मुसामा कोरोना अध्ययन गर्दै नेपाली वैज्ञानिक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसामा कोरोना अध्ययन गर्दै नेपाली वैज्ञानिक

कोरोनाको परिवारमा पाइने मर्स, सार्स भाइरसविरूद्ध जडीबुटी प्रयोग भए पनि कुन कति प्रभावकारी छन् भन्ने अनुसन्धानले पुष्टि गर्ने
गोविन्द पोखरेल

काठमाडौँ — कुन–कुन प्रकारका जडीबुटी सेवन गर्दा कोरोना संक्रमितको शरीरमा प्रतिरोधात्मक क्षमता विस्तार हुन्छ भन्ने विषयमा नेपाली वैज्ञानिकहरूले मुसामाथि अध्ययन गर्ने भएका छन् । मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न जडीबुटीका १ सय ३६ वटा यौगिक पत्ता लागेका छन् । तीमध्ये ९३ वटा यौगिक कोरोना प्रजातिका अन्य भाइरस संक्रमण हुँदा प्रयोग भएको पाइएको छ ।

यी यौगिकमा पनि कुन कुन कोरोना प्रतिरोधी क्षमता बढाउने हुन् भन्ने पत्ता लगाउन त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्रका केन्द्रीय विभागका अनुसन्धानकर्मी जुटेका हुन् ।

मुसामा कोभिड–१९ का (आरएनए वा प्रोटिन) संक्रमण गराएर प्रतिरोधात्मक क्षमता बढाउने रसायन प्रयोग गर्दै त्यसले रोगसँग कसरी लड्छ भन्ने अध्ययन गरिनेछ ।

अनुसन्धानमा विभाग प्रमुख प्रा.डा. रामचन्द्र बस्न्यात नेतृत्वको अनुसन्धानकर्ताको समूहमा डा. खगराज शर्मा, डा. विष्णुप्रसाद मरासिनी, डा. मदनकुमार पौडेल, विनोद रायमाझी, सरोज बस्नेत र करन खडायतलगायत सहभागी छन् । डा. अच्युत अधिकारी प्राविधिक र प्रा.डा. निरञ्जन पराजुली वैज्ञानिक सल्लाहकार रहेको यो अनुसन्धान एक वर्ष अवधिको छ ।

‘१ सय ३६ वटा यौगिकहरूको अनुसन्धान गरेर कोरोना लाग्दा कुन यौगिक (पाइने जडीबुटी) प्रयोग गर्न सकिन्छ भन्ने पत्ता लगाउनका लागि छुट्टै परीक्षण आवश्यक भयो,’ डा.पराजुलीले भने, ‘कोभिड गराइएको मुसामा प्रयोग गरेपछि त्यो पक्कै पत्ता लाग्छ ।’

आयुर्वेद तथा अन्य वैद्यहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै प्रयोग गर्न दिने परम्परागत जडीबुटीको कुन रसायनका हितकारी भन्ने पनि यो अनुसन्धानले प्रस्ट्याउने उनले बताए । ‘गुर्जोको झोलमा सयौं मोलिकुलसहरू छन् । तर गुर्जोमा पाइने कुन मोलिकुलसले कोरोनाका बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता विस्तार गराउन मद्दत पुर्‍याउँछ भन्ने रिपोर्ट हाम्रो अनुसन्धानले बाहिर ल्याउनेछ,’ उनले भने । विश्वविद्यालय अनुदान आयोगले यो अनुसन्धानका लागि १ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

नेसनल कलेजका बायो टेक्नोलोजी विभाग प्रमुख मरासिनी जडीबुटीको प्रयोगले कोरोना संक्रिमतहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउने बताइए पनि त्यसको ठोस प्रमाण आइनसकेको बताउँछन् । कोरोनाको परिवारमा पाइने मर्स, सार्स भाइरसविरुद्ध जडीबुटी प्रयोग भए पनि कुन कति प्रभावकारी छन् भन्ने कुरा अनुसन्धानले पुष्टि गर्ने उनको भनाइ छ ।

