कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोना संक्रमणका कारण मिर्गौलासम्बन्धी समस्या भएकाहरु बढी हताहत

कोरोनाको अंक कथा
स्वरूप आचार्य

काठमाडौँ — कोभिड–१९ का कारण आइतबारसम्म देशभरमा कुल ५३५ जनाको निधन भएको छ । सोमबार मात्रै १९ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोनाका कारण विश्वभरमा १० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वमा जस्तै नेपालमा पनि कोरोनाका कारण मृत्यु भएकाहरु विभिन्न उमेर समूह, वर्ग, लिंग, दिर्घरोगी लगायतमा पर्छन् ।

कोरोना संक्रमणका कारण मिर्गौलासम्बन्धी समस्या भएकाहरु बढी हताहत

यसरी हालसम्म विश्वभर फैलिएको महामारीका कारण नेपालमा मृत्यु भएकाहरुको उपलब्ध तथ्यांक विश्लेषण गर्दा ५३५ मध्ये ५३.६ प्रतिशतमा कम्तीमा एउटा, २३.७ प्रतिशतमा कम्तीमा दुईवटा र ८.६ प्रतिशतमा दुईभन्दा बढी कोमर्बिडिटी (मृतकमा देखिएको एक वा एकभन्दा बढी स्वास्थ्य समस्या) रहेको देखिएको छ ।

मृतकहरुमध्ये प्रमुख रुपमा २२.६१ प्रतिशतमा उच्च रक्तचाप, २०.४३ प्रतिशतमा मधुमेह, १६.०९ प्रतिशतमा मिर्गौलासम्बन्धी रोग, ७.६१ प्रतिशतमा मुटुसम्बन्धी रोग तथा ३.७० प्रतिशतमा क्रोनिक अब्स्ट्रक्टिभ प्लमनरी डिजिज (सीओपीडी) तथा २९.५७ प्रतिशतमा अन्य स्वास्थ्य समस्या रहेको देखिएको छ । अन्य स्वास्थ्य समस्यामा प्रमुख गरेर आस्थमा (दम), थाइरोइड तथा कलेजोसम्बन्धी समस्या रहेको देखिएको छ । कोरोना भाइरसको संक्रमणका साथै विभिन्न ५ प्रकारका प्रमुख कोमर्बिड अवस्था रहेकाहरुको मृत्यु हुने औसत आयु पनि भिन्न–भिन्न नै रहेको देखिन्छ ।

मृत्यु भएकाहरुमध्ये उच्च रक्तचापको समस्या समेत रहेको करिब २३ प्रतिशत मृतकको मिडियन (मध्यक) उमेर ६६.५ वर्ष रहेको देखिन्छ छ भने मधुमेहको समस्या समेत देखिएका करिब २० प्रतिशत मृतकको मिडियन उमेर ६४.५ वर्ष रहेको देखिएको छ । यस्तै, मिर्गौलासम्बन्धी समस्या तथा डायलसिस गराइरहेका करिब १६ प्रतिशत मृतकको मिडियन उमेर केवल ६२ वर्ष रहेको देखिएको छ भने मुटुसम्बन्धी रोग भएका करिब ८ प्रतिशत मृतकको मिडियन आयु ६८ वर्ष रहेको छ । सीओपीडीको समस्या रहेका ४ प्रतिशत मृतकको मिडियन उमेर भने सबैभन्दा बढी ७४ वर्ष रहेको देखिएको छ । अन्य विविध स्वास्थ्य समस्यासमेत देखिएका ३० प्रतिशतको मिडियन उमेर भने ६२.५ वर्ष देखिएको छ । अन्य समस्या भएकाहरुमा पनि आस्थमा भएका मृतकहरुको मिडियन उमेर ७१.५ वर्ष रहेको छ भने थाइरोइड हुने मृतकको मिडियन उमेर ५८.५ रहेको छ । यस्तै कलेजोको समस्या समेत देखिएका संक्रमित मृतकको मिडियन उमेर ६७ वर्ष रहेको देखिन्छ ।

यसरी हेर्दा हालसम्म मृत्यु भएकामध्ये उच्च रक्तचाप, मधुमेह तथा मिर्गौला रोगले पीडित भएकाहरुको मृत्यु दर बढी छ र मिडियन उमेर पनि कम छ भने श्वासप्रश्वास सम्बन्धी नै समस्या भएकाहरुमा मृत्यु दर कम हुनुका साथै उमेर पनि बढी रहेको देखिन्छ ।

