१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डा. केसीका माग पूरा गर्न भन्दै शिक्षण अस्पतालमा कांग्रेस नेताहरूको धर्ना

कोभिड र इमर्जेन्सीका बिरामीको बाहेकको उपचार छोडेर शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र्‍यालीमा
कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य शिक्षा र कोरोना नियन्त्रणबारे सरकारसमक्ष विभिन्न माग राखेर त्रिवि शिक्षण अस्पताल महाराजनञ्जमा अनशनरत चिकित्सक डा. गोविन्द केसीको पक्षमा प्रमुख प्रतिपक्षी कांग्रेसले धर्ना दिएको छ । डा. केसीले अगाडि सारेका माग पूरा गर्नुपर्ने माग राख्दै कांग्रेसका नेताहरूले शिक्षण अस्पताल परिसरमा धर्ना दिएका हुन् । 

डा. केसीका माग पूरा गर्न भन्दै शिक्षण अस्पतालमा कांग्रेस नेताहरूको धर्ना

स्वास्थ्य शिक्षा र कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा. केसीले उठाएका माग पूरा गर्न सरकारलाई दबाब पुगोस् भनेर धर्ना दिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

२२ दिनदेखि अनशनमा रहेका डा. केसीलाई भेटेपछि कांग्रेसका नेताहरूले धर्ना दिएका हुन् । धर्नामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग उपप्रमुख शुरेस आचार्य, कलाकार नीर शाह लगायतको सहभागिता रहेको थियो।

डा. केसीका माग पूरा गराउन कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई सार्वजनिक अपील गरेका थिए ।

त्यस्तै, डा. केसीका माग पूरा गर्न र जीवनरक्षा गर्नका लागि भन्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक लगायतले कोभिडका बिरामीको उपचार र इमर्जेन्सीबाहेकका बिरामीको उपचार बाहेकका सेवा बन्द गरेर र्‍याली गरेका छन् ।

डा. केसीको अनशनप्रति समर्थन गर्दै सरकारलाई माग पूरा गर्नका लागि दबाब दिन त्रिवि शिक्षण अस्पताल र माइतीघर मण्डलामा दिनदिनै प्रदर्शन भइरहेको छ ।

सरकारले भने अहिले अनशनमा बस्ने समय नभएको प्रतिक्रिया दिएको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै कोरोना महामारीका बेला डा. केसीका लागि अनशन बस्ने उपयुक्त समय नभएको बताएका थिए ।

प्रकाशित : आश्विन १९, २०७७ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?