सोमबार दुई वटा गैंडा मृत फेला, चार दिनमा चार गैंडा मरे

रमेशकुमार पौडेल

चितवन — सोमबार एकै दिन चितवनमा दुईवटा गैंडा मृत फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार सोमबार दिउँसो सौराहामा र बिहान नारायणी नदीमा बगेर भारत पुगेको गैंडा मृत भेटिएको हो ।

सोमबार दुई वटा गैंडा मृत फेला, चार दिनमा चार गैंडा मरे

यी दुईसहित चालू आर्थिक वर्षमा चितवन निकुञ्जका सातवटा गैंडा मरेका छन् ।

नारायणी नदीले बगाउँदै गण्डक ब्यारेजबाट तल लगेको गैंडा मृत भेटिएको जानकारी भारत बाल्मिकी टाइगर रिजर्बका डिएफओ गौरव ओझालले आफूहरुलाई गराएको रामले बताए । मृत गैंडाको पोष्टमार्टम भारतीय वन अधिकारीहरुले नै गरेका छन् । खाग खुर जस्ता गैंडाको अंग भारतीय नीति अनुसार जलाएर नष्ट गरेको जानकारी आएको रामले बताए ।

त्यसैगरी दिउँसो तीन बजेतिर सौराहा बनकट्टा बनगछियामा एउटा १०/१२ वर्षको भाले गैंडा मृत फेला परेको छ । सूचना अधिकारी रामका अनुसार सो गैंडा जुधेर घाइते भएको अनुमान छ । नारायणी नदीमा बगेको एउटा गैंडा शनिबार त्रिवेणीमा मृत फेला परेका थियो ।

चितवन निकुञ्जमा शुक्रबार मात्रै पनि नवलपुर लामिचौरमा रहेको निकुञ्जको पोष्टदेखि तीन किलो मिटर दक्षिणमा निकुञ्जभित्र मृत गैंडा फेला परेको थियो ।

निकुञ्जभित्र गएको भदौ २१ गते पनि एउटा गैंडा मृत भेटिएको थियो । भदौ १६ गते गोली पड्केको आवाज सुनेपछि खोजीमा गएको निकुञ्ज प्रशासन र सेनाको टोलीले पाँच दिनपछि बाँदरझुला टापुको घोलामा मृत गैंडा फेला पारेको थियो । त्यसको पनि खाग खुर सुरक्षित थियो । तर टाउकोमा गोलीको घाउ भए पनि गोली भने फेला परेको छैन ।

निकुञ्जका अधिकारीहरुले भदौ २१ मा मृत फेला परेको गैंडालाई चोरी सिकारीले मारेको निष्कर्ष निकालेका छन् । अन्य गैंडा काल गति वा दुर्घटनावश मरेको निकुञ्जको भनाइ छ । चितवन निकुञ्जमा यो आर्थिक वर्ष सुरु भएपछि साउन १७ र भदौ ६ मा पनि मृत गैंडा फेला परेको रामले जानकारी दिए । चितवन निकुञ्ज नेपालमा एकसिंगे गैंडाको मुख्य वासस्थल हो ।

विस २०७२ साल वैशाखमा सार्वजनिक भएको गैंडा गणनाको नतिजा अनुसार देशभर ६४५ गैंडा थिए । त्यसमध्ये चितवन निकुञ्ज र यस आसपासको जंगलमा ६०५ वटा गैंडा फेला परेका थिए । त्यो गणनापछि वर्षेनी धेरै संख्यामा गैंडा मरिरहेका छन् । ०६७ सालयता चोरी सिकार कम हुँदै गएर शून्यको अवस्थमा पनि पुग्यो ।

तर प्राकृतिक र दुर्घटनाबाट हुने मृत्युको संख्या बढ्दो छ । आर्थिक वर्ष ०७४/७५ मा २६ वटा गैंडा मरे । त्यसैगरी ०७५/७६ मा निकुञ्ज इतिहासमै सर्वाधिक ४३ वटा गैंडा मरे । निकुञ्ज कार्यालयका अनुसार गएको आर्थिक वर्ष ०७६/७७ मा फेरि संख्या घटेर २६ मै सिमित भयो ।

प्रकाशित : आश्विन १९, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?