अनुसन्धानका क्रममा कम्प्युटरमै भाइरसको मोडल बनाएर जडीबुटीका यौगिकहरूका बनावटसँग म्याच गराइन्छ । यसका लागि विशेष प्रकारको सफ्टवेयर प्रयोग हुनेछ । वैज्ञानिकको समूहले भाइरस (कोरोना) लाई कसरी शरीरभित्र छिर्न नदिने, शरीरमा पसेको भाइरसलाई कसरी वृद्धि गर्न नदिने र रोग प्रतिरोधात्मक क्षमताको विस्तारसम्बन्धी अनुसन्धान गर्दै छ । दुइटा अनुसन्धानका लागि कम्प्युटर विधि अपनाएर नतिजा निकाले पनि प्रतिरोधात्मक क्षमताको अनुसन्धानका लागि भने मुसामा परीक्षण गरिनेछ । ‘हामी ३ वटा विधिबाट अनुसन्धान गर्दै छौं,’ उनले भने, ‘भाइरसलाई शरीरभित्र पस्न नदिने र वृद्धिदर रोक्नका लागि उपलब्ध यौगिकहरूलाई म्याच गराइनेछ । तीमध्ये कसले धेरै एन्टिबडी उत्पादन गर्छन्, हामी त्यही प्रयोग गर्न सझुाव दिन्छौं ।’

कम्प्युटर विधिबाट पत्ता लागेका प्रतिरोधात्मक क्षमता विस्तार गर्न सक्ने यौगिकहरूलाई मुसामा प्रयोग गरिने छ । त्यसको दुई दिनपछि कोरोना भाइरसका आरएनए वा प्रोटिन (भाइरसका भागहरू) मुसामा लगाइन्छ । त्यसपछि मुसाले कति मात्रामा एन्टिबडीको उत्पादन गर्‍यो भन्ने थाहा हुन्छ । जुन यौगिक प्रयोग गर्दा धेरै एन्टिबडी उत्पादन भएको पाइन्छ, त्यही यौगिक पाइने जडीबुटी प्रयोग गर्न सुझाव दिइने डा. पराजुलीले बताए । ‘कोभिड–१९ लाग्दा रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै प्रयोग भइरहेका जडीबुटीमा पाइने यौगिक कतिको प्रभावकारी छन् भनेर पत्ता लगाउनु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘मुसामा गर्न लागिएको परीक्षणले हितकारी जानकारी बाहिर ल्याउनेछ ।’

अनुसन्धानमा मुसा नै किन ?

मानिसमा प्रयोग हुने औषधिको भ्याक्सिन तथा खोप निर्माण पूर्व विभिन्न क्लिनिकल ट्रायलका क्रममा संसारभर वैज्ञानिकहरू प्रायः मुसामा प्रयोग गर्छन् । हरेक स्तनधारी जीवमा रोगविरुद्ध प्रतिरोधात्मक क्षमता हुन्छ । मुसा स्तनधानी जीव हुनुका साथै शरीरका विभिन्न प्रणालीहरू मानिससँग मिल्दोजुल्दो भएकाले अनुसन्धानमा प्रयोग गरिएको डा. मरासिनीले बताए । ‘जीवनचक्र छोटो र आकार सानो हुने भएकाले यसलाई सजिलैसँग ल्याबमा राख्न मिल्छ,’ उनले भने । यो अनुसन्धानमा स्विस एल्बिनोलगायतका मुसाको प्रयोग गरिने उनले बताए ।

मुसामा प्रतिरोधी क्षमता अनुसन्धान सम्बन्धीको परीक्षण एक महिनामा सकिने भनिए पनि कम्प्युटेसनल मोडलिङमा धेरै समय लाग्ने अनुमान छ । अनुसन्धानकर्ताहरूले रसायनशास्त्र विभागको लेभल २ वा ३ को बायो सेफ्टी ल्याबमा मुसाको परीक्षण गर्नेछन् । विभागमा भएको लेभल १ ल्याबलाई स्तरोन्नति गरेर लेभल २ वा ३ को बनाइनेछ । कम्प्युटर मोडलिङबाट कोरोनाका लागि प्रयोग हुन सक्ने सम्भावित जडीबुटीजन्य रसायनको पहिचान भएपछि त्यो मुसामा हालिन्छ ।

‘हामीले १ सय ३६ वटा यौगिक लिएर अनुसन्धान गर्दै छौं । कम्प्युटर मोडलिङबाट आउने उत्कृष्ट १० देखि २० सम्मका यौगिकहरू हामी प्रयोग गर्छौं,’ डा. पराजुलीले भने, ‘मानौं ए नाम गरेको यौगिक हालेपछि उक्त मुसाले कति मात्रामा एन्टिबडी उत्पादन गर्छर् भन्ने थाहा हुन्छ । जुन यौगिकका प्रयोग गर्दा धेरै मात्रामा उत्पादन गर्छ त्यही सम्भावित निष्कर्ष हुन्छ ।’

प्रकाशित : आश्विन २३, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

के बाघहरू मान्छे खोज्दै आक्रमण गर्छन् ?

