१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश ५ को स्थायी राजधानी प्रस्ताव विवाद : केन्द्रको निर्देशन कुर्दै विपक्षी दल

काठमाडौंमा परामर्श सकेर मुख्यमन्त्री बुटवल फिर्ता
सर्वदलीय बैठकमा सहमति जुटेन, सोमबार फेरि बैठक बस्ने

रुपन्देही — प्रदेश ५ सरकारले ल्याएको नाम र स्थायी राजधानीको प्रस्तावमा विपक्षी दलहरूले पनि केन्द्रसँग परामर्श गरेपछि मात्र निर्णय गर्ने भएका छन् । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरीमा राख्ने गरी सरकारले शुक्रबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएपछि प्रदेशस्तरबाटै सहमति जुटाउने प्रयास गरिएको थियो । एकमत नभएपछि कांग्रेस र जनता समाजवादी पार्टीले केन्द्रकै निर्देशन खोजेका हुन् ।

प्रदेश ५ को स्थायी राजधानी प्रस्ताव विवाद : केन्द्रको निर्देशन कुर्दै विपक्षी दल

नेकपा संसदीय दलको आह्वानमा आइतबार दिउँसो प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच लामो बहस र आरोप–प्रत्यारोप चलेको थियो । बैठकमा राष्ट्रिय जनमोर्चा भने सहभागी भएन । आरोप–प्रत्यारोपबीच समझदारी कायम गर्ने प्रयासस्वरूप नाम र राजधानीको विषयमा केन्द्रीय नेतृत्वसँग परामर्श गर्ने निष्कर्ष निकालिएको हो । त्यही निष्कर्षसहित दलहरूले केन्द्रीय नेतृत्वसँग निर्णयसहितको परामर्श मागेका छन् ।

नेपाली कांग्रेसकी प्रदेश ५ की सचेतक निर्मला क्षत्रीले लामो बहस र रसाकस्सीपछि केन्द्रसँग परामर्श गर्ने गरी बैठक सकिएको बताइन् । ‘सरकारका तर्फबाट प्रस्तावमा समर्थन गर्नुपर्‍यो भन्ने आग्रह गरिएको थियो,’ उनले भनिन्, ‘हामीले निर्णय फिर्ता गर्नुस्, राजनीतिक सहमति गरौं र अघि बढौं भन्यौं ।’ उनले यस विषयमा आइतबारै केन्द्रलाई जानकारी दिएको बताइन् । ‘उताबाट निर्देशन आएपछि भोलि (सोमबार) बिहान ८ बजे पुनः सर्वदलीय बैठक बस्छौं,’ उनले भनिन् ।

क्षत्रीका अनुसार बैठकमा सरकारले छापामार शैलीमा प्रस्ताव दर्ता गराएको र निषेधाज्ञा लगाएर सर्वसत्तावाद लाद्न खोजेको विपक्षी दलहरूले टिप्पणी गरेका थिए । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री एवं संसदीय दलका उपनेता कुलप्रसाद केसीले आन्दोलनकारी उग्र बनेको, सरकारी र निजी गाडी एवं व्यक्तिमाथि आक्रमण गरेर क्षति पुर्‍याएको जिकिर गरेका थिए ।

बैठकमा जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डेले सरकारको कार्यशैली र प्रस्ताव दुवैको विरोध गरेका थिए । उनले प्रस्ताव प्रदेशसभा बैठकमा प्रस्तुत गरेर सर्वदलीय बैठक डाक्नुको औचित्य नभएको बताएका थिए । ‘हामीले पहिले प्रस्ताव फिर्ता गर्नुस् अनि छलफल गरौंला भनेका छौं,’ उनले भने, ‘फिर्ता भएपछि आवश्यक परे केन्द्रलाई सोधौंला, नभए हामी आफैं टुंगो लगाउँछौं भन्यौं ।’ उनका अनुसार मन्त्री केसीले केन्द्रसँग परामर्शका लागि आग्रह गरेका थिए । त्यसमा कांग्रेसले सहमति जनाएको छ । ‘हामीले अहिले केन्द्रमा सोध्न जरुरी नरहेको जवाफ दियौं । तर पनि सडक र सदनमा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रसँग सल्लाह र छलफल भइरहेको छ,’ उनले भने, ‘आन्दोलनको विकल्प भने देखेका छैनौं ।’

शुक्रबारदेखि नै कांग्रेसको नेतृत्वमा सुरु भएको आन्दोलन जारी छ । नेकपाका अध्यक्षद्वयको सहमति जुटाएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल विपक्षी दलको पनि सहमति जुटाउन शनिबार नै काठमाडौं पुगेका थिए । उनले काठमाडौंमा केन्द्रीय अध्यक्षद्वयमार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने प्रयास गरेका थिए ।

स्रोतका अनुसार त्यो प्रयास सफल नभएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले देउवासँग फोनमै कुराकानी गरेका थिए । तर देउवाले आइतबार साँझसम्म जिल्ला नेतृत्वलाई कुनै जानकारी दिएका छैनन् । भैरहवा हुँदै बुटवलको निवास छिर्नै लाग्दा उनको गाडीमाथि आन्दोलनकारीले ढुंगामुढा गरेका छन् । प्रहरीको स्कर्टिङ गाडीमा पनि क्षति पुगेको छ । मुख्यमन्त्री सवार गाडीको अगाडिको र छेउको सिसामा ढुंगा लागेको प्रहरीले जनाएको छ । ढुंगा प्रहार गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

नेकपा रूपन्देहीले पनि सोमबार विज्ञप्ति जारी गरेर सरकारको प्रस्तावमा विरोध जनाएको छ । विज्ञप्तिमा प्रदेश सरकारको निर्णय संविधानविपरीत र औचित्यहीन भन्दै जनप्रतिनिधिलाई आफूले निर्वाचनमा गरेको वाचा नबिर्सन आग्रह गरिएको छ । जिल्ला अध्यक्ष शिव सुवेदी र सचिव नारायणबहादुर जीसीले विज्ञप्तिमा राजनीतिक दल, कार्यकर्ता, संघसंस्था तथा नागरिकलाई आन्दोलनमा लाग्नसमेत आग्रह गरेका छन् । नेकपाको तिलोत्तमा नगर कमिटी, नेपाली कांग्रेसका गुल्मी, पाल्पा, पश्चिम नवलपरासीले पनि विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता लिन माग गरेका छन् । प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सदस्य छन् ।

निषेधाज्ञा तोडेर सडकमा

राजधानी रूपन्देही कायम गर्न माग गर्दै बुटवलमा रहेका उद्योग तथा व्यापारसम्बद्ध संघसंस्थाले आइतबार बिहान प्रदर्शन गरेका छन् । जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरे पनि व्यावसायिक र पेसागत संघसंस्थाका प्रतिनिधि सडकमा उत्रेका हुन् । त्यसैगरी कांग्रेसले आह्वान गरेको बन्दका क्रममा प्रदर्शनकारीले ब्रोडब्यान्ड नेपाल प्रालिको लु२च १०७४ नम्बरको गाडी देवीनगरस्थित होराइजन चोकमा तोडफोड गरेका छन् ।

प्रकाशित : आश्विन १९, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?