प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो : डा. केसीका माग पूरा गर्न ढिलाइ गर्ने गम्भीर भूल नगरियोस्

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले अनशनरत चिकित्सक डा. गोविन्द केसीसँग छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता टोलीसम्म गठन नगरेर बालहठ देखाएको बताएको छ ।

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो : डा. केसीका माग पूरा गर्न ढिलाइ गर्ने गम्भीर भूल नगरियोस्

डा. केसीका माग पूरा गर्न ढिलाइ गरेमा गम्भीर भूल हुने उसको भनाइ छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवनरक्षाका लागि कदम चाल्न भनेका छन् । 'डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारको बालहठ यहाँलाई महँगो पर्नेछ, प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिस्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भूल किमार्थ नगरियोस् ,' प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य शिक्षा र कोरोना संक्रमितको उपचारका मुद्दालाई समाधान गर्नुपर्ने मागसहित २४ दिनदेखि अनशनमा रहेका डा. केसीसँग छलफल गर्न वार्ता टोलीसम्म गठन नगरिनु गम्भीर भएको कांग्रेसको भनाइ छ । 'अनशनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ । खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ ?,' कांग्रेसले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेको छ ।

कांग्रेसका नेताहरू सरकार प्रमुख रहेका बेलामा डा. केसीका माग पूरा गरिएको दाबी गर्दै प्रवक्ता शर्माले लेखेका छन्, 'नेपाली कांग्रेसको पालामा डा. केसी अनशन बस्दा, वार्ता गरिए, कयौं माग पूरा गरिए । चाहे सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर होस् या शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवाद मार्फत उहाँका माग पूरा गरिए ।'

प्रधानमन्त्री ओलीमा संवाद मार्फत समस्याको समाधान खोज्ने लोकतान्त्रिक संस्कार नभएको कांग्रेसको आरोप छ ।

डा. केसीको स्वास्थ्य बिग्रँदै गएको अवस्थामा सरकारमाथि उनका माग पूरा गर्न दबाब बढिरहेको छ । सरकार र सत्तारुढ दल नेकपाले भने अनशन अन्त्य गर्नका लागि डा. केसीलाई आग्रह गर्दै आएका छन् ।

कांग्रेसको विज्ञप्तिः

प्रकाशित : आश्विन २१, २०७७ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?