आफ्ना लागि विचरणको निश्चित क्षेत्र तोक्ने बाघहरू चितुवा जसरी मान्छेका घरघर बसेर आक्रमण गरेका घटना छैनन् । आहारा नजिक पुगेका, आफूलाई बाधा पुर्‍याएका र अशक्त भएर आहारा प्रजाति सिकार गर्न नसकेका बेला भने बाघले कसैलाई बाँकी राख्दैन ।
गोविन्द पोखरेल

काठमाडौँ — कसैले ‘बाघले मान्छे भेट्टायो भने खाइहाल्छ नि’ भन्दा हामी सामान्य रूपमा लिन्छौं । वास्तविकता भने केही फरक छ । मान्छे बाघको आहारा प्रजाति होइन । बाघले विरलै मात्र मान्छेको सिकार गर्छ । बाघलाई मान्छे खान बाध्य बनाउनेचाहिँ मान्छे स्वयं नै हो । बाघले गाउँघरमै आएर मानिसलाई आक्रमण गरेका घटना निकै न्यून छन् । जति गरेको छ जंगलभित्रै ।

गत सोमबार हात्तीलाई घाँस काट्न जंगल गएका रत्ननगर–६ बछौलीका बभना चौधरीले बाघको आक्रमणमा परी ज्यान गुमाए । चितवन निकुञ्जका अनुसार मारेर ल्याएको चित्तल बाघले खान लाग्दा चौधरी नजिक पुगेका थिए । बाघले रिसाएर आक्रमण गर्दा चौधरी मारिएका हुन् । यसअघि असोज १० मा भरतपुर–१३ पटिहानीका जन्छु महतोलाई मार्ने बाघ बूढो, घाइते र अशक्त भएको चितवन निकुञ्जले जनाएको छ ।

बाघ कति बेला नरभक्षी हुन्छ ? अध्ययनकर्ताहरूका अनुसार जब बूढो हुन्छ, सिकार गर्न सक्दैन, घाइते हुन्छ वा मानिसले आएर उसलाई बाधा पार्छ, ऊ आक्रामक हुन्छ । गत मंगलबार रौतहटको चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी बाघको आक्रमणमा मारिए । नेपालमा हालसम्म देखिँदै आएका घटनामध्ये यो अलि फरक थियो । डाले घाँस काट्न जाँदा वनभित्रै हराएका भण्डारीलाई भोलिपल्ट गाउँलेहरू जब खोज्न निस्किए, पत्ता लाग्यो बाघले मारेर आधै खाइसकेको थियो ।

रौतहटको घना वन क्षेत्रमा देखिएको यो बाघका बारेमा नेपालका अध्ययनकर्ताहरू विगतको ट्र्याक रेकर्ड नभएको बताइरहेका छन् । जैविक विविधतामाथि अनुसन्धान गर्दै आएका रिसोर्स हिमालय फाउन्डेसनका प्रमुख कार्यक्रम अधिकृत डा. दिनेश न्यौपाने बाघको बासस्थान कम हुँदा र सीमित क्षेत्रभित्र साँघुरिएर बस्नुपर्ने अवस्था आउँदा यस्ता घटना बढेको बताउँछन् । ‘क्षेत्र निर्धारण गरेर बस्ने प्रजाति भएकोले निकुञ्जको एउटै भेगमा साँघुरिएर बस्नुपर्दा बाघ आहाराको खोजी गर्ने क्रममा मध्यवर्ती वनसम्म पुग्छन्,’ उनले भने, ‘यही कारणले उनीहरूको मानिससँग जम्काभेट हुन्छ अनि आक्रमण गर्छन् ।’

चितवन निकुञ्जमा बाघले धान्न सक्ने अध्ययन भएको छ । ‘निकुञ्जले १ सय ३६ वटासम्म बाघ थेग्न सक्छ भनिएको छ,’ उनले भने, ‘सीमित क्षेत्रमा हुँदा उनीहरूबीच प्रतिस्पर्धा बढ्छ । आहारा नभेटेपछि उनीहरू मध्यवर्ती जंगल आसपास पुग्दा द्वन्द्व बढेको हो ।’ सन् २०१३ मा १ सय २० वटा बाघ भएको चितवन निकुञ्जमा २०१८ को गणनामा ९३ वटा मात्रै रहेको पाइएको थियो ।

