१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

देशमा लोकतन्त्र सुरक्षित छैन : नेता भट्टराई

‘डा गोविन्द केसीलाई सरकारले उपेक्षा गर्ने नीति लियो’
हरिराम उप्रेती

गोरखा — जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा लोकतन्त्र सुरक्षित नरहेको बताएका छन् ।

देशमा लोकतन्त्र सुरक्षित छैन : नेता भट्टराई

गृहजिल्ला गोरखा आएका भट्टराइले बुधबार पत्रकारहरुसँगको कुराकानीका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश चरम निरंकुशतातर्फ गइरहेको आरोप लगाए । ‘असार तेस्रो साता सत्तारुढ दलको अन्तरसंघर्ष चरम चुलिमा पुग्यो, अकस्मात अन्तरद्वन्द मोडिएको जस्तो देखिएको छ,’ भट्टराईले भने,‘मलाई प्राप्त सूचना अनुसार प्रधानमन्त्रीले संसद विघटन गर्ने र आपतकाल घोषणा गरेर आफ्नै ढंगले ज्ञानेन्द्र शाहको जुन हर्कत थियो, त्यो दिशातर्फ देशलाई लिएर जाने कदम चालेपछि पार्टीको अन्तरद्वन्द्व टालटुल पार्ने काम भएको छ ।’

संघर्ष गरेर ल्याएको लोकतन्त्रलाई एउटा पार्टीको एउटा गुटले बन्धक बनाउने काम भएको उनले बताए । ‘प्रधानमन्त्रीको लहडमा पार्टी फुटाउने अध्यादेश आएपनि विरोधकाबीच पछि हट्न बाध्य भए,’ उनले भने,‘पार्टीभित्रको अन्तरद्वन्द्वकाबीच देशलाई प्रतिगमनको दिशातर्फ लैजान ब्ल्याकमेल गर्ने कुराले देशमा लोकतन्त्र सुरक्षित छैन ।’

कोरोना महामारीकाबीच देश अर्थतन्त्रसँगै राजनीतिक निरंकुशतावादीको बन्धक बनेको नेता भट्टराईको आरोप छ । संघीयताको मर्म विपरीत केन्द्रको ठाडो आदेशमा प्रदेशका राजधानी र नामांकन गर्दा राजनीतिक चिन्तनको समेत समस्या रहेको भट्टराईले बताए । ‘भ्रम नपरोस् गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समावेशिताको एजेण्डाको प्रखर विरोधी समकालीन नेपालमा ओली जी हो,’ उनले भने,‘नेपालको इतिहासको विडम्बना भनौं उहाँ नेतृत्वमा रहन पुग्नु भयो ।’

अनशनरत चिकित्सक डा. गोविन्द केसीलाई सरकारले उपेक्षा गर्ने नीति लिएको भट्टराईले आरोप लगाए । वार्ता मार्फत् डा. केसीको माग सम्बोधन गर्न उनले माग गरे । ‘उहाँले उठाएको मागमा सबैको सहमति छ, स्वास्थ्य क्षेत्रको बेथिति विसंगति रोक्नुपर्छ, स्वास्थ्यको पहुँच दुरदराजको जनतामा पुग्नुपर्छ, कोरोना महामारी ठिक ढंगले व्यवस्थापन भएन भन्ने कुरामा कसैको विमति छैन,’ उनले भने,‘तर सरकारले हिजोसम्म वार्ताको पहल गरेको छैन, यो गैरजिम्मेवार कुरा हो ।’

शान्तिपूर्ण ढंगले सत्याग्रहको बाटो लिएका डा. केसीको माग आधुनिक युगको लोकतान्त्रिक सरकारले हल गर्ने प्रयत्न नगर्नु दुःखद भएको नेता भट्टराईले बताए ।

प्रकाशित : आश्विन २१, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?