१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

२१ वर्षीया युवतीमाथि यौन हिंसा र यातना : ‘दोषीलाई कानुनी दायरामा ल्याऊ’

वसन्तप्रताप सिंह

बझाङ — ससुरा, काका–ससुरालगायत आफन्तहरूबाटै निरन्तर बलात्कार र चरम यातनाको सिकार भएकी बझाङ सुनकुडाकी २१ वर्षीया युवतीमाथि भएको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले चासो व्यक्त गरेको छ ।

२१ वर्षीया युवतीमाथि यौन हिंसा र यातना : ‘दोषीलाई कानुनी दायरामा ल्याऊ’

आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले घटनाको छिटो अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको हो ।

हालसम्म अनुसन्धानमा भएको प्रगति र पीडितको स्वास्थ्य उपचारबारे जानकारी गराउन पनि आयोगले आग्रह गरेको छ । आयोगका सुदूरपश्चिम प्रमुख झंकरबहादुर रावलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटना दोहोरिन नदिन संलग्नलाई शीघ्र कानुनी दायरामा ल्याई अनुसन्धान गर्न आयोग आग्रह गर्दछ ।’

विज्ञप्तिमा पीडित महिलाको शारीरिक, मानसिक स्वास्थ्य अवस्थाको परीक्षण गरी निःशुल्क उपचार गर्न पनि सरकार र सम्बन्धित निकायलाई आग्रह गरिएको छ । पीडित युवतीको बझाङ अस्पतालमा उपचार भइरहेको छ । बुंगल–२ को दलित परिवारकी युवतीको तीन वर्षअघि बित्थडचिर–९ का दलित युवकसँग बिहे भएको थियो । सानैमा आमाले छाडेपछि काकाले नै संरक्षण गरी ०७४ असारमा उनको बिहे गराइदिएका थिए ।

बच्चा नभएकाले उपचार गर्न भन्दै श्रीमान्सहित सासूससुरा र नन्दले उनलाई भारत लिएर हिँडेका थिए । त्यसपछि उनीमाथि श्रीमान्, ससुरा, नन्दका श्रीमान् र काका ससुराले समेत बलात्कारका साथै बर्बर यातना दिन थाले । उनीहरूले वेश्यावृत्तिमा समेत लगाउने गरेको युवतीले बताएकी छन् । यसैबीच, पीडितका बारेमा कान्तिपुरमा समाचार प्रकाशित भएपछि सहयोग गर्न व्यक्ति र संघसंस्था इच्छुक देखिएका छन् ।

अमेरिकामा बस्दै आएका रक्तदान अभियन्ता अर्जुनप्रसाद मैनालीले नगद १५ हजार सहयोग दिएका छन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले राहत दिने तयारी भइरहेको सहसचिव रोशनी श्रेष्ठले बताइन । दोषीलाई कानुनी दायरामा ल्याउन मन्त्रालयका तर्फबाट गृह मन्त्रालयको ध्यानाकर्षणसमेत गराइएको उनले बताइन् ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २०, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?