अनशनरत डा. केसीको समर्थनमा नक्सालमा प्रदर्शन
काठमाडौँ — मेडिकल शिक्षा सुधारको माग राख्दै २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबार नक्सालमा प्रदर्शन भएको छ । डा. केसीले भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए ।
आवासीय चिकित्सक संघ, गोविन्द केसी अलायन्स र नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीको अगुवाईमा भएको प्रदर्शनमा चिकित्सक र सर्वसाधरणको सहभागिता रहेको थियो ।
सहभागीले 'डा केसी व्यक्ति हैन आवाज हुन्', 'डा केसी हामी तिम्रो साथ छौं', 'सेभ डा गोविन्द केसी' लगायत नारा, सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
त्रिवि शिक्षण अस्पतालमा अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ । सरकारले वार्ता टोली बनाइ तत्काल माग सम्बोधन गर्नुपर्ने र डा केसीको जीवन रक्षाको माग उठिरहेका छन् । तर सरकारले त्यसलाई गम्भीर रुपमा नलिएको डा केसीका समर्थकहरुको आरोप छ ।
मंगलबार भने शिक्षा सचिवसहित ३ जनाको टोलीले डा केसीलाई भेटेर अनशन रोक्न आग्रह गरेको छ ।