यही तरिकाले संक्रमण बढ्दै गए काठमाडौंमा अस्पतालले भार धान्‍न सक्दैन : स्वास्थ्य मन्त्रालय 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोना संक्रमणसँगै कोरोना संक्रमितको उपचारका लागि अस्पतालले भार धान्न नसक्ने जनाएको छ । 

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोरोना प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले विशेषगरी काठमाडौं उपत्यकामा संक्रमितको उपचार व्यवस्थापनमा थप चुनौती बढ्दै गएकाले अस्पतालले भार थेग्‍न नसक्ने बताए । डा गौतमले भने,‘ कोरोना संक्रमणको वृद्धिसँगै कतिपय अस्पतालमा बेडको अभाव हुँदै गइरहेको छ । बिरामीहरुलाई पायक पर्ने ठाउँमा बेड उपलब्ध हुन सकेको छैन । यस महमारीको प्रकोपको बेला सबै सरकारी तथा निजी अस्पतालहरुले उपचारको व्यवस्था गर्न आवश्यक छ ।’

२४ घन्टाको अध्यावधिक विवरणअनुसार देशभर ३४ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमण तीव्र रुपमा बढ्दै जानुका कारण अस्वाभाविक रुपमा सार्वजनिक स्थानमा बढेको भिडभाड, नाक मुख छोपिने गरी मास्क नलगाउनु, एक अर्काबीच दुरी कायम नहुनु र हातको सफाईमा उचित ध्यान नपुर्‍याउनाले संक्रमण बढ्दै गएको डा गौतमको भनाइ छ ।

डा गौतमले नजिकिँदै गरेको चाडपर्वसँगै किनमेल गर्नेको भीड हेर्दा तीव्र रुपमा फैलिएको कोरोनालाई बिर्सेको हो कि भन्ने लागेको बताए । उनले कोरोना संक्रमण जनस्वास्थ्यको ठूलो समस्या भएको बताउँदै नियन्त्रण तथा रोकथामका लागि सबैको भूमिका रहने बताए ।

आवश्यक कामले घरबाहिर निस्कँदा मास्कको उचित प्रयोग, बेलाबेलामा साबुन पानी तथा स्यानिटाइजरको प्रयोग गर्न डा गौतमले अनुरोध गरे ।

यो पनि

प्रकाशित : आश्विन २१, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

तिलोत्तमा नगरमा अत्यावश्यक बाहेकका सेवा बन्द

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् । 

नगरपालिकाले सूचना निकालेर असोज २१ देखि २३ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने जनाएको छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले कोभिड १९ ले सिर्जना गरेको असहज परिस्थितिका कारण सेवा बन्द गर्नु परेको बताए । केही बाहेक अन्य कर्मचारीसमेत नगरप्रमुखसँग सम्पर्कमा रही काम गरेकाले अहिले होम क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता भएको र पीसीआर परीक्षणपश्चात् पुन : सेवा सुरु गर्ने उनले जनाए ।

मंगलबार संक्रमण पुष्टि भएपछि नगरप्रमुख वासुदेव घिमिरे होम आइसोलेसनमा बसेका छन् ।

प्रकाशित : आश्विन २१, २०७७ १८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×