१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

संक्रमितलाई घरैमा ‘खुराक’

संक्रमितको हौसला बढाउन काठमाडौंको तारकेश्वर, टोखा र बूढानीलकण्ठ नगरपालिकाले घरमै आइसोलेसनमा बस्नेलाई खुराक खर्च प्रदान गरिरहेका छन् ।
मकर श्रेष्ठ

काठमाडौँ — काभ्रेस्थलीको संगम बस्तीका एक युवकलाई कोरोना देखिएपछि परिवारका सदस्यहरू आत्तिए । संक्रमित युवकलाई तारकेश्वर नगरपालिकाले समन्वय गरेर आइसोलेसन सेन्टरमा पठायो । परिवारका ६ सदस्य पनि पीसीआर रिपोर्ट नेगेटिभ नआएसम्म घरमै बसे ।

संक्रमितलाई घरैमा ‘खुराक’

घरमा बस्दा टोलवासी र आफन्तले खानेकुराको बन्दोबस्त गरिदिए । ती युवक पनि कोरोनामुक्त भएर घर आइसके ।

परिवारका सदस्यहरू बुधबार बिहान खाना खाइरहेका थिए । नगरप्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल, वडा २ का अध्यक्ष रवीन्द्र केसी र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल थाहै नदिई उनीहरूको घरमा पुगे । कोरोनामुक्त भएकामा परिवार सदस्यलाई बधाई दिए । नगरप्रमुख बोहरा र उपप्रमुख डोटेलले पोसिलो खानेकुरा किनेर खान भन्दै ५ हजार रुपैयाँ र स्वास्थ्य किटको एउटा बक्स थमाइदिए । आपत्का बेला नगरपालिकाले सम्झेपछि परिवारका सदस्य खुसी भए । ‘सान्त्वना र हौसलासँगै पाँच हजार सहयोग र अरू सामान पाउँदा हामी खुसी छौं,’ परिवारका एक सदस्यले भने । स्वास्थ्य किटको बक्समा सेनिटाइजर २५० एमएल, मास्क, साबुन, क्लोरिन, भिटामिन सी, थर्ममिटर राखिएको छ ।

घरमै आइसोलेसनमा बसेकालाई नगरपालिकाले ५ हजारका दरले खुराक खर्च दिने गरेको छ । ‘नगरपालिकाको आन्तरिक आम्दानी, संघ र प्रदेशबाट आएको अनुदानबाट २ करोडको कोभिड कोष खडा गरेका छौं,’ उपप्रमुख डोटेलले भनिन्, ‘यही कोषबाट होम आइसोलेसनमा बसेकालाई खर्च दिएका हौं ।’ नगरपालिकाले भाडामा बस्ने व्यक्ति संक्रमित भए पनि विभेद नगरी सहयोग रकम दिने नीति लिएको उनले बताइन् । ‘हाम्रो नगरमा घर हुने होस् वा भाडामा बस्ने जो संक्रमित भए पनि घरमै आइसोलेसनमा बस्छन् भने सहयोग दिन्छौं,’ उनले भनिन् ।

भाडामा बस्ने संक्रमित भएमा सहयोग रकम लिन घरधनीले आफ्नो घरमा बस्ने भनेर प्रमाणित गरिदिनुपर्ने हुन्छ । ‘यो रकम संक्रमितलाई सान्त्वना दिन उपलब्ध गराएका हौं,’ नगरप्रमुख बोहराले भने । नगरपालिकाले एउटै परिवारका ६ जनासम्मलाई होम आइसोलेसन बसेबापत सहयोग उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए । सहयोग उपलब्ध गराउनेबाहेक घरमा बस्नेहरूलाई स्वास्थ्यकर्मीसँग नियमित सम्पर्क गरेर निगरानी गर्ने संयन्त्र बनाएको उनले बताए ।

तारकेश्वरमा जस्तै टोखा नगरपालिका र बूढानीलकण्ठले पनि घरमै आइसोलेसनमा बस्ने संक्रमितलाई सहयोग उपलब्ध गराउने गरेका छन् । ‘आइसोलेसन सेन्टर लगेर राख्दा नगरपालिकाले अहिले दिएको सहयोग अपुग हुने भएकाले संक्रमितको हौसला बढाउन सहयोग उपलब्ध गराइएको हो,’ बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले भने । बूढानीलकण्ठले एक परिवारलाई बढीमा ६ हजारसम्म र टोखाले दिनको ३ सय ५० रुपैयाँका दरले सहयोग दिने गरेका छन् ।

