कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गैंडा मरेको मर्‍यै

अब्दुल्लाह मियाँ

काठमाडौँ — कोभिड संक्रमणका कारण चैत पहिलो साता तय भएको गणना रोकिएपछि ६ वर्षदेखि गैंडाको संख्या अद्यावधिक हुन सकेको छैन । त्यसैले २०७१ मा गरिएको गणनामा प्राप्त ६ सय ४५ लाई नै आधिकारिक संख्या मान्ने गरिन्छ । पर्सा (३), चितवन (६०५), बर्दिया (२९) र शुक्लाफाँटा निकुञ्‍ज (८) मा गैंडा छन् । यी पर्यटकका मुख्य आकर्षण हुन् ।

गैंडा मरेको मर्‍यै

तर, पछिल्ला केही वर्षयता प्राकृतिक कारणले उमेर नपुग्दै गैंडा मर्नेक्रम बढेका कारण संख्या तलमाथि परेको हुन सक्ने जानकारहरु विश्लेषण गर्छन् ।

चालु आवको साउनयता मात्रै चितवन निकुञ्‍जमा ७ वटा गैंडा मरिसकेका छन् । तीमध्ये एउटा चोरी सिकारीबाट मरेको निकुञ्‍जले बताएको छ । गत वर्षहरुमा प्राकृतिक कारणले मर्ने गैंडाको संख्या बढी भए पनि १६ भदौमा चोरी सिकारीबाट १२४९ दिनको अन्तरालपछि गैंडा मरेको थियो ।

उक्त गैंडा भदौ २१ गते निकुञ्‍जको रातोपानी घोलमा मरेको अवस्थामा भेटिएको थियो, त्यसको खाग र खुर भने त्यहीँ थियो । पोस्टमार्टम गरेर हेर्दा उक्त गैंडा गोली लागेर मरेको पुष्टि भएको थियो ।

त्यसअघि २०७३ को चैत २५ मा तस्करहरुले निकुञ्‍जअन्तर्गत बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा बयस्क गैंडा मारेका थिए ।

चितवन निकुञ्‍जका सूचना अधिकारीसमेत रहेका सहायक संरक्षण अधिकृत अशोककुमार रामका अनुसार चालु आवको साउनमा १, भदौमा २ र असोजमा ४ वटा गैंडा मरेका हुन् ।

गैंडाको दोस्रो बासस्थल बर्दिया निकुञ्‍जमा भने चालु आवमा गैंडा मरेका छैनन्, बरू केही दिन अघि पासोमा परेर एउटा बाघ मरेको भेटिएको थियो । बर्दिया निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) विष्णुप्रसाद श्रेष्ठका अनुसार आव २०७६, ७७ मा भने बर्दिया निकुञ्‍जमा दुई वटा गैंडा मरेका थिए । एउटा जुधेर मरेको थियो भने अर्को बाघले खाएको थियो ।

बर्दिया निकुञ्‍जलाई गैंडाको दोस्रो ठूलो बासस्थल बनाउन चितवन निकुञ्‍जबाट दुई पटक बबई उपत्यकामा गैंडा स्थानान्तरण गरिएको छ । चितवनबाट शुक्लाफाँटा निकुञ्‍जमा पनि गैंडा स्थानान्तरण गरिएको छ ।

कुनै पनि वासस्थानमा वन्यजन्तुको न्युनतम संख्या स्थापित गर्न स्थानान्तरण अपरिहार्य हुन्छ । 'गैंडालगायतका वन्यजन्तुमा कम्तीमा संख्या एक सय हाराहारी पुग्यो भने अर्को सय वर्ष त्यो प्रजाति लोप हुँदैन', गैंडामा विद्यावारिधी गरेका नरेश सुवेदी भन्छन्, 'कुनै प्राकृतिक वासस्थानमा गैंडाको संख्या ५० हाराहारी छ भने वंश विस्तार तिब्र हुन्छ ।'

चितवन निकुञ्‍जका सूचना अधिकारी रामका अनुसार साउन १७, भदौ ६ र २१, असोज १६ र १७ मा गैंडा मरेको हो । असोज १६ मा निकुञ्‍ज भित्र पर्ने नवलपुर क्षेत्रको लामिचौरमा मृत गैंडा भेटिएको थियो । निकुञ्‍जले त्यसलाई प्राकृतिक कारण भनेको छ ।

असोज १७ मा विनायक त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदीस्थित त्रिवेणी ब्यारेज नजिक एक पोथी गैंडा डुबेर मरेको थियो । सोमबार थप दुई वटा गैंडा मृत भेटिएका छन् । आव २०७६, ७७ मा २६, आव २०७५, ७६ मा ४३ वटा गैंडा मरेका थिए ।

समस्या के हो ?

