डा. केसीलाई छातीमा पीडासँगै सास फेर्न असहज भएपछि अक्सिजन दिन थालियो

अनशनको २१ औं दिन
कान्तिपुर संवाददाता

काठमाडौँ — २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । केसीको साथमा रहेका सहयोगीका अनुसार करिब एक घण्टाअघिदेखि उनलाई छातीमा निकै पीडा महसुस हुन थालेको छ ।

डा. केसीलाई छातीमा पीडासँगै सास फेर्न असहज भएपछि अक्सिजन दिन थालियो

हाल केसीका साथमा रहेकी सहयोगी डा. तोसिमा कार्कीका अनुसार छातीमा अत्यधिक पीडा महसुस गरेसँगै उनको शरीरमा अक्सिजनको मात्रा पनि घट्दै गएको छ। 'स्याचुरेसन (शरीरमा अक्सिजनको मात्रा) झर्न थालेपछि हामीले डा. सुवास आचार्यलाई बोलायौं । उहाँले हेरेर अहिले अक्सिजन दिन थालिएको छ,' उनले भनिन्, 'शरीरमा चाहिने इलेक्ट्रोलाइटको कमी हुँदा फोक्सोले शरीरलाई चाहिने मात्रामा अक्सिजन लिन नसकेकाले अहिले ६ लिटर अक्सिजन सपोर्ट दिइएको छ ।'

कार्कीका अनुसार डा‍. केसीले अक्सिजनबाहेक अन्य कुनै औषधि नलिने बताएका छन् । केसीको उपचारको नेतृत्व गरिरहेका शिक्षण अस्पतालको क्रिटिकल विभाग प्रमुख डा. सुवास आचार्यले उनलाई कुनै पनि बेला आईसीयूमा सारेर उपचार सुरु गर्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिएको पनि उनले बताइन् । उनका अनुसार केसीको रक्तचाप पनि घट्दै गएको छ ।

डा. सुवासका अनुसार डा. केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको छ ।

केसीको यो १९ औं अनशन हो । हालसम्म उनको माग सम्बोधन गर्न वा उनीसँग वार्ता गर्न सरकारी पक्षले चासो देखाएको छैन ।

कोरोना महामारी बढ्दै गएको अवस्थामा आजबाट उनलाई भर्ना गरिएको कोठामा बाहिरका मानिसलाई प्रवेश निषेध गरिएको छ ।

प्रकाशित : आश्विन १८, २०७७ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?