टोखा नगरपालिकाले संक्रमितले नागरिकता र परिचय खुल्ने कागज पेस गरेलगत्तै ३ सय ५० का दरले १४ दिनको खुराक खर्च दिने गरेको उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् । एक सय ५० भन्दा बढीलाई यो सुविधा उपलब्ध गराइसकेको उनले जानकारी दिइन् । यसरी सहयोग पाउनेमध्येका एक हुन्– टोखा–२ यलाग टोलका सञ्जय डंगोल । उनको परिवारमा ६ जनालाई कोरोना पुष्टि भएको थियो । उनी नगरपालिकाले बनाएकै आइसोलेसनमा बसे । उनका बुबा, आमा, श्रीमती, भाइ र बुहारी भने घरमै आइसोलेसनमा बसेका थिए । सबैजना कोरोनामुक्त भइसके । उनी बसेको आइसोलेसन सेन्टरमा नगरपालिकाको व्यवस्थापनबाट जति खुसी भएका थिए, घर फर्केपछि नगरपालिकाले मंगलबार २४ हजार ५ सय खुराक खर्च दिँदा त्योभन्दा बढी हर्षित भए ।

नगरपालिकाले उनीबाहेक ५ जनाको ३ सय ५० का दरले १४ दिनको खुराक खर्च उपलब्ध गराएको हो । ‘मलाई राखिएको आइसोलेसन सेन्टरमा बस्दा पनि पारिवारिक वातावरण पाएँ, बिहान योग अभ्यासदेखि समयमा सन्तुलिन भोजन खुवाइयो । खेलकुदको सामान, टीभी, वाइफाईको व्यवस्था थियो,’ उनले भने, ‘घरमा आएपछि एकमुष्ट रकम पाउँदा खुसी छौं ।’

लकडाउनले कमाइ नभएका बेला नगरपालिकाले उपलब्ध गराएको सहयोगमा थपथाप गरेर दसैं मान्ने योजना रहेको उनले बताए । उपप्रमुख डंगोलले संक्रमितलाई सहयोग दिन र अन्य व्यवस्थापन गर्न नगरपालिकाको कोभिड कोषमा ५ करोड रहेको उनले बताइन् । नगरपालिकाले प्रदान गर्ने सहयोग लिन कार्यालयमै जानुपर्ने हुन्छ ।

बूढानीलकण्ठमा भने घरमा आइसोलेसनमा बसेका संक्रमितलाई निको भएलगत्तै जनप्रतिनिधि र कर्मचारी सहयोग रकम लिएर घरमै जाने गरेका छन् । नगरपालिकाले घरमा आइसोलेसनमा बसेकालाई एउटा परिवारलाई ६ हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराउने नीति लिएको छ । एक जना हुँदा ४ हजार र त्योभन्दा बढी भएमा ६ हजार रुपैयाँसम्म खुराक खर्च दिने गरेको नगरप्रमुख खरेलले बताए । यसरी सहयोग गर्न र अन्य व्यवस्थापन गर्न नगरपालिकाले कोभिड कोषमा २ करोड रुपैयाँ राखेको छ । ‘नगरपालिकाले दिने सहयोग जागिर भएका, आम्दानीका अन्य स्रोत भएका र आर्थिक पक्ष राम्रो भएकालाई नलिइदिन आग्रह गरेका छौं,’ उनले भने, ‘चार हजार रुपैयाँ सहयोग नपाउँदा खुराक खानै नसक्नेले मात्रै लिनुस् भनेका छौं ।’ नगरपालिकाले यो सहयोग ४ सयभन्दा बढीलाई प्रदान गरिसकेको उनले बताए ।

यसरी सहयोग पाउनेमध्येका एक हुन्– बूढानीलकण्ठ–८, गल्फुटारका नवराज प्रसाईं । उनको परिवारमा दुई छोरा र उनलाई कोरोना पुष्टि भएको थियो । उनलाई कोरोना लागेको १८ औं दिनमा जनप्रतिनिधि र कर्मचारीले घरमै ६ हजार रुपैयाँ उपलब्ध गराएका हुन् । ‘सहयोग रकम थोरै भए पनि यो बेला पाउँदा ठूलो गुन लाग्दो रहेछ,’ उनले भने, ‘घरमा बस्दा तीनपटक नगरपालिकाका स्वास्थ्यकर्मीबाट आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएका थिए ।’ बूढानीलकण्ठ नगरपालिकाले घरमै आइसोलेसनमा बस्ने संक्रमितको स्याहार गर्नेलाई १४ दिनको २ हजार रुपैयाँ दिने निर्णयसमेत गरेको छ । ‘जसको घरमा पानी तताएर दिने र सामान ल्याइदिने पनि कोही छैन भने अर्को मान्छे राखेबापत १४ दिनको २ हजार रुपैयाँ दिने निर्णय गरेका छौं,’ खरेलले भने ।

लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्दा सरकारको प्रतिव्यक्ति दैनिक २ हजार रुपैयाँ खर्च हुन्छ । १४ दिन राख्दा कम्तीमा २७ हजार रुपैयाँ जान्छ । ‘नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा राख्दा एक जनाको खाना खर्च दैनिक चार हजारले पनि पुग्दैन । सरसफाइसहित गर्दा आठ हजार चाहिन्छ,’ खरेलले भने, ‘त्यसैले घरमै बस्न उत्प्रेरित गर्न खुराक खर्च उपलब्ध गराएका हौं ।’

प्रकाशित : आश्विन २२, २०७७ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?