापाले भने, ‘पार्टी केन्द्रीय कार्यालयमा दर्ता भएको ज्ञापनपत्रलाई सभापतिज्यूले सम्बोधन गर्नुभएन र पहिलाजस्तै निर्णय गर्दै जान थाल्नुभयो बैठक बहिस्कार गर्ने, केन्द्रीय सदस्यबाट राजीनामा दिनेसम्मको घटना बढ्न सक्छ ।’

प्रकाशित : आश्विन २३, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?