१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डा. केसीलाई सास फेर्न गाह्रो

आईसीयूमा भर्ना हुन सल्लाह दिँदा उहाँ मान्नुभएन । होस रहुन्जेल जतिसुकै राम्रो नियत भए पनि हामीले बलजफ्ती गर्न मिल्दैन । – डा. सुवासप्रसाद आचार्य
अतुल मिश्र

काठमाडौँ — चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बनेको छ । चिकित्सकहरूले आईसीयूमा भर्ना हुन आग्रह गरे पनि उनले अस्वीकार गरेका छन् ।

डा. केसीलाई सास फेर्न गाह्रो

उनलाई आइतबार दिउँसो ११ बजे सास फेर्न असजिलो भएपछि फेस मास्कको माध्यमबाट प्रतिमिनेट ४ देखि ६ लिटरसम्म अक्सिजन दिइएको छ । सास फेर्न गाह्रो भएको बेला एसपी ओटू (अक्सिजनको स्तर) घटेर ९०–९१ प्रतिशत भएपछि अक्सिजन दिन थालिएको हो ।

सास फेर्न असजिलो हुने, अक्सिजन आवश्यक पर्ने र बेलाबेला मुटुको चालमा गडबडी हुने अवस्थालाई हेरेर आईसीयूमा भर्ना हुन सल्लाह दिँदा भने डा. केसीले अस्वीकार गरेको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डा. सुवासप्रसाद आचार्यले भने । ‘कुनै पनि व्यक्तिको होस रहुन्जेल जतिसुकै राम्रो नियत भए पनि चिकित्सकले बलजफ्ती गर्न मिल्दैन । होस नभएको स्थितिमा मात्र आफ्नो निर्णय लिन सकिन्छ,’ उनले भने ।

१९ औं सत्याग्रहमा रहेका डा. केसीको बीचबीचमा मुटुको तीव्र धड्कन हुने समस्या देखिएको छ । छाती, मांसपेशी दुख्ने र बाउँडिने, चक्कर लाग्ने जस्ता स्वास्थ्य समस्या पनि बढेका छन् । पछिल्लो रगत परीक्षणअनुसार ब्लड सुगर धेरै कम छ । सिरम इलेक्ट्रोलाइट्स (सोडियम पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फस्फोरस) कमी देखिएको छ । शरीरमा पोटासियम र म्याग्नेसियमको स्तर कम हुँदा मुटुको चालमा, सोडियम र क्याल्सियम कम भए मस्तिष्कमा असर परी होस कम, छारे हुन सक्ने डा. आचार्यले बताए । ‘मुटुको चालमा गडबडी भएर कार्डियाक अरेस्ट (एक्कासि मुटुले काम गर्न छोड्नु) सम्म हुने सम्भावना हुन्छ,’ उनले भने, ‘उहाँको स्वास्थ्य स्थितिप्रति सबैको थप चासो आवश्यक छ ।’

डा. केसीले ‘इलेक्ट्रोलाइट्स रिप्लेसमेन्ट’ लगायतका अन्य तरल पदार्थ लिन अस्वीकार गरेका छन् । उनको रगतमा सेता रक्त कणिकाको संख्यासमेत कम भएकाले संक्रमणसम्बन्धी जोखिम उच्च छ । कोभिड–१९ को बढ्दो संक्रमण र अन्य संक्रमणको जोखिमका कारण हाल आगन्तुकलाई डा. केसीसँग भेटघाट गर्न रोक लगाइएको छ । सास फेर्दा उत्पन्न हुने आवाज डा. केसीको दाहिनेपट्टि तल्लो भागमा कमी पाइएको छ । ईसीजी र छातीको एक्सरे भने सामान्य छ । आपत्कालीन अवस्था नआओस् भनेर नसा खुल्ला राख्न नर्मल सलाइन चढाइराखिएको छ ।

डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा आइतबार धर्नामा बसेका चिकित्सक । तस्बिर : केशव थापा/कान्तिपुर

नेपाल चिकित्सक संघले सरकारलाई ७२ घण्टाभित्र वार्ता टोली गठन गरेर माग सम्बोधन गर्न चेतावनी दिएको छ । डा. केसीको स्वास्थ्यस्थिति गम्भीर मोडमा पुगेपछि चिकित्सक संघले विशेषज्ञ समाज, पूर्वअध्यक्ष/महासचिव, उपत्यकाका अस्पतालका निर्देशकहरू र परिषद् सदस्यहरूसँग बृहत् छलफल गरेपछि सरकारलाई अल्टिमेटम दिने निर्णय गरेको हो । संघले वार्ताका लागि सहजीकरण गर्नसमेत तयार रहेको जनाएको छ । संघका अध्यक्ष डा.लोचन कार्कीले यस विषयमा सरकार संवेदनशील हुनुपर्ने बताए ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकहरूले डा. केसीको जीवनरक्षाका लागि सरकारलाई दबाब दिन आइतबार दुई घण्टा धर्ना दिएका छन् । उनीहरूले इमर्जेन्सी र कोभिड–१९ बाहेकका कुनै पनि गतिविधिमा संलग्न नभएर अस्पताल प्रांगणमा धर्ना दिएका हुन् ।

२४ घण्टाभित्र वार्ता टोली गठन गरी डा. केसीको जीवनरक्षा गर्न सरकार अग्रसर नभए सबै आवासीय चिकित्सकले थप कडा कार्यक्रम ल्याउने चेतावनी दिए पनि कुनै प्रतिक्रिया नआएको उनीहरूले जनाएका छन् ।

नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन, त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा.सुभाष देवकोटाले सरकारबाट कुनै प्रतिक्रिया नआएकाले सोमबारबाट आन्दोलन चर्काउने तयारी भएको बताए । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब ८ सय रेजिडेन्ट चिकित्सक छन् ।

प्रकाशित : आश्विन १९, २०७७ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?