यातायातको भाडा बढाए पनि रोकिएन ठगी

सरकारले ५० प्रतिशत भाडा वृद्धि गरे पनि लामो दुरीका सवारीसाधनमा यात्रुबाट व्यवसायीले थप रकम असुल्दै आएका छन्
मातृका दाहाल

काठमाडौँ — काठमाडौंबाट जनकपुर जान बुधबार साह थरका एक यात्रुले कोटेश्वरस्थित मितेरी यातायातको काउन्टरबाट टिकट काटे । काउन्टरमा ५ सय रुपैयाँ बुझाए । बाकी रकम गाडीमै दिन भनेर टिकटमै बाँकी ७ सय लेखियो ।

यातायातको भाडा बढाए पनि रोकिएन ठगी

जनकपुर जाने गाडी नम्बर थियो ८७३८ । टिकट र गाडीको चाँजो मिलाएर यात्रु काउन्टरबाट बाहिर निस्किए । केहीबेरमै सादा पोसाकका ट्राफिक प्रहरीले अघि टिकट काट्ने व्यक्तिलाई नियन्त्रणमा लिइहाले । प्रहरीसँग साह थरमा टिकटवाला व्यक्ति पनि थिए । ट्राफिक प्रहरी उनी यात्रु बनेर काउन्टर पुगेका थिए । त्यसपछि नियन्त्रणमा लिइएका व्यक्ति हतास मात्रै भएनन्, आफूलाई छोडिदिन आग्रह गरे । तर प्रहरीले बढी भाडा असुलेको कसुरमा कारबाही चलाइने जानकारी दियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ती व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवानाका साथै पहिलोपल्ट भएकाले सचेत गराएर छाडियो । बढी भाडा असुली सम्बन्धी यस्तै किसिमका घटना बुधबार अन्य ४ ठाउँमा पनि भए । मंगलबार पनि ४ स्थानका टिकट काउन्टरबाट बढी भाडा असुल्ने ४ जना पक्राउ परेका थिए । कोटेश्वर, बल्खु, कलंकी, चाबहिल र गौशालालगायत स्थानका टिकट काउन्टरबाट २ दिनमा ९ जना पक्राउ परिसकेका छन् ।

सरकारले असोज १ गतेबाट लागू हुने गरी सार्बजनिक सवारीसाधनमा ५० प्रतिशत भाडा वृद्धि गरेको छ । भदौ २९ को मन्त्रिपरिषद्‌को बैठकले कोरोना महामारीका कारण लामो समय सञ्चालनमा नआएका सवारीमा अर्को निर्णय नभएसम्मका लागि भाडा बढाएको थियो । व्यवसायीलाई यो निर्णयले निकै राहत मिलेको छ । तर पनि लामो दुरीका सवारी साधनमा यात्रुबाट व्यवसायीले थप रकम असुल्न छाडेका छैनन् । अझ दसैं/तिहार नजिकिएसँगै राजधानी छाड्नेको चाप बढ्दा टिकटमा पनि कालोबजारी हुन थालेको छ ।

तोकिएभन्दा बढी भाडा असुली हुन थालेपछि महाशाखाले सादा पोसाकका जनशक्ति निगरानी गर्न खटाएको हो । महाशाखा प्रमुख एसएसपी भीम ढकालले विभिन्न ८ वटा टोलीलाई सादा पोसाकमा खटाइएको बताए । महाशाखाको ‘पीडित सहायता युनिट’बाट प्रत्येक टोलीमा २ देखि ३ जनासम्म छन् । ढकालका अनुसार पर्व सुरक्षा योजनाअन्तर्गत बढी भाडा असुल्नेमाथि थप निगरानी बढाउन शुक्रबारबाट विशेष योजना लागू गरिनेछ ।

४ लाखले छाडे उपत्यका

लामो तथा छोटो दुरीका सवारीसाधन चलेसँगै उपत्यकाबाट करिब ४ लाख व्यक्ति बाहिरिएका छन् । लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका तर सवारीसाधन सञ्चालन नहुँदा ज्यालादारी मजदुर र रोजीरोटी गुमाएकाहरु घर फर्किन पाएका थिएनन् । त्यसका अतिरिक्त दसैं/तिहार, छठ जस्ता प्रमुख चाडपर्व नजिकिएसगै उपत्यका छोड्नेको चाप बढ्न थालेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार असोज १ देखि २१ गतेसम्म ३ लाख ९३ हजार ८ सय २७ जना उपत्यकाका थानकोट, बल्खु र साँगालगायतबाट बाहिरिएका छन् । यी यात्रु बोक्न ९४ हजार ९ सय ९३ वटा सवारी प्रयोग भएका छन् । सरकारले सवारीसाधनमा दुरी कायम गरेर ५० प्रतिशत सिटमा मात्रै यात्रु राख्न निर्देशन दिएको छ । त्यही कारण यात्रु बोक्न बढी सवारी प्रयोग भएका छन् । यसैगरी असोज १ यता ३ लाख ७२ हजार ७ सय ६० जना यात्रु उपत्यका भित्रिएका छन् ।

प्रकाशित : आश्विन २२, २०७७ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?