भिसा नीतिमा कुनै परिवर्तन भएको छैन : अमेरिकी दूतावास - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भिसा नीतिमा कुनै परिवर्तन भएको छैन : अमेरिकी दूतावास 

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाले आफ्नो भिसा नीतिमा कुनै पनि परिवर्तन नल्याएको जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाले आफ्नो भिसा नीतिमा कम्युनिष्ट पार्टीका सदस्यहरुमाथि कडा प्रावधानहरु ल्याएको भन्ने समाचारको खण्डन गरेको छ ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी भिसाको सम्बन्धमा केही समाचारहरुको प्रकाशनले उत्पन्न गरेको भ्रामक सूचनालाई लिएर हाम्रो ध्यानाकर्षण भएको छ ।’

दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट पार्न चाहन्छौ कि हामीले हाम्रो नीतिमा कुनै परिवर्तन गरेका छैनौं । साथै, अमेरिकामा भ्रमण गर्ने वा प्रवासी कम्युष्टि पार्टीका सदस्यहरु वा निरंकुश शासन प्रणालीका सदस्यहरुको बारेमा हाम्रो दशकौं पुरानो कानुनमा कुनै परिवर्तन आएको छैन ।’

विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरुलाई अमेरिकामा बस्न प्रतिबन्ध नलगाइएको स्पष्ट पारिएको छ । ‘हरेक भिसाको विषय व्यक्तिगत आधारमा निरुपण गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यहरुलाई भिसा नदिने लगायतका समाचार आएपछि नेकपाका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले सामाजिक संजालमा यसले ‘स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ । यही हो नमूना पुँजीवादी लोकतन्त्र ?’ भन्दै प्रश्न गरेका थिए ।

प्रकाशित : आश्विन २०, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश ५ को नाम अब लुम्बिनी, राजधानी देउखुरी

प्रदेश सभाबाट दुई तिहाइ बहुमतले पारित
ह्विप विपरित देउखुरीको पक्षमा मतदान गर्ने सांसदलाई कारबाही गरिनेछ : कांग्रेस संसदीय दलका नेता कनौडिया
अमृता अनमोल

बुटवल — प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र तोकिएको छ । प्रदेशसभा मंगलबारको बैठकबाट नाम लुम्बिनी र स्थायी राजधानी दाडको देउखुरी राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो ।

मंगलबार निर्वाचन प्रक्रियामा भाग लिँदै प्रदेश सभा सदस्यहरु । तस्बिर : अमृता अनमोल/कान्तिपुर

प्रदेशको नाम र राजधानी सम्बन्धमा सरकारले ल्याएको प्रस्तावमा मंगलबार प्रदेश सभा सदस्यहरुबीच मतदान भएको थियो । लुम्बिनी नामकरण सम्बन्धमा ८३ जनाले मतदानमा भाग लिए । त्यसमध्ये ७९ जनाले पक्षमा र ४ जनाले विपक्षमा मतदान गरे । नामकरण सम्बन्धमा कांग्रेस र नेकपाले पक्षमा मतदान गरेका हुन् । जनता समाजवादी पार्टीका ४ जनाले विपक्षमा मतदान गरे ।

राजधानी दाङ तोक्नेबारेको मतदानमा ८२ जना सहभागी भए । पक्षमा ६९ जना र विपक्षमा १३ जनाले मतदान गरे ।

प्रदेश सभाका ८७ सदस्यमध्ये मंगलबार ८६ जना उपस्थित थिए । सभामुखले मतदान गर्न नपाइने नियम छ । कांग्रेस सदस्य सुरेन्द्र हमाल अनुपस्थित थिए । जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डे र सदस्य कल्पना पाण्डेले पनि मतदान बहिस्कार गरे । प्रदेश राजधानी दाङ लैजानेबारे राष्ट्रिय जनमोर्चाका तारा जीसीले पनि मतदान बहिष्कार गरिन् ।

राजधानी तोक्ने सम्बन्धमा १९ सदस्य रहेको कांग्रेस तितरबितर भयो । लुम्बिनी क्षेत्रका १३ सदस्यले राजधानी दाङ लैजाने विपक्षमा मतदान गरे । दाङ, बाँके र बर्दियाका सदस्य डिल्लीबहादुर चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, भुवनेश्वर चौधरी र मोहमद याकुम अन्सारी गरी ५ जनाले पार्टी ह्वीपविपरीत पक्षमा मतदान गरे । जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव, सदस्य पुर्मती ढेंगामगर, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीले राजधानी दाङ लैजाने पक्षमा मतदान गरे ।

प्रदेशको नाम र स्थायी राजधानी बहुमतबाट पारित भएपछि पत्रकारहरुसँग बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै नागरिकको हित र बृहत्तर विकासका लागि राजधानी देउखुरी क्षेत्रमा लगेको प्रतिक्रिया दिए । उनले एक वर्षभित्रमा प्रदेश राजधानी कस्तो बनाउने भन्नेबारेमा डीपीआर बनाउने र भौतिक संरचना बनाउन थाल्ने तत्पश्चात मात्रै प्रशासनिक कार्यालय सार्ने जानकारी दिए ।

यसअघि प्रमुख प्रतिपक्ष दल कांग्रेस विरोधमा उत्रिए पनि मंगलबार लोकतान्त्रिक मूल्य मान्यताअनुसार चुनावी प्रक्रियामा भाग लिएको जनाएको छ । कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले पार्टीको ह्वीपविपरीत जाने ५ जना सदस्यलाई अनुशासनको कारबाही गर्ने बताए । कांग्रेसका तर्फबाट लेखा समिति सभापति बनेका डिल्ली चौधरीलाई हटाउने उनले बताए ।

प्रदेश सभाको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको सभामुख पूर्णबहादुर घर्तीले बताए ।

प्रकाशित : आश्विन २०, २०७७ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×