वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल नियुक्त

सुरज कुँवर

काठमाडौँ — सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेललाई नियुक्त गरेको छ ।

वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल नियुक्त

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले असार १५ गते निगमको संचालक समितिको बोर्डमा सदस्य नियुक्त भएका पौडेललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

निगमका लागि दुइटा वाइडबडी जहाज खरिद गर्ने सुगतरत्न कशांकार ०७६ जेठमा चार वर्षे कार्यकाल सकेर गएपछि निगमको महाप्रबन्धक पद रिक्त थियो । त्यसपछि निगमको नेतृत्व कार्यकारी अध्यक्ष मदन खरेलले सम्हालेका थिए । उनीपछि हाल पूर्वसचिव सुशील घिमिरे कार्यकारी अध्यक्ष थिए ।

‘चार वर्षका लागि महाप्रबन्धको जिम्मेवारी दिइएको थाह पाएँ,’ बिहीबार राति पौडेलले कान्तिपुरसँग भने । हाल नेकपाको उद्योग व्यवसायी महासंघ सचिवालय सदस्य रहेका पौडल २०५३ मा तत्कालीन एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका नवलपरासी जिल्ला अध्यक्ष थिए ।

बेलायतबाट चार्टर्ड एकाउन्टेन्ट (एसीसीए) अध्ययन गरेका पौडेल निगमको बोर्ड सदस्यमा मनोनीत हुनुअघि चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक र ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत थिए । उनी दिव्या हर्वासिटिकलका अध्यक्षसमेत हुन् । पर्यटनमन्त्री योगेश भट्टराई प्रसार विभाग प्रमुख हुँदा उनी सदस्य थिए ।

त्यसैगरी पौडेल पोखराको बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सिज् प्रालिका प्रमुख कार्यकारी अधिृकत थिए । नक्सालमा रहेको यो कम्पनीले नेपालभर भारतीय कम्पनी आइचरका चार पाङ्ग्रे सवारी साधान बिक्रीको जिम्मा लिएको छ । पौडेलले असोज १ गतेबाट उक्त कम्पनीमा राजीनामा दिइसकेको बताए ।

गत साउनमा पर्यटनमन्त्री भट्टराईले गठन गरेको ‘नेपाल वायुसेवा निगम सुझाव कार्यदलमा पौडेल ५ जनामध्येका एक थिए । पूर्वसचिव सुशील घिमिरेको नेतृत्वमा गठन गरिएको कार्यदलले असोजमा पर्यटनमन्त्री भट्टराईलाई प्रतिवेदन बुझाएको थियो ।

प्रधानमन्त्री केपी ओलीले कशांकार महाप्रबन्धक छँदै झापाका मदन खरेललाई ०७५ भदौमा ४ वर्षका लागि कार्यकारी अध्यक्ष पद दिएका थिए । तर, खरेलले ०७६ माघमा राजीनामा दिएपछि मन्त्री भट्टराईले यसै कार्यदलको नेतृत्व गरेका पूर्वसचिव घिमिरेलाई वैशाख २ गते कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए ।

अब निगमका कार्यकारी अध्यक्ष घिमिरे संचालक समितिका अध्यक्ष मात्र रहने छन् । उनलाई वैशाखमा नियुक्ति दिँदा कार्यकाल तोकिएको थिएन ।

प्रकाशित : आश्विन २२, २०७७ २२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?