२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कोरोना परीक्षणका लागि एन्टिजेन किट प्रयोग गर्ने बाटो खुल्यो

अमेरिकाको एफडीए तथा डब्लूएचओले मान्यता दिएको किटमात्रै प्रयोग गर्न पाइने
सरकारद्वारा चौथोपटक राष्ट्रिय परीक्षण मापदण्ड परिवर्तन
स्वरूप आचार्य

काठमाडौँ — सरकारले परीक्षणको दायरालाई फराकिलो र सहज बनाउने उद्देश्यले असोज १५ गते राष्ट्रिय परीक्षण मापदण्डलाई चौथोपटक परिमार्जन गरी जारी गरेको छ ।

कोरोना परीक्षणका लागि एन्टिजेन किट प्रयोग गर्ने बाटो खुल्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौथोपटक परिमार्जन गरेर जारी गरेको परीक्षण मापदण्डमा एन्टिजेनमा आधारित द्रुत परीक्षण किट (आरडीटी)लाई पनि प्रयोग गर्न सुझाइएको छ । जस अनुसार धेरै व्यक्तिको एकैपटक परीक्षण गर्नुपरे, छिटो निर्क्योल गर्नुपर्ने अवस्था रहे तथा एकै स्थानमा धेरैजना बसोबास गर्ने स्थान जस्तै ब्यारेक, कारागार तथा वृद्धाश्रम लगायतका स्थानमा एन्टिजेनमा आधारित द्रुत परीक्षण किटबाट परीक्षण गर्न सकिने उल्लेख छ ।

यसरी एन्टिजेन किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आए त्यसलाई पोजिटिभ नै मानेर थप प्रक्रिया अगाडि बढाउनुपर्छ । निगेटिभ रिपोर्ट आएमा भने त्यसलाई पूर्ण रुपमा निगेटिभ मान्न भने पाइने छैन । यदी परीक्षण गरिएको व्यक्तिमा संक्रमणको कुनै पनि लक्षण छैन एन्टिजेनमा निगेटिभ रिपोर्ट आएको र सो व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा पनि परेको छैन भने पीसीआर नगरे पनि हुन्छ । तर, यदी परीक्षण गरिएको व्यक्तिमा संक्रमणको लक्षण छ भने सो व्यक्तिको पीसीआर गर्न सुझाइएको छ । पीसीआर उपलब्ध नभए पुनः एन्टिजेन परीक्षण नै गर्न भनिएको छ । त्यसपछि पोजिटिभ वा निगेटिभ जे रिपोर्ट आउँछ सोही अनुसार उपचार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयले एन्टिजेन किटबाट परीक्षण गर्न अनुमति दिएपनि कुन ब्राण्ड र गुणस्तरको प्रयोग गर्ने भन्ने अहिलेसम्म स्पष्ट पारेको छैन । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा सह–प्रवक्ता डा. समिर अधिकारीका अनुसार कस्तो प्रकारको एन्टिजेनलाई मान्यता दिने भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा स्वास्थ्य सेवा विभागलाई नै जिम्मा दिएको छ । ‘अब एन्टिजेनमा आधारित किट प्रयोग गर्न पाइन्छ,’ उनले भने, ‘अमेरिकाको एफडीएले आपतकालीन प्रयोगका लागि अनुमति दिएको किटमात्रै प्रयोग गर्न पाइन्छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाका अनुसार नयाँ परीक्षण मापदण्ड जारी भएपनि कुन ब्राण्डको किट प्रयोग गर्न दिने भन्ने बारे यकिन निर्णय भने भएको छैन । ‘हाम्रो जोड भनेको डब्लूएचओले मान्यता दिएको मात्रै किटलाई प्रयोग गर्न अनुमति दिने हो,’ उनले भनिन्, ‘हामीले मन्त्रालयमा निर्देशिका बनाएर पठाउँदा अमेरिकाको एफडीएले मान्यता दिएको किटलाई मात्र प्रयोग गर्न दिने भन्ने थियो । अब डब्लूएचओकै मान्यता हुनुपर्छ भन्नेमा हाम्रो जोड हुन्छ ।’

डब्लूएचओले केही साता अघि एबोट र एसडी बायोसेन्सर ब्राण्डका दुई एन्टिजेन किटको प्रयोगलाई हरियो झण्डा देखाएको थियो । नेपाल सरकारले पनि सोही किटलाई मात्रै मान्यता दिन्छ वा अन्य किटलाई पनि समेट्छ भन्ने विषय अझै पनि अन्योल छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण भए/नभएको पत्ता लगाउनका लागि द्रुत एन्टिजेन परीक्षण किटलाई भदौ २५ मा नै स्विकृती दिने निर्णय गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बनाएको एन्टिजेन परीक्षणको निर्देशिकालाई परिमार्जनसहित स्विकृत गर्ने निर्णय मन्त्रालयले गरेको थियो ।

के हो एन्टिजेन किट ?
सामान्य भाषामा भन्नुपर्दा एन्टिजेन परीक्षणमा कोरोना भाइरसको खोलमा रहेको प्रोटिन पहिचान गरिन्छ । यदि नमुनामा सो प्रोटिन रहेको देखिए त्यसको उपस्थितिले शरीरमा भाइरस सक्रिय रहेको जनाउँछ । एन्टिजेनकै प्रतिक्रिया स्वरुप शरीरले एन्टिबडी उत्पादन गर्छ । यो परीक्षण गर्ने प्रक्रिया र पहिला प्रयोग गरिएको एन्टिबडी परीक्षणको प्रविधि लगभग उस्तै नै हो ।

प्रकाशित : आश्विन २२, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?