५ महिनामा प्रदेश १ मा बलात्कारका २ सय ३७ घटना- समाचार - कान्तिपुर समाचार

५ महिनामा प्रदेश १ मा बलात्कारका २ सय ३७ घटना

जितेन्द्र साह

विराटनगर — लकडाउन पछिका पाँच महिनाको अवधिमा प्रदेश १ मा दैनिक एक देखि दुई जनासम्म बलात्कृत भएको प्रहरी तथ्यांकले देखाएको छ । 

प्रदेश १ प्रहरी कार्यालयका अनुसार गत चैतयता लकडाउन पछिका पाँच महिना (साउनसम्म) अवधिमा २ सय ३७ जना बलात्कृत भएका छन् । बलात्कृत हुनेमा २० वर्षमुनिका महिला सबैभन्दा बढिरहेको उक्त कार्यालयका प्रवक्ता नायब उपरीक्षक (डीएसपी) कविन्द्रकुमार कार्कीले बताए ।

पीडितमध्ये ५ देखि २० वर्ष उमेर समूहका १ सय ७५ जना र २० वर्षदेखि ४० वर्ष माथिका ६२ जना रहेको उक्त कार्यालयले जनाएको छ । दुवै उमेर समूहका बलात्कार पीडित हुने साझा कारणमा ललाइफकाइ र प्रलोभन नै भएको उनले बताए ।

तर कम उमेरकालाई बिहे गर्छु भन्दै फकाएर बलात्कार गरिएका घटना बढी भएको डीएसपी कार्कीले बताए । प्रहरीका अनुसार ५ देखि २० वर्ष उमेर समूहका चैतमा २५, वैशाखमा २७, जेठमा ४८, असारमा ३६ र साउनमा ३९ चेलीबेटीसँग यो अपराध भएको छ । यसैगरी २० वर्षदेखि ४० वर्ष माथिका चैतमा १०, वैशाखमा ७, जेठमा १०, असारमा १४ र साउनमा २१ जनाको बलात्कार भएको प्रहरीले जनाएको छ ।

लकडाउन अगाडिका पाँच महिनामा २ सय ६ जना बलात्कृत भएको उक्त कार्यालयले जनाएको छ । यो तथ्यांकले पनि दैनिक १ जना पीडित हुने गरेको देखाउँछ । यस अवधिमा पीडित हुनेमा ५ वर्षदेखि २० वर्ष उमेर समूहका १ सय ४२ जना र २० वर्षदेखि ४० वर्षमाथिका ६४ जना रहेको प्रहरीले जनाएको छ ।

लकडाउन अघि ५ देखि २० वर्ष उमेर समूहका कात्तिकमा २४, मंसिरमा २७, पुसमा ३३, माघ र फागुनमा २९/२९ तथा २० वर्षदेखि ४० वर्षमाथिका ती महिनाहरुमा क्रमश : १७, ९, १० र १४/१६ जना पीडित भएको प्रहरीले जनाएको छ । कानुनको कमजोर कार्यान्वयनसँगै अभिभावक, परिवारजन र समाजमा जागरुकता एवं जिम्मेवारीबोधमा कमीले पनि अपराध नियन्त्रण हुन नसकेको विज्ञहरु बताउँछन् ।

प्रकाशित : आश्विन १९, २०७७ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेशसभामा तोडफोडबारे कांग्रेस प्रवक्ता भन्छन्- 'सांसदलाई संसदीय संस्कृति उलंघनको स्वायत्तता छैन'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश ५ को प्रस्तावित राजधानीको विषयलाई लिएर प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूको तोडफोडबारे कांग्रेस प्रवक्ताले धारणा सार्वजनिक गरेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका सांसदहरूलाई संसदीय पद्दति र संस्कृति उलंघन गर्ने छुट नभएको बताएका छन् । 

प्रदेश ५ को सोमबार बसेको प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरूले कुर्सी, टेबुल र माइक तोडफोड गरेका थिए । उक्त घटनालाई लिएर सामाजिक संजाल र राजनीतिक वृत्तमा कांग्रेसको आलोचना भएपछि पार्टी प्रवक्ताले धारणा सार्वजनिक गरेका हुन् ।

प्रदेश ५ को सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेको छ । उक्त प्रस्तावमा छलफलमा भाग नलिई कांग्रेसका सांसदहरू तोडफोडमा उत्रिएका थिए । उक्त घटनाबारे कांग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ । रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नै नास्छौँ भन्ने कम्युनिस्ट पार्टीहरूलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन l'

त्यसरी तोडफोडमा उत्रिने सांसदहरूलाई के कारबाही गर्ने भन्ने केही उल्लेख नगरेका प्रवक्ता शर्माले अगाडि लेखेका छन्, 'संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाईको पद्धति हो l परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो । अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको `छिटपुट´ भनेर छोप्दैन, कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं ।'

प्रदेशको स्थायी राजधानी रुपन्देही बनाउने कि दाङ भन्नेमा कांग्रेसभित्र विवाद छ । कांग्रेसका १० नेताहरूले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने बताएका छन् । संघीय संसद प्रतिनिधिसभामा प्रमुख सचेतक रहेका नेता बालकृष्ण खाँण र अर्का नेता चन्द्र भण्डारी भने रुपन्देहीको पक्षमा छन् ।

त्यस्तै, नेकपमा पनि उक्त विषयलाई लिएर विवाद छ । प्रदेशसभाको बैठकमा नेकपाका केही सांसदहरूले प्रदेश राजधानीको प्रस्ताव फिर्ता लिन माग गरेका छन् । केन्द्रमा भने महासचिव विष्णु पौडेल प्रदेश ५ को राजधानी रुपन्देही हुनुपर्ने पक्षमा छन् ।

सम्बन्धित समाचारः

प्रकाशित : आश्विन १९, २०७७ २१:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×