२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विवाद मिलाउन देउवाले थाले पहल

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसमा उत्पन्न आन्तरिक अविश्वास हटाउन सभापति शेरबहादुर देउवाले अग्रसरता लिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी कार्यालयमा दर्ता गरेको ज्ञापनपत्रमार्फत उठाएका मुद्दामा सहमति जुटाउन शनिबार दुवै पक्षका पदाधिकारी, पूर्व पदाधिकारीसहित केही केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक उनले राखेका छन् । छलफल नसकिएकाले बैठक आइतबार पनि बोलाइएको छ ।

विवाद मिलाउन देउवाले थाले पहल

बैठकमा सहभागीहरुले बोल्ने नसकिएको र सभापति देउवाले जवाफ दिने क्रम बाँकी नै रहेकाले बैठक लम्बिएको नेता एनपी साउदले बताए । महाधिवेशनका मुखमा पार्टीका केन्द्रीय विभाग गठन र तीनमा सदस्यको मनोनयन, क्रियाशील सदस्यता वितरणमा अनियमिता भएको मुद्दा उठाउँदै वरिष्ठ नेता पौडेल पक्षले सोमबार आफ्नो पक्षका २७ सदस्यको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र दर्ता गराएको थियो ।

महाधिवेशनका मुखमा पार्टीका केन्द्रीय विभाग गठन र तीनमा सदस्यको मनोनयन, क्रियाशील सदस्यता वितरणमा अनियमिताका मुद्दा उठाउँदै पौडेल पक्षले महाधिवेशनको निष्पक्षता माथि नै प्रश्‍न गरेको थियो । आपसी अविश्वासले पार्टीभित्र झगडा बढ्दै गएपछि सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक अघि समझदारी जुटाउन पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरु सम्मिलित अनौपचारिक बैठक बोलाएका हुन् ।

बैठकमा पौडेल पक्षले उठाएको क्रियाशील सदस्यताको वितरण, नविकरण, केन्द्रीय विभागहरुको गठन, भातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति लगायतका मुद्दाहरुमा छलफल भएको थियो । पौडेल पक्षले आगामी १९ गतेको केन्द्रीय कार्यसमितिको बैठक सम्म आफूहरुले उठाएका मुद्दाहरुको सम्बोधनका हुनुपर्ने अल्टिमेटम दिएको थियो । सम्बोधन नभएमा पार्टी नेतृत्वविरुद्ध चरणबद्ध विरोध गर्ने चेतावनी समेत पौडेल पक्षले दिँदै आएको छ ।

‘केही गुनासा र केही अविश्वासहरु छन् । तीनलाई समझारी गरेर जान सकिने अवस्था छ,’बैठक पछि नेता सावदले भने,‘भोलि बोल्ने क्रम सकिएपछि कसरी समझदारी जुटाउने भन्ने विषयमा छलफल हुने छ ।’ पौडेलपक्षीय नेता बलबहादुर केसीले भने प्रस्तावमा विषयमा आफूहरुले प्रट्याउनेने र संस्थापनपक्षले जवाफ दिने बाहेक अरु काम नभएको बताए । बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनको तालिका प्रभावित भइसकेको जनाउँदै सार्न प्रस्ताव गरेका थिए । उनले केन्द्रदेखि तल्लो तहका अधिवेशनहरु समेत केही समयका लागि सार्नुपर्ने सुझाव नेतृत्वलाई दिएका थिए । तर, पौडेल पक्षले भने फागुनमै महाधिवेशन गराउनु पर्ने अडान राख्दै आएको छ ।

प्रकाशित : आश्विन १७, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?