कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्याय खोज्दै दुई सातादेखि सदरमुकाममा

तृप्ति शाही

बैतडी — श्रीमान् र सासूको यातनाले घरमा बस्न नस्कने भएपछि दशरथचन्दकी २९ वर्षीया महिला ५ वर्षको छोरा लिएर न्याय खोज्दै सदरमुकाममा आइपुगेकी छन् । घरेलु हिंसाबाट ज्यान जोगाउनै मुस्किल भएपछि असोज ७ देखि सदरमुकामस्थित सुरक्षित महिला आवास गृह (सेफ हाउस) मा आश्रय लिएकी हुन् ।

न्याय दिलाइदिन माग गर्दै यो अवधिमा उनी सदरमुकाममा अधिकारकर्मी र संस्थाको दैलो धाएर थकित भइन् । जिल्ला प्रहरी कार्यालयले दुई सातापछि मात्रै उनको घरेलु हिंसाविरुद्धको अपराधसम्बन्धी उजुरी दर्ता गरेको छ । पीडित महिलाका अनुसार दशरथचन्दकै युवकसँग ६ वर्षअघि उनको मागी बिहे भएको थियो । जिल्लाको राजनीतिमा प्रभाव राख्ने परिवारको केटा पाएपछि सहजै बिहे गर्न तयार भएकी थिइन् । तर बिहेपछिका दिनहरू सुखद भएनन् ।

‘बिहे गरेको दुई वर्षबाट हिंसा हुन सुरु भयो, श्रीमान् र सासूले सुरुमा गालीगलौज गर्न थाले । दाइजो नल्याएको निहुँमा पछि कुटपिट गर्न थाले,’ उनले रुँदै दुःखेसो पोखिन्, ‘काम पनि केही गर्दैनस्, तेरो बाउले दाइजो पनि केही दिएन । हाम्रो सम्पत्तिमा रजाइँ गर्छेस् भनेर सासूले टोकसो गर्ने र त्यही बहानामा श्रीमान्ले कुट्ने क्रम निरन्तर चल्यो ।’

‘सासूले छोरीहरूलाई १० तोला सुन दाइजो दिएको धाक लगाउँदै तेरो माइतीहरूले के दिए ? मेरो छोरासँग बोल्ने तेरो हैसियत के छ ? भन्दै छोरालाई कुट्न उक्साउँथिन्,’ उनले भनिन्, ‘श्रीमान्ले दिनदिनै रक्सी खाएर घरमा मर्ने गरी कुट्थे । कहिले सासू जगल्ट्याउँथिन् ।’ साथमा बच्चा भएको र जिल्लामा मानसम्मान भएको नेताको परिवारको इज्जत जान्छ भनेर चार वर्षसम्म सहेर बसेको उनले बताइन् । ‘अब त यसलाई मार्नुपर्छ भन्दै धेरै यातना दिन थालेपछि घर छोडेर भागेकी हुँ,’ उनले भनिन् ।

जिल्लाका प्रतिष्ठित नेता गनिने ससुराले पनि आफूलाई साथ नदिएको र उल्टै बलात्कारको प्रयास गरेको उनको भनाइ छ । उजुरी दिन खोज्दा सकभर मिलापत्र गर्नुपर्छ भनेर प्रहरीले दबाब दिइरहेको उनले बताइन् । लामो समय हिंसा सहेकी उनी अब

घर फर्केर जाने मनस्थितिमा छैनन् । बरु पीडितलाई कानुनी कारबाही गराएर आफू सम्बन्ध विच्छेद गरी छोरालाई पालेर बस्ने उनले बताइन् । प्रहरीलाई जाहेरी दिएपछि एक दुई पटक पीडकहरूलाई बोलाएर छलफल गरेको र मिल्नैपर्छ भन्ने दबाब दिएको उनको भनाइ छ ।

पीडक पक्ष पनि अंश नदिने सर्तमा सम्बन्धविच्छेद गर्न तयार रहेको उनले बताइन् । तर अंश मुद्दा दिए राजनीतिक शक्ति प्रयोग गर्ने धम्की दिने गरेको उनले बताइन् । ‘छोड्ने भए त्यत्तिकै छोड । अंश मुद्दा हालिस् भने तैंले केही पाउँदिनस् भन्छन्,’ उनले भनिन्, ‘यहाँ पावर भएपछि जे पनि हुने रहेछ ।’

उमेरले ६८ लागेका उनका बुबाले छोरीको जिन्दगी बर्बाद गर्नेहरूलाई कारबाही हुनुपर्ने बताए । जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले ती महिलाको उजुरीका आधारमा मंगलबार घरेलु हिंसामा मुद्दा दर्ता भएको बताए । पीडकलाई झिकाएर छलफल गराउने काम भइरहेको उनको भनाइ छ । घरेलु हिंसामा पीडितले गर्छु भने मिलापत्र हुने र नभए प्रहरीले फाइल अदालत पठाउने बताए ।

प्रकाशित : आश्विन २१, २०७७ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?