प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्ताव : ३ वटा संशोधन प्रस्ताव दर्ता- समाचार - कान्तिपुर समाचार

प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्ताव : ३ वटा संशोधन प्रस्ताव दर्ता

अमृता अनमोल

बुटवल — प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्तावमा २ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । यस्तै नाम लुम्बिनी फेर्ने सम्बन्धमा एउटा संशोधन प्रस्ताव पेस भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले बताए ।

नेपाली कांग्रेसकी सांसद पुष्पा थरुनीले अस्थायी मुकाम रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने संशोधन प्रस्ताव दर्ता गरेकी छन् । उनी नेपाली कांग्रेसको रुपन्देहीबाट समानुपातिक सदस्य हुन् ।

यस्तै कांग्रेसकै सांसद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न वैकल्पिक प्रस्ताव दर्ता गराएकी छन् । उनले पूर्वमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउपालिका, दक्षिणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको बीच भागमा राजधानी तोक्नुपर्ने प्रस्ताव गरेकी छन् । उनी पनि रुपन्देहीबाट समानुपातिक सदस्य हुन् ।

यसअघि सोमबार नामकरणसम्बन्धी संशोधन प्रस्ताव दर्ता भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए । जसमा जनता समाजवादी पाटीैका संसदीय दलका नेता सहसराम यादव र पुर्मती ढेंगा मगरले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएको प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले बताए ।

प्रदेशसभा सचिवालयका अनुसार बिहान साढे आठ बजेसम्म जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै संशोधन दर्ता भएको छ ।

प्रदेशसभामा संशोधन दर्ता गर्ने समय बिहान साढे १० बजे सकिएको छ ।

मंगलबार दिउँसो १२ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबार प्रदेशसभामा मतदान हुँदैछ ।

८७ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा नेकपाका मात्र ६१ सदस्य छन् । तीमध्ये सभामुखबाहेक ६० सदस्यले मतदान गर्नेछन् । नेकपाको संसदीय दलको सोमबारको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ । सरकारको प्रस्ताव पारित हुन ५८ मत आवश्यक पर्नेछ । त्यस्तै प्रदेशसभामा कांग्रेसका १९, जनता समाजवादी पार्टी नेपालका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २०, २०७७ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

कान्तिपुर संवाददाता

धादिङ — गल्छी–८ गोगनपानीस्थित ग्रामिण सडकमा मंगलबार बिहान ८ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा ६४ प ६९६४ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खस्दा मोटरसाइकलमा सवार पछाडि बस्ने स्थानीय ६५ वर्षीय हरि बुढाथोकीको घटनास्थलमै मृत्यु भएको गल्छी प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मृतकका छोरा राजन बुढाथोकी घाइते भएको प्रहरीले बताएको छ ।

प्रकाशित : आश्विन २०, २०७७ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×