बाघमा विधावारिधि गरेका सदर चिडियाखानाका प्रमुख चिरञ्जीवी पोखरेल मुख्यतः विचरण क्षेत्र, आहार प्रजाति र उमेरका कारणले बाघले मानिसलाई आक्रमण गर्ने बताउँछन् । ‘बाघ क्षेत्र निर्धारण गर्ने प्रजाति हो, टेरिटोरीलाई लिएर बाघहरूबीच लडाइँ हुँदा बस्ती नजिकैको जंगलमा पुग्न सक्छन्,’ उनले भने, ‘अर्को कारण भनेको बूढो हुँदै जाँदा सिकार गर्ने बल घट्छ, जे सजिलै भेटिन्छ त्यो मार्छन् ।’ आफू बस्ने क्षेत्रमा आहार प्रजातिका वन्यजन्तु घटेपछि भोकाएर बाघ बाहिर निस्कने उनले बताए । ‘मान्छेलाई आक्रमण गरेर स्वाद लिएको बाघले फेरि पनि आक्रमण गर्छ,’ उनले भने ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता हरिभद्र आचार्य मानव–बाघ द्वन्द्व बढ्नुमा मानिसकै कारण औंल्याउँछन् । ‘द्वन्द्व बढ्नुमा एउटै कारण हो, स्रोतको उपभोग अर्थात् जंगल,’ उनले भने, ‘बाघको बासस्थानमा मानिसले उपयोग गर्न खोजेपछि द्वन्द्व बढेको छ ।’ बाघले डमरु हुर्काएपछि त्यसलाई चाहिने बासस्थान तथा क्षेत्र निर्धारणका क्रममा गाउँ नजिकैका जंगलसम्म पुग्ने भएकाले पनि द्वन्द्व बढेको उनले बताए । द्वन्द्व कम गराउनका लागि बासस्थान सुधार गर्दै आहारा प्रजाति बढाउने र पानीको स्रोत व्यवस्थापनका कार्यहरू विभागले गरिरहेको उनले बताए ।

यो द्वन्द्व न्यूनीकरणका उत्तम उपाय भनेकै जनचेतना रहेको उनले बताए । मानिसद्वारा सिर्जित समस्या भएकाले मानिसले नै हल गर्नुपर्ने उनी बताउँछन् । बाघले कतिबेला कुन समयमा सक्रिय हुने आक्रमण गर्न सक्ने जस्ता अध्ययन तथा जानकारी बफर क्षेत्रका मानिसहरूलाई दिन सके यसले द्वन्द्व घटाउन सक्ने पोखरेलले बताए ।

चम्पावत बघिनी जसले ४३६ जनालाई खाई

ब्रिटिसकालीन भारतीय कर्णेल जिम कोर्बेटले मानिस खाने सयौं बाघलाई मारे । कुमाउ–गढवाल क्षेत्रमा सन् १९०७ देखि १९३८ सम्म मान्छे खाने धेरै बाघ उनले मारे । सन् १९४४ मा उनको ‘मेन इटर्स अफ कुमाउँ’ पुस्तक प्रकाशित भएको थियो । उत्तर प्रदेशका करिब एक दर्जन मानिस खाने बाघको सिकार घटनासँग समावेश उनको उक्त किताबमा नेपालमा जन्मिएर भारतको चम्पावतमा आतंक मच्चाएकी ‘चम्पावत बघिनी’ को घटना पनि समावेश छ ।

नेपालका करिब २ सय कृषकहरूलाई मारेपछि यो बघिनीलाई सन् १९०० को सुरुतिर भारततर्फ लेखेटिएको थियो । कुमाउमा बस्न थालेपछि यसले चम्पावतका गाउँलेलाई मारेको थियो । सन् १९०७ मा कोर्बेटलाई यसको आतंक रोक्नका लागि मार्ने जिम्मा दिइयो । कोर्बेटले करिब ४ वर्ष लगाएर गाउँलेको सहयोगमा यसलाई मारे । उनले यो बघिनीलाई ३ पटक गोली हानेर मारेका थिए ।