विज्ञहरुका बुझाइमा उच्च रक्तचाप तथा मधुमेह आफैंमा मृत्युको कारण नभए पनि यसले विभिन्न प्रकारका जटिल स्वास्थ्य समस्याहरु निम्त्याउने गर्छ । त्यसैले पनि उच्च रक्तचाप तथा मधुमेह कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुमा प्रमुख समस्याका रुपमा देखापर्नु कुनै नौलो विषय होइन । विश्वप्रसिद्ध तथ्यांक विश्लेषण गर्ने वेबसाइट स्टाटिस्टिडटकमका अनुसार इटालीमा पनि कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुमध्ये ६६ प्रतिशतमा उच्च रक्तचाप प्रमुख कोमर्बिडिटीका रुपमा रहेको थियो भने दोस्रोमा झण्डै ३० प्रतिशतमा मधुमेहको समस्या थियो ।

तर, मिर्गौलासम्बन्धी समस्या तथा डायलसिस गराइरहेका मृतकहरुको मिडियन उमेर मात्र ६२ वर्षमात्रै हुनु एउटा चिन्ताको विषय हो । उपलब्ध तथ्यांकअनुसार मृत्यु भएका संक्रमितहरुमध्ये करिब १ प्रतिशतभन्दा बढीलाई एक्यूट किड्नी इन्जुरी (एकेडी) भएको पनि देखिएको छ ।

महामारीको समयमा अस्पतालमा लामो समयसम्म बसेर डायलसिस, उपचार, नियमित परीक्षण समेत गराइरहनुपर्ने हुनाले कोरोना भाइरसको संक्रमण हुने सम्भावना अन्य रागका बिरामीभन्दा बढी हुनसक्छ । डायलसिस गराइरहेका बिरामीको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर भएकाले यो समूहलाई संक्रमण हुनबाट जोगाउन स्वास्थ्य संस्था, बिरामीको आफन्त तथा बिरामी स्वयंले पनि बढी सजगता अपनाउनुपर्ने देखिन्छ ।



ज्यान गुमाउने मिर्गौला रोगीहरुमध्ये महिलाहरुको मिडियन उमेर ६३.५ वर्ष रहेको छ भने पुरुषको ६१.५ वर्ष रहेको छ । यस्तै उच्च रक्तचापको समस्या रहेकाहरुमध्ये महिलाको मिडियन उमेर ६७ वर्ष रहेको छ भने पुरुषको ६६ वर्ष रहेको छ । यसका साथै मुटुरोगी समेत रहेका महिलाको मिडियन उमेर ७३.५ वर्ष रहेको छ भने पुरुषको मात्र ६८ वर्ष रहेको छ ।

विभिन्न कोमर्बिडिटी भएकामध्ये २१ जना महिला तथा ५३ जना पुरुषलाई मिर्गौलासम्बन्धी समस्या थियो भने उच्च रक्तचाप भएकामध्ये महिला मृतकको संख्या २९ तथा पुरुष मृतकको संख्या ७५ रहेको देखिन्छ । यस्तै मधुमेह भएका ७१ पुरुषको मृत्यु हुँदा महिला मृतकको संख्या भने मात्र २३ रहेको देखिन्छ ।

केही दिनयता नेपालको केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा कोभिड–१९ महामारीले निकै गम्भीर छलाङ मारेको छ । विगत सात दिनको मात्रै तथ्यांक हेर्ने हो भने २ हजार ६ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा सोमबारसम्म मृत्यु भएका कुल १६६ मध्ये करिब १९ प्रतिशत मृतक यही साता थपिएका हुन् । यसले काठमाडौंको स्वास्थ्य सेवा प्रणालीमा देखिने गरी नै दबाब र तनाव दिएको छ ।

उपत्यकामा कोभिड–१९ को उपचारका लागि तोकिएका सरकारी एवं निजी अस्पतालका बेडहरु सम्पूर्ण रुपमा भरिएका छन् । बिरामीका आफन्तहरु आफ्ना प्रियजनका लागि आईसीयू बेड वा भेन्टिलेटरको खोजीमा भौंतारिन बाध्य हुन थालेका छन् । यस्तो अवस्थामा आईसीइमा उपचार गर्नुपर्ने बिरामीको चापलाई व्यवस्थापन गर्नका लागि अस्पतालहरुका बीचमा आईसीयूबाट बिरामी डिस्चार्ज तथा रिफर गर्दा समन्वय हुनु अत्यावश्यक भएको छ । त्यसो गर्न नसकिएको खण्डमा कोरोना संक्रमणका कारण मृत्युवरण गर्नेको संख्यामा पनि तुलनात्मक वृद्धि हुँदै जाने देखिन्छ ।

(यो लेख जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालाइटिक्सका विज्ञ डा. विशाल भण्डारी, ठेगानाडट सर्भिसेसका संस्थापक तथा प्रविधिविज्ञ विशाल केसी, मोलिक्यूलर तथा कोष विज्ञ रोशनलाल श्रेष्ठ, विज्ञान विषयका अध्ययता दोर्जे गुरुङ, तथ्यांक विज्ञानमा रुची राख्ने सुइक्षा गौतमको प्रत्यक्ष सहयोगमा तयार पारिएको हो ।)

प्रकाशित : आश्विन २०, २०७७ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?