कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मनास्लु आरोहणका लागि बहराइनका राजकुमार बेसक्याम्पतर्फ

हरिराम उप्रेती

गोरखा — मनास्लु हिमाल आरोहणका लागि आएका बहराइनमा राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोली बुधबार आधारशिविर (बेसक्याम्प) तर्फ लागेको छ । राजकुमारसहितको टोली मंगलबार हेलिकप्टरमार्फत चुमनुब्री गाउँपालिका–१ सामागाउँ पुगेको थियो ।

मनास्लु आरोहणका लागि बहराइनका राजकुमार बेसक्याम्पतर्फ

८,१६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणका लागि आएको राजकुमारसहितको टोलिलाई परम्परागत भेषभूषामा सजाएर स्थानीयले मंगलबार स्वागत गरेका थिए । ‘हिजो उहाँलाई स्वागत गर्‍यौँ, स्थानीय पोसाक(छुवा) लगाइदियौँ,’ चुमनुव्री गाउँपालिका–१ का वडा अध्यक्ष वीरबहादुर लामाले भने, ‘छुवा लगाइदिएपछि उहाँहरु निकै खुसी हुनुभयो ।’ स्थानीयले परम्परागत नृत्यसहित राजकुमारको टोलीलाई स्वागत गरेका थिए ।

तस्बिर : वीरबहादुर लामाको फेसबुकबाट

स्थानीयको स्वागत सत्कारपछि राजकुमारसहितको टोली सामागाउँको स्थानीय एक होटलमा बास बसेको थियो । स्थानीयको स्वागतपछि राजकुमार खालिफाले सामागाउँ आइपुग्दा खुसी लागेको प्रतिक्रिया दिएका छन् । ‘आगामी दिनमा नेपालमा पर्यटक भित्राउन सहयोग गर्छु,’ उनले भने, ‘सामागाउँको स्वागतले खुसी छु र सधैं सम्झिरहन्छु,’, राजकुमारको भनाइ उद्धृत गर्दै लामाले भने ।

तस्बिर : वीरबहादुर लामाको फेसबुकबाट

आरोहण दलका सदस्यसहितको टोली बुधबार बिहान बेसक्याम्पतर्फ लागेको लामाले बताए ।

आरोहण टोलीमा बहराइनको शाही परिवारका सदस्य, सुरक्षा टोली र नेपाल तथा नेदरल्यान्ड्सका आरोहण गाइड रहेका छन् । उक्त टोलीलाई हिमाल आरोहणका लागि सेभेन समिट ट्रेक्स प्रालिले व्यवस्था मिलाएको छ । अक्टोबर १५ देखि २० तारिखभित्र उक्त टोलिको हिमाल आरोहण गर्ने कार्यक्रम छ । आरोहण टोली केही दिन मनास्लु बेस क्याम्पमै रहने सेभेन समिट प्रालिका निर्देशक पासाङ फुर्वा शेर्पाले बताए । ‘दुई चार दिन उहाँहरु बेसक्याम्पमै रहनुहुन्छ,’ उनले भने,‘आरोहण सक्न अझै दुई साता लाग्ला ।’

आरोहण दलका लागि मनास्लु बेसक्याम्पमा राखिएका टेन्ट तस्बिर : सेभेन समिट ट्रेक्स

राजकुमारको टोलीलाई हिमाल आरोहणमा सघाउनका लागि डेढ साताअघि ७५ जनाको टोली मनास्लु आधार शिविर पुगिसकेको छ ।

यसअघि राजकुमारको टोलीले असोज १७ गते सोलुखुम्बुस्थित लोबुचे हिमाल आरोहण गरेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २१, २०७७ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?