२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बलात्कार घटना मिलाउने पञ्‍चसहित ८ पक्राउ

भरत जर्घामगर

सिरहा — बलात्कार घटनालाई गाउँमै पञ्चायती गरी ढाकछोप गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । सिरहाको विष्णुपुर गाउँपालिका–१ की १६ वर्षीया किशोरीलाई असोज १२ गते साँझ बलात्कार गर्ने सोही ठाउँका २० वर्षीय मुकेशकुमार साहलाई गाउँमै मिलापत्र गरी जोगाएको आरोप उनीहरूलाई प्रहरीले पक्रेको हो ।

बलात्कार घटना मिलाउने पञ्‍चसहित ८ पक्राउ

मुकेश आफन्त शत्रुघन साहको घरमा बस्दै आएका थिए । बलात्कार घटना भएपछि त्यसलाई ढाकछोप गरी गाउँघरमै मिलाएर उन्मुक्ति दिन पञ्चायती बसेको थियो । पञ्चायतीले मुकेशका बुवा सिंहेश्वर र आफन्त शत्रुघनसँग ५ लाख रुपैयाँको कपाली तमसुक कागज गराएर मिलापत्र गराएको थियो । भेलाले उक्त तमसुक जगबीर यादवको जिम्मामा लगायो ।

गाउँमै बलात्कार घटना पञ्चायती भेलाले मिलाएको कुरा प्रहरीमा पुग्यो । प्रहरीले तत्काल शनिबार अपराध दबाउन पञ्चका नाममा मतियार बनेका विष्णुपुर गाउँपालिका–१ तमसुक राख्ने ६१ वर्षीय जगबीर यादव, राजकुमार यादव, रामउदगार, रौदी भनिने श्यामसुन्दर यादवलाई पक्राउ गरेको हो । प्रहरीले पीडितलाई पञ्चायतीमा मिलाउन दवाब दिने पीडक पक्षका ५२ वर्षीय सिंहेश्वर साह, अरबिन्द कुमार, शत्रुघन, राजकुमार साह र बलात्कारमा संलग्न मुख्य अभियुक्त मुकेशकुमार साहलाई पनि पक्राउ गर्‍यो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम पौडेलले बलात्कार घटना गाउँमै ढाकछोप गरी ५ लाख रुपैयाँमा मिलापत्र गराउन संलग्न पञ्च र मतियारलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार घटना मिलाउन धनिराम गुलाम यादव, ऋणि सिंहेश्वर साह र धनी लक्षुमण यादव ऋणी शत्रुघन साह भई ५/५ लाख रुपैयाँको तमसुक कागज गरेको पाइएपछि कागजसहित पक्राउ गरिएको हो । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : आश्विन १८, २०७७ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?