मारिसकेपछि कार्बोटले बघिनीको शरीर हेर्दा थाहा पाए कि ऊ कुनै बेला मानिसबाटै आक्रमणमा परेकी थिई । बघिनीको थुतुनोमा गोली लागेको पुरानो घाउ थियो । घाइते भएकाले अन्य जीव तथा आफ्नो प्राकृतिक आहारालाई आक्रमण गर्न नसक्ने अवस्था आएपछि सहज हुने मानिसलाई आक्रमण गर्न थालेको खुलेको थियो । संरक्षणकर्मी हेमन्त मिश्रद्वारा लिखित ‘बोन्स अफ द टाइगर : अफ मेन इटिङ टाइगर्स एन्ड टाइगर इटिङ मेन’ पनि यो घटनाबारे चर्चा गरिएको छ । यो बघिनीले ४ सय ३६ जनालाई खाएको पुस्तकमा उल्लेख छ ।

चम्पावत बघिनीपछि नेपाल–भारत सीमा क्षेत्रमा ८६ वर्षपछि अर्को खतरनाक नरभक्षी बाघ देखा पर्‍यो । त्यो बाघकाे नाम ‘बैतडी मेन इटर’ दिइएको थियो । यो घटना पनि चम्पावतसँगै केही मिल्छ । यो भाले बाघले सन् १९९७ मा बैतडीका विभिन्न १० वटा गाउँमा १० महिनाको अवधिमा सय जनाभन्दा बढीलाई मारेको थियो । मारिनेमा अधिकांश बालबालिका रहेको मिश्रको पुस्तकमा उल्लेख छ । बैतडीको उक्त हिंस्रक बाघलाई तत्कालीन जिल्ला प्रशासन कार्यालयको आदेशमा गोली हानेर मारियो । मान्छे खानुअघि यो बाघ मानिसहरूबाटै आक्रमणमा परी घाइते पारिएको थियो ।

बाघ-मानवद्वन्द्वका लामो श्रृंखला

प्रकृतिविद् माइकल ब्राइटको ‘मेन इटर्स’ पुस्तकमा दक्षिण एसियामा विगत चार सय वर्षको समयमा १० लाख मानिसहरू बाघको आक्रमणमा परी मरेको उल्लेख छ । सन् १९२२ मा बाघको आक्रमणमा परी दक्षिण एसियामा १६०० जना मानिसहरूको ज्यान गएको थियो । भारतको मुम्बईमा सन् १८२२ मा बाघको आक्रमणमा परी ५ सय जनाले ज्यान गुमाएको पुस्तकहरूमा उल्लेख छन् ।

भारतमा इस्ट इन्डिया कम्पनीको शासन सुरु भएयता मलायाको जंगल फँडानी सुरु भयो । मानिसहरूका बस्ती विस्तार हुन थाले । बासस्थान विनाश हुँदै गएपछि बाघको आक्रमण पनि बढ्न थाल्यो । सन् १८४० मा बाघको आक्रमण परी वार्षिक २ सयदेखि ३ सय मानिसहरू मारिएको मिश्रले विभिन्न स्रोतलाई उल्लेख गर्दै आफ्नो पुस्तकमा लेखेका छन् । मानिसमाथि दिनहुँ आक्रमण बढेपछि पासो थापेर र गोली हानेर बाघ मार्न थालियो । पछि सन् १९३० को दशकमा सिंगापुरबाट बाघ लोप भइसकेको थियो ।

नेपालमा पनि बाघ मार्ने र बाघबाट मारिने घटनाहरू धेरै छन् । सन् २००८ मा बायोलोजिकल जर्नलमा प्रकाशित भीम गुरुङको अनुसन्धानात्मक आलेखअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १९७९ देखि २००६ सम्म ८८ जना मानिसहरूले बाघको आक्रमणमा परी ज्यान गुमाएका छन् । उनीहरूलाई ३६ वटा बाघले आक्रमण गरेको थियो ।

मारिने अधिकांश मानिसहरू मध्यवर्ती क्षेत्रको एक किलोमिटरभित्रका जंगलमा घटनाहरू भएका थिए । १९९४ देखि २००७ सम्म बर्दिया राष्ट्रिय निकुञ्जमा १२ जना मानिस बाघद्वारा मारिएका र ४ जना घाइते भएका थिए । युरोपियन जर्नलमा अफ वाइल्ड लाइफ रिसर्चमा सन् २०१९ मा प्रकाशित रिपोर्टका अनुसार बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा सन् १९७९ देखियता ३४ वटा बाघ मान्छेसँगको द्वन्द्वका कारण मारिएका छन् ।

प्रकाशित : आश्विन १८, २०७७ १४:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×