कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिनहुँ हराउँछन् पाँचभन्दा बढी बालबालिका

जनकराज सापकोटा

काठमाडौँ — कोरोना संक्रमण तीव्र भइरहेका बेला पनि बालबालिका हराउने क्रम रोकिएको छैन । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार साउन र भदौमा ३ सय ३६ बालबालिका हराएका छन् ।

निषेधाज्ञा जारी रहेको साउनमा मात्रै १ सय ८२ जना बालबालिका हराएका थिए । तीमध्ये ७४ लाई फेला पारेर परिवारको सम्पर्कमा पुर्‍याए पनि अरू १ सय ८ जनाको पत्तो लाग्न सकेको छैन ।

भदौमा पनि देशभर १ सय २३ बालिकासहित १ सय ५४ जना बालबालिका हराए । जसमध्ये ४८ फेला परे पनि अरू भेटिएनन् । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार यी दुई महिनामा सबैभन्दा धेरै बालबालिका प्रदेश २ बाट हराएका छन् । साउनमा ५२ र भदौमा ४४ जना हराए । तीमध्ये साउनमा १६ र भदौमा १० जनामात्रै फेला परे । परिषद्ले सार्वजनिक गरेको विवरणमा साउनमा हराएकामध्ये कति बालिका छन् भन्ने विवरण नभए पनि भदौमा हराएका १ सय ५४ मध्ये ७८ प्रतिशतभन्दा धेरै अर्थात् १ सय २१ बालिका छन् ।

साउनमा गण्डकी प्रदेशबाट ३४ र भदौमा १९ बालबालिका हराएको देखिन्छ । त्यस्तै साउनमा प्रदेश १ बाट ७ र भदौमा ३५ बालबालिका हराएका छन् । वाग्मती प्रदेशबाट साउनमा २६ जना र भदौमा १३ बालबालिका हराए । साउनमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट २४/२४ गरेर ४८ जना हराएका छन् भने कर्णालीमा भदौमा १५ र सुदूरपश्चिममा २० जना हराए । कोरोना संक्रमण बढिरहँदा बालबालिकाहरू हिंसा र दुर्व्यवहारको जोखिममा पनि परिरहेका छन् । भदौमा जोखिम, हिंसा र दुर्व्यवहारमा परेका ६१ बालिकासहित १ सय १० बालबालिकालाई उद्धार गरिएको छ । साउनमा भने २७ बालबालिकाको मात्रै उद्धार भएको थियो ।

बन्दीप्रत्यक्षीकरणको रिट खारेज

गत साउन २१ गते राष्ट्रिय बालअधिकार परिषद्ले कपनस्थित केयर होमबाट ११ बालबालिकालाई उद्धार गरेको थियो । केयर होमछेवैको सार्वजनिक चौरमा कार्टुनमा कसैले बेवारिस छाडेको भनिएका एक शिशुको उद्धार गरिएको खबर सार्वजनिक भएको थियो । शिशुको केयर बालगृहले उद्धार गरेर जिम्मा लिएको थियो । प्रहरी र परिषद्ले गरेको अध्ययनपछि केयर होमले शिशुको आमासँग मिलेमतोमा शिशुलाई चौरमा छाडेको र उद्धारको नाटक गरेर सहायता बटुल्ने प्रयास गरेको भन्दै थप अनुसन्धान अगाडि बढाएको थियो ।

केयर होमले मापदण्डविपरीत बालबालिकाहरू राखेको भेटिएपछि परिषद्ले त्यहाँ आश्रित सबै बालबालिकाको उद्धार गरेको थियो । बालबालिकालाई उद्धार गरेपछि केयर होमले परिषद्विरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको थियो । सर्वोच्चले बुधबार केयर होमले दायर गरेको रिट खारेज गरेको हो ।

प्रकाशित : आश्विन २२, २०७७ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?