१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शुक्रबार आकस्मिक र कोभिड–१९ बाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय

बिहीबार बिहान ९ देखि ११ बजेसम्म दुई घण्टा बहिष्कार गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।

शुक्रबार आकस्मिक र कोभिड–१९ बाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय

प्राध्यापक डा. गोविन्द केसी को १९ औं आमरण अनशनको २४ औं दिन पुगिसक्दा समेत सरकारले वार्ताटोली पनि गठन नगरी बेवास्ता गरेकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएकोसमेत बताएको छ । संघले जारी गरेको विज्ञप्तिमा बिहीबार दुई घण्टा र शुक्रबार पूरै दिन आकस्मिक र कोभिड १९ बाहेकका सेवा बहिष्कार गर्ने उल्लेख गरिएको छ ।

संघले असोज २२ गते, बिहीबार, बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगणमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दैै धर्ना गर्ने निर्णय समेत गरेको छ । असोज १८ गतेका दिन डा. केसीको जीवनरक्षाका निम्ती नेपाल सरकारलाई ७२ घण्टाको समयावधि उपलब्ध गराई वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट अबिलम्ब सत्याग्रहको अन्त्य गर्न आग्रह गरे पनि सरकारले वार्ताटोली पनि गठन नगरी बेवास्ता गरेको कारण संघले विरोधको कार्यक्रम अगाडि सारेको स्पष्ट पारेको छ ।

संघद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । संघले अझै पनि नेपाल सरकारलाई कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सेवा प्रवाहमा उत्पन्न हुनसक्ने गम्भीर परिस्थितिप्रति गहन रुपमा मनन गरी अबिलम्व वार्ताटोली गठन गरेर वार्ता र संवादको माध्यमद्वारा सत्याग्रहको अन्त्य आग्रह गरेको छ ।

संघले नेपाल सरकारले चाहेको अवस्थामा जुनसुकै बेला वार्ताका निम्ती सहजीकरण गर्न समेत तयार रहेको बताएको छ ।

प्रकाशित : आश्विन २१, २०७७ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?