छोरी जन्माएकैले निरन्तर यातना

न्याय माग्दै दिनभर रञ्जनदेवीले जिल्ला प्रहरी कार्यालयमा आँसु बगाइरहिन्, तर निवेदन दर्ता नै नगरी प्रहरीले घर फर्काइदियो । भनिन्, ‘पति र सासू त निर्दयी भए, प्रहरीले पनि पीडा बुझिदिएन ।’
अवधेशकुमार झा

राजविराज — ‘बरु मलाई यतै मारिदिनू तर घर जान नभन्नू । अब घर फर्किएर गएँ भने मेरा पतिले जिउँदो राख्दैनन् । त्यहाँ मर्नुभन्दा यतै मरे बेस ।’ श्रीमान् र सासूविरुद्ध उजुरी दिन आएकी सप्तकोसी नगरपालिका–४ बलारदहकी २८ वर्षीया रञ्जनदेवी झाले आइतबार दिउँसो प्रहरीको महिला तथा बालिबालिका सेवा केन्द्रका अधिकारीसमक्ष अनुनय गरिरहेकी थिइन् ।

छोरी जन्माएकैले निरन्तर यातना

तीन छोरी जन्माएकै कारण श्रीमान् नारायण र सासू बिदोतमादेवीबाट पटक–पटक मरणासन्न हुने गरी कुटिएको भन्दै उनी न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । दिउँसै प्रहरीकोमा आएकी उनले विलाप गरिरहिन्, आँखाबाट आँसु बगाइरहिन् तर सुन्ने कोही भएन । साँझ जिल्ला प्रहरीले सप्तकोसी नगरपालिकास्थित फत्तेपुर प्रहरी चौकीमा जानू भनेर फर्काइदियो ।

तिरहुत गाउँपालिका मयनाकरेडी माइती भएकी रञ्जनको ८ वर्षअघि नारायणसँग भारदहस्थित कंकालिनी मन्दिरमा दुवै परिवारको सहमतिमा बिहे भएको थियो । रञ्जनको पहिलो गर्भ खेर गएको थियो । गर्भमा छोरी रहेको थाहा भएपछि श्रीमान्ले धकेल्दा लडेर गर्भ तुहिएको उनले बताइन् । त्यसपछि उनले ३ छोरीलाई जन्म दिइन् । अहिले उनीहरू ६, साढे ४ र २ वर्षका छन् । ‘मेरो गर्भबाट छोरी नै जन्मिए, यसमा मेरो के दोष ?,’ आइतबार साँझ जिल्ला प्रहरी परिसरमै कान्तिपुरसँग रञ्जनदेवीले भनिन्, ‘तेस्रो छोरी जन्मिँदा बन्चरोले हानेर पति र सासूले मार्ने प्रयास गरे ।’

श्रीमान्को घर आफ्नै घर भन्दै अन्याय सहँदै आए पनि अब सहन सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘यसले तीनवटा छोरी जन्माई । यी छोरीहरूको लालनपालन र बिहेमा हामी बर्बाद हुन्छौं भन्दै दिनहुँ घरमा ममाथि कुटपिट भइरह्यो,’ आफ्ना पीडा सुनाउँदै गर्दा उनका आँखाबाट आँसु थामिएनन् । उनका अनुसार एकपटक फत्तेपुरस्थित प्रहरी चौकीमा उजुरी गर्दा छलफल गराई मेलमिलाप गराइएको थियो । पछिल्लो पटक गत असोज १४ को बिहान १० बजेतिर घरभित्र कान्छी छोरीलाई दूध खुवाइरहेका बेला सासू र श्रीमान्ले खाटबाट झारेर अन्धाधुन्ध कुटपिट गरे । हारगुहार गरेपछि छिमेकीले जोगाए । त्यसै राति खाना पकाउने क्रममा श्रीमान्ले डाडु र फलामको रडले मरणासन्न हुने गरी कुटे ।

दिनहुँ मरणासन्न हुने गरी आफूमाथि हिंसा हुन थालेको र स्थानीय प्रहरी चौकीमा छलफलबाटै मिलापत्र हुने गरेपछि उनी न्याय माग्दै आइतबार जिल्ला प्रहरीमा आइपुगेकी थिइन् । उनले जिल्ला प्रहरीमा निवेदन दिँदै आफूलाई पटक–पटक कुटपिट गरी ज्यानै मार्न खोजिएको भन्दै श्रीमान् र सासूलाई पक्राउ गरी कारबाहीको माग गरिन् ।

निवेदनमा आफ्नो शरीरमा रहेको घाउ जाँचका लागि समेत उनले आग्रह गरेकी छन् । प्रहरीले भने नजिकको फत्तेपुर चौकीमा जान भनेपछि फेरि उस्तै यातना सहनुपर्ने डरले उनी जिल्ला प्रहरी परिसरमै भक्कानिइन् । उनले उच्च तहका प्रहरी अधिकारीसँग भेट्न पाइनन् । कार्यालयका अन्य कर्मचारीले प्रहरी सञ्चारबाट फत्तेपुर चौकीमा भनिदिने र भोलि–पर्सि उनका पतिलाई पक्राउ गरी कुरा बुझिदिने भन्दै घर फर्काइदिए । ‘पति र सासू त निर्दयी भए, प्रहरीले पनि पीडा बुझिदिएनन्,’ उनले दुखेसो पोखिन् ।

उनी जिल्ला प्रहरीमा आउन लाग्दा श्रीमान् नारायणले जेठी छोरीलाई सँगै आउन दिएका थिएनन् । ‘मलाई अब जेठी छोरीको चिन्ता छ, त्यसलाई केही नहोस्,’ प्रहरी कार्यालयबाट फर्काइएपछि माइतीतर्फ गएकी उनले भनिन्, ‘यी दुई छोरी मसँग छन् । ममाथिको रिस अबोध छोरीमाथि पोख्लान् भन्ने डर लागेको छ ।’

न्याय खोज्दै जिल्ला प्रहरीमा आउने पीडितलाई स्थानीय प्रहरी चौकीमा पठाउने र मिलापत्र गराएर पीडितलाई थप पीडा दिने गरिएको महिला अधिकारकर्मी अनिता देवकोटाले बताइन् । ‘पीडकलाई प्रहरी कार्यालयमा ल्याएर पञ्चायती गर्ने, पीडितलाई स्थानीय प्रहरी चौकीमा फर्काइदिने गरिएको छ,’ उनले भनिन्, ‘तर त्यहाँ पीडितले न्याय नपाउने गरेकाले बलात्कार र हिंसाका घटना बढेका छन् ।’

रञ्जनलाई तत्काल सरंक्षण केन्द्रमा राखेर उपचारको व्यवस्था गरिनुपर्ने र पीडकलाई कारबाही गर्नुपर्ने बताउँछन् अधिवक्ता सुजितकुमार पोखरेल । ‘उनलाई माइतीमा वा घर पठाउनु भन्दा सुरक्षाको व्यवस्थापन गरी सेफ हाउसमा राखेर उपचारको प्रबन्ध गर्नुपर्ने थियो,’ उनले भने, ‘यस्ता हिंसा गर्नेलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्थ्यो ।’

एसपी राजेन्द्रप्रसाद धमलाले घटना आफूसम्म नआइपुगेको र थप कुरा बुझ्ने बताए । ‘घटना मसम्म आइपुगेको छैन । के भएको रहेछ थप बुझ्छु,’ उनले भने ।

प्रकाशित : आश्विन १९, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?