कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

शे–फोक्सुण्डो निकुन्जका खाली पोस्टको निगरानी अब ड्रोनबाट

हरि गौतम

रुकुम पश्चिम — हिउँदको समयमा हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका झण्डै आधा दर्जन पोस्ट खाली हुन्छन् । झण्डै चार महिना खाली हुने पोस्टमा अब ड्रोन क्यामेराबाट निगरानी गरिने निर्णय गरिएको छ ।

शे–फोक्सुण्डो निकुन्जका खाली पोस्टको निगरानी अब ड्रोनबाट

जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकले ड्रोन क्यामेरा तथा अरु पनि प्रविधिमार्फत निगरानी गर्ने निर्णय गरेको हो । चिसोका कारण खाली हुने पोस्टमा निकुञ्जले वैकल्पिक विधिबाट गस्ती गर्ने तयारी गरेको इकाइका संयोजक तथा निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । ‘धेरै चिसो हुने भएकाले माथिल्लो क्षेत्रका सबै पोस्ट खाली हुन्छन्,’ उनले भने, ‘मान्छेबिनाका पोस्ट क्षेत्र आसपास चोरी सिकारी हुन नदिन ड्रोन राख्ने निर्णय गरिएको हो ।’ उनका अनुसार हरेक वर्ष चिसोमा खाली हुने पोस्टका कारण चोरी सिकारी बढिरहेको छ ।

निकुञ्जका अनुसार धो, रिग्मो, नाम्दो, साल्दाङ, किम्रीलगायत पोस्टमा कार्यरत कर्मचारी अत्यधिक हिमपात हुने भएकाले हिउँदयामका झण्डै चार महिना खाली हुन्छन् । तर निकुञ्ज क्षेत्रमा ड्रोन क्यामेराबाट निगरानी हुनेबारे यसअघि सम्भाव्यता अध्ययन भने भइसकेको छैन । ‘तत्काल सम्भाव्यता अध्ययनको काम थालिनेछ,’ प्रमुख संरक्षण अधिकृत पौडेलले भने, ‘सम्भवत: फागुनबाट नै चिसो हुने क्षेत्रमा ड्रोन क्यामेराका सहायताले निगरानी गरिनेछ ।’ चोरी सिकारी रोक्न अन्य विकल्पको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

३ हजार ५ सय ५५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाको साथै माथिल्लो डोल्पामा फैलिएको छ । मुगुको मुगमकार्मारोङ गाउँपालिकाले पनि निकुञ्जको ८ सय २९ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ ।

प्रकाशित : आश्विन २२, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?