बालुवाटारमा कार्यरत दर्जनौं संक्रमित, प्रधानमन्त्रीलाई भने जोखिम नभएको दाबी

तीनै अंगका ६३ सुरक्षाकर्मीसहित केही उच्च पदस्थ व्यक्तिमा कोरोना
स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत तीनै अंगका ६३ सुरक्षाकर्मीसहित केही उच्च पदस्थ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बालुवाटारमा कार्यरत केही सुरक्षाकर्मीमा संक्रमण देखिएसँगै शुक्रबार बालुवाटारमा गरिएको स्वाब संकलनमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी लगायत केही दर्जनलाई कोरोना संक्रमण देखिएको हो ।

बालुवाटारमा कार्यरत दर्जनौं संक्रमित, प्रधानमन्त्रीलाई भने जोखिम नभएको दाबी

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् । 'मलाई केही लक्षण नै देखिएको छैन,' उनले भने, 'रिपोर्ट भने पोजिटिभ आएछ ।'

सल्लाहकार थापाका अनुसार स्वाब परीक्षणका क्रममा केही ड्राइभरहरु तथा थप सुरक्षाकर्मीहरुलाई पनि संक्रमण देखिएको छ । 'संख्या त यकिन छैन,' उनले भने, 'डेढ दर्जन जति छन् भन्ने जानकारी पाएको छु ।'

उनले बालुवाटारमा कार्यरत रहेका सुरक्षाकर्मीसहित केही उच्च पदस्थ व्यक्तिलाई संक्रमण देखिए पनि प्रधानमन्त्री ओलीलाई भने संक्रमणको कुनै जोखिम नरहेको दाबी गरे । 'प्रधानमन्त्रीज्यू सधै‌ं क्वारेन्टिनमै बसे जस्तो हो । उहाँसँग भेटघाट गर्ने जो कोहीले पनि अनिवार्य रुपमा सुरक्षाका मापदण्ड अपनाएका हुन्छौं,' उनले भने, 'प्रधानमन्त्रीज्यूसँग हामीले भेट्दा पनि आवश्यक सतर्कता र सुरक्षा मापदण्ड अपनाएर नै भेट्ने गरेका छौं ।'

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार बालुवाटारमा कार्यरत नेपाली सेनाका २८ जनालाई कोरोना संक्रमण देखिएको छ । 'अहिले संक्रमित भएका अधिकांश सेनाका कर्मचारी प्रधानमन्त्रीको क्लोज कन्ट्याक्टमा नआउने खाले हुन्,' उनले भने, 'एक/दुई जना स्कर्टिङमा खटिने पनि छन् भन्ने जानकारी छ ।' उनका अनुसार सेनाका करिब सय जना जति बालुवाटारमा प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका हुन्छन् ।

यस्तै नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरीका १७ जनामा संक्रमण पुष्टि भएको छ भने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार १८ जना सशस्त्र प्रहरीलाई संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका प्रमखु डा. वासुदेव पाण्डेका अनुसार प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको स्वाब संकलनमा ५० जनाभन्दा बढीलाई नै संक्रमण देखिएको छ । 'मैले त्यहाँबाट गरिएको नमुना संकलनमा करिब ५० जनाभन्दा बढीलाई नै संक्रमण देखिएको छ भन्ने जानकारी पाएको छु । संख्या अहिले नै यकिन भएको छैन,' उनले भने, 'फेरि सबै बालुवाटारमै काम गर्नेहरु पनि हुनुहुन्न । बाहिरको पनि हुनुहुन्छ भन्ने जानकारी छ ।'

बालुवाटारस्थित उच्च स्रोतका अनुसार तीनै अंगका सुरक्षाकर्मी र ड्राइभरहरु गरेर ५० भन्दा बढीलाई नै संक्रमण देखिएको छ । ती स्रोतका अनुसार पहिला केही ड्राइभरहरुमा देखिएको संक्रमण सुरक्षाकर्मी हुँदै उच्च पदस्थ अधिकारीहरुसम्म पुगेको हो ।

शुक्रबार स्वाब दिएको र शनिबार रिपोर्ट आएको रिमाल, भट्टराई र थापाले सामाजिक संजालमार्फत जानकारी दिएका थिए । उनीहरूले आफ्नो सम्पर्कमा आएकाहरूलाई स्वास्थ्य सचेतता अपनाउन आग्रह गरेका थिए ।

रिमालले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, 'हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो । यस बीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।'

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

प्रमुख स्वकीय सचिव भण्डारीले संक्रमित कसैलाई पनि कोरोना भाइरसको लक्षण नदेखिएको बताएका छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेको उनले जानकारी दिए ।

यसअघि प्रधानमन्त्रीको निजी सचिवालयमा रहेका केही व्यक्तिमा कोरना संक्रमण भएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको थियो भने प्रधानमन्त्रीको निजी सचिवालयमा फोटो पत्रकारका रूपमा कार्यरत राजन काफ्लेलाई पनि कोरोना संक्रमण भएको थियो ।

प्रकाशित : आश्विन १७, २०७७ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?