सडकमै जान्छ बिरामीको ज्यान

स्तरोन्नतिका लागि सात वर्षअघि नै ठेक्का लागे पनि काम अधुरै
'सडक बढाउने भनेर लथालिङ्ग पारिएको छ, ठेकेदारले बेलैमा बनाइदिएको भए यसरी बिरामीको ज्यान जाने थिएन ।'
कृष्ण थापा, विमल खतिवडा

नुवाकोट, काठमाडौं — ककनी–६ स्यागुङगुम्बा धाराटोलका ३९ वर्षीय विनोद लामा गत असोज ८ मा मुटु दुखेर आलसतालस बने । जिल्ला अस्पताल त्रिशूलीभन्दा राजधानी काठमाडौं नजिक पर्ने भएकाले गाउँले र आफन्तले एम्बुलेन्स खोजे ।

सडकमै जान्छ बिरामीको ज्यान

हतारहतार राजधानी लाग्दै गर्दा एम्बुलेन्स ककनी–२ बाह्रमाइल सडकको दबदबेमा फस्यो । राति साढे ११ बजे फसेको एम्बुलेन्स निकाल्न ७ घण्टा लाग्यो । त्यतिन्जेलमा एम्बुलेन्सभित्रै लामाको प्राण गइसकेको थियो । दुई महिनाअघि पनि अस्पताल पुर्‍याउन ढिला हुँदा एक बिरामीको मृत्यु भयो । ‘सडक बढाउने भनेर लथालिङ्ग पारिएको छ, ठेकेदारले बेलैमा सडक बनाइदिएको भए यसरी बिरामीको ज्यान जाने थिएन,’ ककनी–४ थुरेथुमका दिलबहादुर लामाले भने ।

ककनी–४ सिस्नेरीनेर सडकमा ठूलो ढुंगा झरेकाले सवारीसाधन आउजाउमा समस्या छ । आफूहरूले पन्छाउन निकै कोसिस गरे पनि नसकेको स्थानीय बताउँछन् । नुवाकोट र रसुवालाई काठमाडौंसँग जोड्ने यो पुरानो सडकमा खाल्डैखुल्डी धेरै छन् । पानी पर्नासाथ सडक हिलाम्य हुन्छ । ठेकदारले बालाजु–त्रिशूली सडकअन्तर्गत काठमाडौंको बालाजुदेखि नुवाकोटको पीपलटारसम्म स्तरोन्नति (पिच) गर्न ०७०/७१ सालमै जिम्मा लिए पनि काम पूरा नगर्दा उक्त सडक भएर आउजाउ गर्नेहरूले सास्ती व्यहोर्नुपरेको हो । ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाले सडक लथालिङ्ग हुँदा आफूहरूले स्थानीयबाट धेरै गाली खानुपरेको बताए । ‘ठेकेदारलाई बारम्बार भनिरहेका छौं तर काम नै गर्दैनन्,’ उनले भने, ‘हामी आजित भइसकेका छौं ।’

बालाजु–त्रिशूली सडक पासाङ ल्हामु मार्गमा पर्छ । पीपलटार–रानीपौवा सडकको ठेक्का दिनेशचन्द्र अग्रवाल–नागार्जुन–कोसी एन्ड न्यौपाने जेभीले लिएको हो । उक्त सडक स्तरोन्नतिका लागि ०७१/७२ मा ४० करोड रुपैयाँमा ठेक्का लागेको थियो । उक्त कम्पनीले जरिवानाबाट जोगिन गत असार ९ गते एकतर्फी ठेक्का तोडेको छ । ठेकेदारले काम रोक्न असार ११ गते उच्च अदालत पाटनबाट आदेशसमेत लिएका थिए । ‘यो सडक खण्डमा हामीले बोल्ने ठाउँ छैन,’ रानीपौवा–मुड्खु सडक आयोजनाका प्रमुख निरज शर्माले भने, ‘मुद्दा विचाराधीन छ ।’

यो खण्डको प्रगति ४० प्रतिशत मात्र छ । अघिल्लो वर्ष बनाएका सडकका नाली भत्किसकेका छन् । मोड काटिसक्न बाँकी छ । मोड र भित्ता काटिएको स्थानमा सानाठूला पहिरो खसेका छन् । पहिरो पन्छाइएको छैन । पीपलटार–रानीपौवा ३४ किमि छ । ट्राउट हाइवेका रूपमा चिनिने उक्त सडक निर्धारित समयमा नबन्दा व्यवसायमा समेत असर परेको स्थानीय बताउँछन् । सडककै कारण ग्राहक नआएपछि जुरेथुम पैंतीस किलोमा व्यापार व्यवसाय ठप्प हुन लागेको सुन्दर स्टाफ होटलका सञ्चालक सुन्दर खड्काले बताए । ‘सडककै कारण व्यापार घट्यो,’ उनले भने, ‘हाम्रो सुनुवाइ कतै भएन ।’

नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले आफूले ठेकदारलाई काम लगाइसकेको दाबी गरे । काठमाडौं सीमामा पर्ने पाँचमानेदेखि बालाजु सडकखण्डको पिप्लेदेखि मुड्खुसम्म ठेकेदारलाई ८/९ ठाउँमा पिच गर्न भनेर ग्राभेल झार्ने काम मात्र भएको छ । दुई ठाउँमा नाली बनाइएको छ । सडकमा खाल्डाखुल्डीले आहाल बन्ने गरेको छ । रानीपौवा–बालाजु सडकखण्ड २०.६ किलोमिटर छ ।

फाइल तस्बिर

काठमाडौं मुड्खुदेखि रानीपौवासम्मको ठेक्का शैलुङ र भारतीय कम्पनी एआईपीएलले लिएको हो । आर्थिक वर्ष ०७०/७१ मा ठेक्का सम्झौता भए पनिअहिलेसम्म ५० प्रतिशत मात्र काम भएको छ । उक्त सडक स्तरोन्नतिको लागत अनुमान ३० करोड रुपैयाँ हो । रानीपौवा–मुड्खु आयोजनाका अनुसार ठेकेदारले ४५ प्रतिशत रकम लिइसकेको छ । ‘अहिले फेरि काम सुरु गरेका छन्,’ आयोजनाका प्रमुख शर्माले भने, ‘काम गर्न दबाब दिएपछि दसैंतिहारपछि कामको गति बढाउने वाचा गरेका छन् ।’

ठेकेदारले नुवाकोटतर्फ केही काम गरेका छैनन् । बालाजु–त्रिशूली सडकको ट्र्याक ६ दशकअघि त्रिशूली जलविद्युत् आयोजना निर्माण क्रममा खोलिएको हो । यी सडकको स्तरोन्नति भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सुरु गरिएको हो । पूर्वसचिव तुलसी सिटौला समयमा काम नगर्ने र गराउन नसक्ने दुवै पक्षमा समस्या देखिएको बताउँछन् । ‘नुवाकोट जोड्ने सडकसँगै ठेक्का भएका अन्यत्रको काम सकियो, तर यता काम नै भएको छैन,’ उनले भने, ‘यसको कारण मनोमानी नै हो ।’

किन हुँदैन कारबाही ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक, रेल तथा जल यातायात पूर्वाधार विकासका लागि आर्थिक वर्ष ०७६/७७ मा १ खर्ब ६३ अर्ब ५२ करोड बजेट विनियोजन भएको थियो । १ खर्ब २७ अर्ब १३ करोड १६ लाख ७६ हजार रुपैयाँ सडक पूर्वाधारतर्फ विनियोजन भएको थियो  । जसमध्ये ६९ अर्ब ४९ करोड १७ लाख ४ हजार रुपैयाँ मात्र बजेट खर्च भएको छ  । यो कुल बजेटको ५४.६६ प्रतिशत हो  । भौतिक प्रगति पनि ६५ प्रतिशत मात्र छ । विगतको तुलनामा यो खर्च निकै कम हो । गत आवमा १२ सय किमि सडक कालोपत्र गर्ने लक्ष्य थियो । ३ सय ५२ किमि स्तरोन्नति र ७ सय २९ किमि नयाँ पिच भएको छ । १४ हजार ९ सय १३ किमि सडक विभागले हेर्छ । ‘अन्य सानातिना सडक पनि हामीले हेरिरहेका छौं,’ सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले भने, ‘यो वर्ष १३ सय किमि सडक पिच गर्ने लक्ष्य छ ।’

उनका अनुसार वर्षमा औसत १ हजार किमि पिच हुँदै आएको छ । चालु आवमा भौतिक मन्त्रालयअन्तर्गत १ खर्ब ३४ अर्ब ७९ कारेड ९४ लाख विनियोजन भएको छ । जसमा बढी बजेट सडक पूर्वाधारमा छ । ‘जसले समयमै काम गर्दैन, उसको ठेक्का तोड्नुको विकल्प छैन,’ सापकोटाले भने, ‘ठेक्का सम्झौताअनुसार कारबाही पनि हुन्छ ।’ तर अहिले कोभिड–१९ का कारण आक्रामक रूपमा अघि बढ्न गाह्रो रहेको उनले बताए । ‘काम गर्ने वातावरण नहुँदा गर–गर भन्नु पनि मिलेन,’ उनले भने ।

लामो समयदेखि ठेक्का लिएर समयमै काम नसक्दा रुग्ण बनेका सडक २२ सयभन्दा बढी छन् । तीमध्ये करिब १५ सय ठेक्का सडक विभागअन्तर्गत पर्छन् । उपत्यका र आसपासका जिल्लाको सडक स्तरोन्नतिको सबैभन्दा बढी ठेक्का शैलुङ कन्स्ट्रक्सनले लिएको छ । जसका प्रमुख शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरभेटी हुन् । शैलुङले लिएका प्रायः ठेक्का अलपत्र छन् ।

प्रकाशित : आश्विन २३, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?