विश्वमै चितवन एकसिंगे गैंडाको दोस्रो ठूलो बासस्थान भएको निकुञ्‍ज हो । पहिलो भारतको काजीरंगा नेसनल पार्क हो ।

चितवनमा गैंडा पर्यटकको मुख्य आकर्षण हो । जंगल सफारीमा सहजै गैंडा देख्न सकिने भएकाले चितवन वन्यजन्तु पर्यटकीय गन्तव्य स्थापित भएको छ । विगतका वर्षहरुमा डेढ लाखसम्मले निकुञ्‍ज भ्रमण गर्ने गरेको देखिन्छ भने ३० करोड रूपैयाँ भन्दा बढी आम्दानी हुने गरेको छ ।

९५२.६३ वर्ग किलोमिटरमा फैलिएको चितवन निकुञ्‍जमा गैंडाले मन पराउने घाँसे चौरको मात्रा कम छ । 'गैंडाले कमलोखालको घाँसे मैदानबाट आहार पूर्ती गर्ने हो', वन्यजन्तुविद् बाबुराम लामिछानेले कान्तिपुरसित भने, 'चितवनमा घाँस भन्दा झाडी धेरै भयो, त्यही भएर गैंडाले पर्याप्त मात्रामा आहार पाउन सकेका छैनन् ।'

निकुञ्‍जभित्र १० हजार हेक्टर घाँसे मैदान छ भनिए पनि त्यसको सही ढंगले व्यवस्थापन नहुँदो पोसिलो घाँस अन्य प्रजातिको झाडी र ढड्डीले ढाकेको अवस्था छ । 'त्यसैले मनसुन सकिएलगत्तै त्यस्तो झाडी काटेर नयाँ घाँस पलाउने वातावरण मिलाउनुपर्छ', लामिछानेले भने, 'गत वर्ष अघि ढिलो गरी घाँसै मैदानको व्यवस्थापन हुँदा गैंडाले रुचाउने कमलो किसिमको घाँस पर्याप्त मात्रामा हुन सकेछ ।'

लामिछानेका अनुसार पछिल्ला केही वर्ष यता घोल, पानी, दलदल, सिमसार र खोलामा फसेर पनि गैंडा मर्ने गरेका छन् । 'शारीरीक हिसाबले कमजोर भएका गैंडा आहार र सितलको खोजीगर्दागर्दै घोलमा फसेर मर्ने गरेका छन्', उनले भने ।

एकसिंगे गैंडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवाली र नरेश सुवेदी तथा वन्यजन्तुविद् लामिछानेको अध्ययनअनुसार चितवन निकुञ्‍जमा बर्सेनि दुई प्रतिशतका दरले गैंडाको आहार, घाँसे मैदान, पानीका घोल र तालतलैया विनाश भइरहेका छन् ।

‘माइकेनिया म्याकारान्था’ नामक मिचाहा वनस्पति फैलादा गैंडाले मन पराउने घाँसे प्रजाति र पानीका घोल छोपिएका छन् । त्यसको प्रत्यक्ष असर गैंडाको विचरणमा परेको उनीहरूको विश्लेषण छ । चितवन निकुञ्‍जमा सन् १९७० को दशकमा कुल क्षेत्रफलको २० प्रतिशत रहेको घाँसे मैदान सन् २०१५ मा ९.६१ प्रतिशत र मध्यवर्ती क्षेत्रमा २.०६ प्रतिशतमा खुम्चिएको छ ।

विज्ञहरुका अनुसार एउटै क्षेत्रमा गैंडाको संख्या वृद्धि, बासस्थान क्षय र आहार अभावले गैंडाबीच बाँच्नका लागि आन्तरिक प्रतिस्पर्धा बढेको छ । गैंडा र बाघ संरक्षणमा सरकारलाई सहयोग गरिरहेको जेडएसएल नेपालका वन्यजन्तुविद् भगवानराज दाहालले एकै स्थानमा गैंडा थुप्रिंदा जुधेरसमेत मर्ने गरेको विश्लेषण गरे ।

राष्ट्रिय निकुञ्‍ज विभागका सूचना अधिकारी उप सचिव हरीभद्र आचार्यका अनुसार ‘चितवनमा गैंडा मर्नुको कारण र बासस्थान तथा आहारको अवस्था’बारे भर्खरै विशेषज्ञहरुबाट अध्ययन पूरा भएको छ ।

'ग्रिन गभर्नेन्स नेपाल' को नेतृत्वमा विभागका पूर्व महानिर्देशक श्याम बजिमय, कमल गैरे, किरण तिमल्सिनालगायतले त्यसबारे विस्तृत अध्ययन गरेका थिए । विभिन्न कारणले निकुञ्‍जभित्रको कोर क्षेत्रमा घाँसे मैदान र पानीका घोलहरु पुरिन थालेपछि विभागले आहार वृद्धि गराउने र पानीका घोल व्यवस्थापन गर्न लगानी बढाउँदै आएको छ । गैंडाका लागि घाँसे मैदानसँगै पानीको घोल अपरिहार्य हुन्छ ।

प्रकाशित : आश्विन २०, २०७७ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?