कोरोनाको समयमा अस्पताल कस्तो बेला मात्रै जाने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को भयले जनजीवन त्रासमय छ । सबैजसो अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । यस्तो अवस्थामा आफूलाई केही समस्या पर्दा अस्पताल जाने कि नजाने भन्ने अन्याेल हुनसक्छ । केही समस्या परेर जँचाउन जाँदा कोरोना बोकेर घरमा आइने पो हो कि भन्ने डर सबैमा व्याप्त देखिन्छ ।

कोरोनाको समयमा अस्पताल कस्तो बेला मात्रै जाने ?

अस्पताल कोरोना संक्रमणको जोखिमको मुख्य थलोमध्ये एक हो । त्यसैले यस समयमा आफूलाई आवश्यक परेपनि अस्पताल जान हिच्किचाउने स्वाभाविक भएतापनि अस्पताल जानुपर्ने चिकित्सक बताउँछन् ।

अस्पतालसम्म नजान हामीले स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ नै चिकित्सकको निगरानीमा रहनुपर्छ र एकदम अत्यावश्यक भएमा मात्र आकस्मिक सेवाको लागि सम्पर्क गर्नुपर्छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिलेको अवस्थामा सामान्य रुघाखोखी देखिँदैमा दौडादौड गरेर अस्पताल जानु नपर्ने सुझाउँछन् । डा. पुन भन्छन्, ‘आफू कोरोना संक्रमितसँग एक्सपोज भएको छ/छैन वा अन्य कुनै गम्भीर लक्षण देखिएमा अस्पताल जानुपर्छ नत्र सामान्य लक्षण छ भने घरमै ठीक हुन्छ ।’

इमरजेन्सीमा कतिबेला जाने ? मेडिकल इमरजेन्सीका लक्षण के हुन् ?


कोरोना भाइरस संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय हो सम्भव भएसम्म घरमै बस्नु । तर, जो मानिसलाई आकस्मिक मेडिकल सेवाको आवश्यकता छ ऊ अस्पताल जानै पर्छ । आफ्नो शरीरलाई कहिल्यै पनि बेवास्ता नगरौं । केही सम्भावित खतराको लक्षण र चिह्न देखिए चिकित्सकको सल्लाह लिऔं र लक्षण बढे आकस्मिक सेवा लिऔं ।

कोरोना भाइरसको लक्षण देखिएमा मात्र होइन कुनै जोखिम पूर्ण लक्षणको सामना गरिराख्नुभएको छ भने अस्पताल जानुपर्छ ।

  • सास फेर्ने गाह्रो भएमा
  • छाती तथा माथिल्लो पेट दुखेमा
  • बेहोस जस्तो लक्षण देखिएमा, कमजोरी तथा रिंगटा लागेमा
  • दृष्टिमा परिवर्तन भएमा
  • मानसिक अवस्थामा परिवर्तन आएमा
  • एक्कासि दुखाइ भएमा
  • अत्यधिक रक्तश्राव भएमा
  • लगातार वान्ता वा झाडापखाला भएमा
  • खोकी र बान्ता गर्दा रगत आएमा
  • बोल्नमा अप्ठ्यारो महसुस भएमा

विशेषगरी हृदयाघात र मष्तिष्कघातमा आकस्मिक सेवाको आवश्यकता हुन्छ । यस्ता बिरामीलाई जतिसक्दो छिटो अस्पताल लग्दा सेवा पाउन सक्छन् नभए कोरोना भाइरसको डरले अस्पताल नजाँदा जोखिम निम्तिन सक्छ । दीर्घरोगी तथा अन्य मेडिकल समस्या भएका बिरामीले यस महामारीमा आफ्नो अवस्था सहज बनाइराख्न चिकित्सकसँग सरसल्लाह लिइराख्नु आवश्यक छ ।

सिभिल अस्पतालका चिकित्सक डा. विदेश विष्टका अनुसार हरेक रोगका फरक फरक लक्षण हुन्छन् । जस्तै टाउको दुखाइ सबै सामान्य हुँदैनन् त्यसले अरु ठूलो समस्या निम्त्याउन सक्छ । ‘सबै रोग सामान्य ठानेर अस्पताल नै नजाने भन्ने त हुँदैन,’ उनले भने, ‘आफूलाई कति गाह्रो भएको छ त्यो पनि याद गर्नुपर्छ ।’

चिकित्सक कहाँ कति बेला जाने?


आफूमा कुनै समस्या छ भने त्यसको सही समयमा समाधान गर्दा शरीर थप बिग्रिनबाट जोगिन सक्छ । धेरैलाई अवगत नै छ कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरु पनि संक्रमित बन्न पुगिरहेका छन् । बिरामीबाट चिकित्सकमा र चिकित्सकबाट बिरामीमा सर्न सक्ने सम्भावना हुन्छ । घरबाहिर निस्किँदा अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्नुपर्छ । यदि चिकित्सकले टेलिमेडिसिनबाट उपचार सेवा दिन सक्छन् भने त्यसलाई पहिलो प्रथमिकता दिउँ ।

टेलिमेडिसिनबाट दिइने सेवाले आकस्मिक सेवा बाहेकका स्वास्थ्य समस्या, रुटिन अपोइन्टमेन्ट, घाउको जाँच तथा औषधि रिफर गर्ने वा थप्ने कामका लागि उपयुक्त छ । अहिले थुप्रै चिकित्सकले भाइबर, स्काइपबाट यी सेवाहरु दिइरहेका छन् ।

कोरोना भाइरसको लक्षण देखिएर अस्पताल जाँदा


धेरै मानिसमा कोरोना भाइरसका सामान्य लक्षण देखिएमा घरमै ठिक हुन्छ । तर, जो मानिस वृद्ध, दीर्घरोगी वा अरु समस्याबाट ग्रसित छन् उनीहरुमा गम्भीर लक्षण देखिन सक्छ र उनीहरुलाई अस्पतालमा उपचारको आवश्यकता पर्दछ । सास फेर्न गाह्रो भएमा, लगातार छाती दुखेमा, भ्रम हो कि जस्तो लागेमा, उठ्न नसेकामा, अनुहार तथा ओठ नीलो हुँदै गएमा कोरोना भाइरसका गम्भीर लक्षण हुनसक्छन् जसमा आकस्मिक सेवाको आवश्यकता पर्दछ ।

महामारीका बेला अस्पतालमा बिरामीहरु थपिएका छन् । बेड अपुग हुन थालेकाले अस्पतालले बिरामीको धार थाम्न अप्ठ्यारो भइरहेको छ । अस्पताल तथा स्वास्थ्यकर्मीलाई सेवा दिन चुनौती थपिइरहेको छ । तथापि बिरामी भएर सेवा लिने ठाउँ भनेकै अस्पताल हो । ज्यान जोगाउन यहाँभन्दा अरु सुरक्षित ठाउँ छैन ।

कोभिड बाहेकका सेवा लिन गएका बिरामीलाई अस्पतालले छुट्टाछुट्टै वार्ड छट्याउनुपर्छ ।

प्रकाशित : आश्विन २२, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?